बेग हानी आको बतास ठूलो पर्खालमा ठोक्किए जस्तै बेग हानी आको ‘डिलक्स’ बुढीगंगाको  किनारमा रोकियो । म निद्राबाट ब्युँझिएँ  । “ल है ल । खाजा खानेहरू ओर्लिनुस । चिया बिस्कुट खाने ओर्लिनुस । सर्ट ट्वाईलेट , लङ्ग ट्वाईलेट गर्नेहरू पनि गरिहाल्नुस । अब गाडी बिच बाटोमा रोकिने छैन ।” खलासी यति भनेर बसको पाङ्ग्रा अड्याउन ढुंगा खोज्दै थियो । बुढीगंगा किनारको चिसो हावाले नुहाएँ ।

गुलाबी घाम डुब्नै लागेको थियो । क्षितिजले सूर्य आधा निलिसकेको थियो । मान्छेका छाया लामालामा थिए । ब्यस्त साँफे बजारमा चहलपहल निकै थियो । गाडीहरूले हारन बजाईरहेका थिए । बस छुट्ने समय थियो त्यो । सायद उनीहरू पनि हारन बजाएर यात्रु फकाउँदा हुन । जसरी उहिले मुरली बजाएर कृष्ण , गोपिनीलाई फकाउँथे रे ।

फेरि खलासी बोल्यो ,” यात्रुहरू मज्जाले आराम गर्नु होला । टायरमा केही खराबी आएको छ । टायर फेर्नु पर्ने भयो । केही समय लाग्नेछ ।”

सबै जना नजिकैको ठूलो होटेल तिर कुदे । मैले छेऊ तिरको सानो खाजाघर तिर खुट्टा लम्काएँ । त्यो खाजा घरमा त्यती भींड थिएन । एक जना म भईहालेँ ,  एक जना अर्को यात्रु कुना तिर बसेर हुक्का तानीरहेका थिए । ती यात्रुले मुखबाट धुवाँ यसरी फालीरहेका थिए कि मानौँ- ती मान्छे होईनन् । ईटाभट्टा हुन् ।

लामो  कपाल । बहुत कालो कपाल । थेप्चो नाक । गहुँ गोरो बर्णकी । गाजलु आँखा।  पिपल पाते ओठ । बाटुलो निधार । बारूली कम्मर । कानमा झुम्काना लाएकी । अग्ली । पिङ्क कलरको कुर्तामा सजिएकी एक जना केटीमा ध्यान पुग्छ मेरो । मन तानेर उसले लैजान्छे । मेरा आँखाहरु उसलाई तान्छन् । सायद साहुजीकी छोरी हुन क्यारे !

नभन्दै एकै छिनमा साहुनीले भनिन् ,” माघी । जा लाटी बाख्रालाई घाँस काटी लैया पन (पनि ) त ।”

आमाको बोली भुँईमा पोखिन नपाउँदै छोरी डालो , हँसिया र नाम्लो बोकेर बुढीगंगा पारी गै । ऊ बिस्तारै बिलाई । भुँईमा पोखिएको असिना बिलाए जस्तो । म एकोहोरो हेरीरहेँ । हेरीरहेँ  । रेल छुटेको यात्रु जस्तो । मैले पोखिएको उनको सुन्दरतालाई टिप्न सकिनँ । न उनलाई नै टिप्न सकेँ।

टाउकोमा रातो सल बेरेकी साहुनीलाई मैले चिया बनाउन भनेँ। चियाको अर्डर गरेर म साहुजी बसेको छेऊको रातो कुर्चीमा बसेँ।

के छ साहुजी ? आराम हुनुहुन्छ नि  ?
ठीक छु । तपाईलाई के कस्तो छ ?

आराम छु हजुर । उफफ्  कस्तो गर्मी है यो साँफेमा ।

यहाँ त यत्तिको हजुर । धनगढी,  महेन्द्रनगर झन् कसो होला ? लकडाउन हुन लाईगो । छोरालाई उतै बस भन्या । भन्याको मानेई न  । नाई,  बुवा म गर्मीमा बस्न सक्दैन भन्यो । अनि अब भोलि पोरू (पर्सी)  आउला ।

ए हो र ? हजुरको छोरा के पढ्नु हुन्छ?
ईन्जिनियर पढ्छ हजुर ।
ए ए । कति छोरा छोरी हजुरका ?
एकै छोरा हो हजुर ।
अनि भख्खरै घाँस काट्न गएकी छोरी कसकी हुन  ? हजुरकी होईनन् र ?

आफ्नी छोरी भनुँ कि नभनुँ कि ? अढली (गाह्रो) प्रश्न सोध्नुभो हजुर ।

किन र हजुर त्यस्तो चै ?

त्यसको लामो कथा छ ।

सुनाउनुस न साहुजी । म सुन्छु नि । मेरो गाडी बिग्रेको छ
केही समय अझैँ लाग्छ । यहीँ बस्नुपर्ने भो ।

सुन्नु हुने हो त ?

सुन्छु नि ।

मेलै आँखा साहुजीको मुख तिर सोझ्याएँ अनि कान भुईँभरि ओछ्याएँ  ।

टेबुलमा राखिएको हरियो जगको पानी साहुजीले घुटुघुटु एकै सासमा पिए । केही पानीका बाछिटा जगेलोमा पोखिए । पुर्णिमाको दिन धर्तीमा जून पोखिए जस्तो । पोखिएका बाछिटाहरूलाई हत्केलाले यताउती पुछ्दै साहुजीले कथा यसरी सुरू गरे । हृदयमा हिम्मतको क्षेत्रफल बढाउँदै  म ध्यान पुर्वक सुन्न लागेँ ।

—000—

यो एउटी त्यस्ती छोरीको कथा हो , जसले आज सम्म आफूलाई जन्मदिने आमाबाट ‘छोरी’ शब्द सुनेकी छैन । यो एउटा त्यस्ती बच्चीको कथा हो , जसले आज सम्म आफ्ना बुवाको चित्र समेत देखेकी छैन । यो एउटा त्यस्ती बहिनीको कथा हो , जसका आफ्नै दाई छैन। र यो एउटा त्यस्ती दिदीको कथा हो , जसको आफ्नो भाई छैन ।

हाम्रो घर बाजुराको हिमाली गाउँ पालिका हो । हाम्रो अझैँ पनि बसोबास त्यहीँ छ । हामी आमाका तीनटा छोरा हौँ  । आज आमा हामी संगै हुनुहुन्छ । बुवा हुनुहुन्न । कान्छो भाईको परिवार र आमा उतै गाउँमा बस्छन् । म यतै होटेल चलाएर बसेको छु ।

हाम्रा थुप्रै भेडाहरू थिए । हामी भेडी गोठाला हौँ । उहिलको समय साह्रै अढली छियो (थियो ) ।  अहिलेका जस्ता बाटाघाटा थिएनन् । बजार थिएनन् ।  भेडाहरूबाट ओसारेर अख्खडी (पुरै)  कर्णालीका हुम्ला,  जुम्ला , कालिकोट , जाजरकोट , मुगु  , डोल्पाका जनतालाई नुन चखाएकै हो । भात चखाएकै हो ।  यता सुदुरपश्चिमका बाजुरा , अछाम , डोटी , बझाङग , दार्चुलामा पन हामी भेडाबाट नुन , चामल ओसारेर लिन्थ्यौ । कैयौँ उकाला चढ्यौँ । कैयौँ ओराला झर्यौँ ।

माघको महिना थियो । हिमाल हिउँ पड्न लाग्यो । अब भेडा औल (बेंसी)  लैझाऊ भनेर बाले भन्न थाले । माघका एक छकालै (बिहानै)  माईलो भाई , माईली बौरानी  र मेरा दुई जना , सबै मउकविला (परिवार ) भेडा औल लिन लाग्यौँ। ठण्डो (चिसो)  भन्याको बैरी ।

माईली बुहारीको लादोउदो (पेटमा ) र मेरी वालीको गादाउँदो (पिठ्युँमा)  बच्चा थियो । बिहानै भेडा लिएर हिँड्यौँ हामी ।

बाजुराको मार्तडी र कोल्टी छुट्याउने ठूलो डाँडो छ । पोरख्या भन्छन् त्यसलाई । त्यहाँ  पुग्दा बासाको छ बज्याको हुँदो हो । बेल बुढीगयो (सूर्य अस्तायो) । अब एक बास त्यतै बस्नु पर्ने भो । हामी दाजुभाई दाउरा मुढा खोज्न लाग्यौँ  । माईली बौरानी पेट दुख्यो भनेर त्रीपाल भित्र बसिन् । घरवाली पानी लिन गई ।

एकैछिनमा त्रिपाल भित्रबाट बच्चा रोएको आवाज आयो । हामी खुशी भयौँ । छोरी जन्मिछ । भोट्याको जात हजुर । कहाँको घरमा बसी बच्चा पाउनू , कहाँको अस्पताल झानू ।  सबैका बच्चा बाटोघाटोमै जन्मिँदा । हिँड्दा हिँड्दै जन्मिँदा । अस्पताल क्या हो कनैले (कसैले) रायाको नाई ( चिनेको नाई ) । मेरो छोरो पन हिँड्दा हिँड्दै बाटोमै जन्मियो । यो छोरी पन बाटोमै जन्मी। हामीलाई पन हाम्री आमाले बाटोमै जन्माएकी हुन ।

भेडाको घ्यूमा तात्तातो जौको धुलो भुटीकन गजगजे (हलुवा) बनाई दियौँ । मलाई ठ्याक्कै दिन र गते त याद छैन । त्यस दिन माङ्लबार (मंगलबार )  थियो । छोरी माघ जन्मेकी हुनाले उसको नाउँ  “माघी” राख्यौँ हामीले । त्यहाँबाट पाँच दिन बसेपछि हामी भेडा लिएर खप्तड गयौँ।

फागुनको मध्य तिर असाध्यै ठूलो पानी र हिउँ पर्यो खप्तडमा । घुँडा घुँडा हिउँ आयो । जाडी झिक्कै (चिसो धेरै) । भेडाहरू हिउँमा डुब्या । राती सुतेका बेला ठूलो चिड्को ( चट्याङ) पड्यो ( पर्यो ) । हामीले टेन्ट बनाएको नजिकै । माईलो भाईको निस्सै (नजिकै ) पड्यो । भाई अधघाईते  भयो । छकाल उज्यालो नहुँदै भाईले यो धर्ती छाड्यो । भाई सधैँका लागि गयो । सास र हामीलाई एकै चोटी बिर्स्यो । पापी दैबले अकालै लियो मेरो भाईलाई ।

यतिञ्जेल साहुजीका आँखाभरि आँशु थिए । केवल खस्न बाँकी थिए । छेऊमा मेरा आँखाहरु पनि ओभाना रहेनन् । साहुनी बाहिर भट्टीमा थिईन् । चिया अघि नै आईसकेको थियो । मैले गिलास अघि नै रित्याईसकेछु । साहुजीले फेरि पानी घुटुघुटु पिए । बायाँ हातले निधार माथिको पसिना पुछे । फेरि उसै गरी कथा सुरू गरे ।

खप्तडमा हामी लगायत अरू मौकविलाका (परिवारका) पन भेडा थिए । दिउँसो अलिलि घाम झुल्क्यो । हामीले लासलाई त्यहाँ बाट बोकेर दारूगाउँको आर्यघाटमा जलायौँ  । मैले दागबत्ती थिएँ । हेर्दाहेर्दै मेरो भाई रखानी (खरानी) भयो । हेर्नुस हजुर । मान्छेको जीवन भन्नु पन साला खरानी रैछ । उहिले , अहिलेका जस्ता फोन थिएनन् । घरमा फोन गर्न  पन पाईएन ।

चैत लाग्यो । अब गर्मी सुरू भयो । हामी फेरि भेडा घर लिन लाग्यौँ।  खप्तडबाट हिँडेको दश दिनमा घर पुग्यौँ। घरमा बा आमाले , भाई खोई भनेर सोध्न लागे । म रून लागेँ  । घरवालीले देवर बितेको सुनाई । अब बुवा , आमा , म , मेरी घरवाली ,मेरो छोरो , माईली बौरानी र छोरी मात्रै भयौँ  । छोरी साढे तीन महिनाकी भई ।

साहुजी एकछिन रोकिए । बातावरण शून्य भयो । होटेल अगाडिको आरूको बोटमा चराहरू चिरबिर चिरबिर गरेको होटेल भित्रै सम्म सुनिन्थ्यो । भट्टीमा साहुनीले केही फ्राई गरीरहेको आवाज र बासना संगै आउँथ्यो । साहुजी फेरि बोल्न थाले ।

छोरी उन्नाईस महिनाकी भएकी थिई । छोरीको मुख ठ्याक्कै आफ्ना बुवाका जस्तो थियो । एकदिन  माईली बौरानी घट्ट धुलो (पिठो)  पिस्न गएकी थिइन्  । पछि बेलुका घट्टालाले (घट्ट मालिकले ) धुलो ल्याईदियो । माईली बौरानी उतैबाट कालिकोटका एक भोट्या संग पोईल गएको रैबार (खबर) सुनायो । हामी त्यसपछि उसको खोजीमा निस्केनौँ  । मेरा र भाईका सुईनामी (सपनामा)आगो लगायो बौरानीले । हामी मान्छे नाना (साना) भया पन सुईना ठूला देख्थ्यौँ ।

पछि बुवाकै सल्लाहले भेडा बेच्यौँ । भेडा बेचेको पैसाले यहीँ  होटल किनेँ । छोरीलाई पाल्यौँ , ताल्यौँ । टुहुरी छोरी पाल्नु भनेको शीतका थोपाथोपा बटुलेर गाग्री भर्नु जत्तिकै अढली हुँदो रैछ । छोरी ठूली भई अब । छोरीलाई आज सम्म कसैले सुनाएको छैन , ” तेरी आमा छैन । तेरो बा पनि छैन । दिमागमा असर नपुगोस् भनेर कहिल्यै सुनाएका छैनौँ  । उसले सम्झेकी छे , उसका बा आमा हामी हौँ । हामी उसका आमा बा त हौँ तर कर्मदिने आमा बा हौँ । जन्मदिने आमा बा होइनौँ । त्यसैले अब तपाई आफै भन्नुस हजुर छोरी कसकी हो ? छोरी कसकी होईन ?

—-000—–

मेरो गाडीले हारन बजायो । धर्तिमा अँध्यारो पोखिनै लागेको थियो । हाटबजार झिलिमिली हुने बेला भयो । साहुजीलाई चिया बिस्कुटको पैसा तिरेँ।

बस चढ्नु अघि साहुजीलाई फोन नम्बर मागेँ । साहुजीका आँखाले “अब साँफे आउँदा फेरि आउनू” भनिरहेका थिए । मेरा आँखाहरु कथा सुनेर अघाएका थिएनन् । “हुन्छ”  भन्ने ईशारामा मैले टाउको हल्लाएँ । हात हल्लाउँदै काँधमा झोला भिर्दै म त्यहाँबाट निस्केँ। मेरा पाईलाहरू बहुत गरुङ्गा भएका थिए ।

बसले एक पछि एक मोडहरू पछाडि धकेल्दै साँफे माथिको उकालो चढ्यो । हेर्दाहेर्दै साँफे छुट्यो । हेर्दाहेर्दै साहुजीको होटेल छुट्यो । हेर्दाहेर्दै बाँकी  कथा उतै छुट्यो । छुट्नु भनेको फेरि भेट हुनु हो भनेर चित्त बुझाएँ । गाडीमा गीत बजिरहेको थियो–

“पैयाँ गुडन लाग्या , बम्बै  जान्या रेलगाडीका , पैया गुडन लाग्या
अब छुटन लाग्या , पहाडका डाँगा खोला , अब छुटन लाग्या ।”

प्रतिक्रिया

सम्बन्धित खवर