आँगन
✍️ श्याम रिमाल
अँध्यारोमा म आफैँलाई छामिरहेको हुन्छु
र त्यहाँ भेट्छु सहस्र चिन्तनका प्रकाश
आधा रातमा नै त थिए सिद्धार्थ महाभिनिष्क्रमणमा
ज्ञानोदय हुनेछ पक्कै एक दिन
यी दुःखहरु मै बोक्छु लोकका
अँध्यारो चिर्दाचिर्दै
म बोधिसत्वको नगिच पुगिसकेको हुन्छु
प्रियजनहरू
मलाई एकैछिन बाधा नदेऊ
मैले भेटिसकेँ बुद्धत्व
म हिँडे त अब मान्छेको कुरुप बस्तीमा
त्यहाँ उनीहरू कुलोको पानीमा विवाद गरिरहेका छन्
म शून्यताबाट पूर्णतातिर जाँदैछु
राहुलहरू बचाउन, यशोधरा बचाउन ।
प्रतिक्रिया
-
४
