✍️ रोजा नानु
चाहेर पनि बिर्सिन सक्दिन्,
र सम्झिरहेछु
विवशतामा आई लागेको ऋण
बिरामी पर्दा लागेको खर्च
छिमेकीले आँखा गाडेको घरबारी
ठूलाबडाले छाँटेको अर्ती
कसले बुझ्छ ?
म तड्पिएको पल
मुटुमा पसेको चिसो अपमान
अपमानभित्र जलेको मेरो अस्तित्व
आफन्तहरू
साथी-भाइहरू
छर-छिमेकीहरू
हरेक दिन आवाजको नरम घ्यूजस्तो बनेर आउँछन्
र उल्टै पिडाको सलाई कोरेर फर्किन्छन्
उनीहरू
डुबुल्की लगाई रहन्छन्
आफ्नै स्वार्थको समुन्द्रभित्र
उनीहरू डुबिरहँदा
परेलीका बाँध फुटाई
आँसुको आक्रोश बनी गालामा उत्रिएझैँ
म बाध्यताको सतहमा उत्रिरहन्छु
आँखै अगाडि छन्, दृश्यहरू
महिनौ देखि नबलेको चिसो चुल्हो
अौषधी नपाएर थला परेकी बुढी आमा
लाचारीले फाटेको टोपी मिलाउँदै
सिँढीमा मूर्छित परेको बाको बुढो शरीर
अगेनोसँग सम्बन्ध विच्छेद गरेको रित्तो ताउली
आफन्तले नगरेको विश्वास
छिमेकीले नपत्याएको ऋण
साथीभाइले नदिएको साथ
अपमानको आगोले जल्न
यी बाहेक अरु के के चाहिन्छन् मान्छेलाई ?
म आज आफूलाई दाउरा बनाएर
अपमानको आगोमा जलिरहेछु
ए मेरा आफन्तहरू हो, आउ
मलाई ताप
र यो चिसोमा आ-आफ्नो स्वार्थी मन न्यानो बनाउ
प्रतिक्रिया
-
४
