यो हप्ता, पृथ्वी नारायण शाहको जन्म जयन्ती, उनले जोगाएको भूगोलभन्दा टाढाको देश कोरियामा रहेर देश निर्माणको कथाहरू पढ्दै छु । यो छोटो लेखमा पृथ्वी नारायण शाहलाई हेर्ने आआफ्नै दृष्टिकोण र आग्रह पूर्वाग्रहको विश्लेषण गरेर म आफ्नो अल्पज्ञान देखाउन चाहँदिन । मैले संक्षेपमा बुझेको कुरा के हो भने, पृथ्वी नारायण शाहलाई राजतन्त्रवादी वा गन्त्रवादीको कित्तामा उभ्याएर विवादको विषय बनाउनु हुँदैन ।

एक्काइसौँ शताब्दी लागिसकेको समयमा कुनै राजनीतिक विचारधारा र व्यवस्था रोज्नु जनताको अधिकारको कुरा हो । बहुसंख्यक जनताको रोजाइले नै व्यवस्थाको चयन गर्ला । नेपालको गणतन्त्र बहुसंख्यक जनता कै रोजाइ हो । आज राजेन्द्र लिङदेन सांसद हुँदा कयौँ सांसदभन्दा ठूलो स्वर निस्कन्छ, भोलि संसद सख्याको आधा जति राजेन्द्र लिङ्देन भए भने अर्कै अवस्था आउँला वा बिस्तारै राजेन्द्र लिङ्देनहरू अप्राङ्गिक हुँदै जालान् ।

त्यो फरक कुरा हो तर इतिहासका पात्रहरूलाई अहिलेको वेथितिहरूको झगडाको कोपभाजन बनाएर अपमान गर्नु देशकै अपमान गर्नु हो । पृथ्वी नारायण शाहलाई एकिकरणकर्ता नभएर अधिकरणकर्ता भनेर अवमूल्यन गर्नेहरूले पनि बुझ्न पर्ने कुरा के हो भने इतिहासमा देशहरू त्यसरी नै बनेका हुन् ।

राजा महाराजाहरूको राज्य विस्तार गर्ने क्रममा फरक संस्कृति र समुदायबीच शक्ति संघर्ष गरे । विजय पराजयपछि अन्त्यमा भाषा संस्कृति, शक्ति संन्तुलन र समाजिक सम्झौताले गर्दा एउटा निर्धारित भूगोल भएको एउटा देश बनेको हुन्छ ।

इतिहासमा पूरा संसार जित्दै हिंड्ने अलेक्जेन्डर, चेङ्गिज खाँ जस्ता युद्ध सरदारहरू विजेता मात्र बने तर जितेको भूभागको एकिकरणकर्ता बन्न सकेनन् किनभने उनीहरूले युद्ध जितेर लुट्ने काम मात्र गरे । तर जितेको ठाउँमा थिति बसालेर एकिकरणकर्ताको भूमिका निभाउन सकेनन् र अन्त्यमा उनीहरूको साम्राज्यको पतन पनि भयो ।

पृथ्वी नारायण शाहको दूरदर्शिता र राजनैतिकताले गर्दा गर्दा आफूलाई एकिकरणकर्ता बनाउन सफल भए । एउटा सत्यचाहिँ के हो त्यहीँ समयका तत्कालिन पूर्व पश्चिमका अरू राजाहरू वा काठमाडौँका जयप्रकाश मल्लले पृथ्वीनारायणभन्दा क्षमता देखाएर एकिकरण गरेको भए उनकै गुनगान गरिन्थ्यो । इतिहास विजेताको लेखिन्छ भन्नुभन्दा पनि नेतृत्व क्षमता भएकाले नै आफूलाई राजनेता बनाउनु वास्तविकता हो । मैले यो लेखमा पृथ्वीनारायण शाहको इतिहास खोतल्नु भन्दा पनि कोरिया निर्माणको कथाचाहिँ कस्तो रहेछ भन्ने जिज्ञासा प्रकट गरेको हुँ ।

आधुनिक कोरियाको इतिहास त अन्य ठाउँको जस्तै नै हो । पहिलो शताब्दीदेखि सातौँ शताब्दीसम्म गोगुऱ्य, बेच्चे र सिल्ला नामका मूख्य तीन राज्यबीच झगडा भएको पाइन्छ । कहिले कुनै राज्यले जितेर एकिकृत राज्य बन्ने अनि कुनै बेला अर्कै राज्य ! र राज्यको नामहरू फेरिरहने ।
दशौँ शताब्दीमा गोऱ्य भन्ने एकिकृत राज्य निर्माण भयो । अहिलेको कोरिया भनिने अङ्ग्रजी नाम त्यहीँ गोऱ्य शब्दको पश्चिमी उच्चारण रहेछ । बिचमा तत्कालीन चिनियाँ राज्यहरूबारे, खितान, युवान अनि जापानी हस्तक्षेपसँग लड्दै अन्त्यमा जनरल इसङगेले कोरिया एकिकरण गर्दै जोसन नामको सन १३९२ मा राज्य बनाएका रहेछन् ।

सन १९१० फेरि जापानी उपनिवेश बन्न परे पनि दोस्रो विश्वयुद्धमा जापानले आत्म समर्पण गरे पछि १९४५ मा स्वतन्त्र भयो । यद्यपि, अमेरिका र तत्कालीन सोभियत संघको खिचातानीले एकिकृत कोरियाको रूपमा नभएर उत्तर र दक्षिण कोरिया बन्यो अब फेरि एकिकरण हुन तेस्रो विश्व युद्ध नै पर्खिन पर्ला जस्तो वातावरण छ ।

इतिहासको यस्तो उथलपुथलमा पनि हामी कोरियाली एक हौँ भनेर चिनियाँ र जापानी , बेलाबेलामा पश्चिमा व्यपारीसँग निरन्तर लड्ने प्रेरणाको स्रोत के होला ? त्यो प्रेरणा तत्कालीन राजाहरू होइनन् । यदी जनताबीच भावनात्मक एकता नभएमा राजाहरू युद्ध सरदार बाहेक केही बन्न सक्दैनथे । जैविक जिन खोज्दै जाँदा त कोही चिनियाहरूसँग मिल्लान कोही जापानीहरूसँग तर यो भूगोलमा मिलेर बसेपछि हामी यहीँ भुगोलको एउटै परिवार हौँ भन्नु नै मूख्य एकता भाव होला । यसै भाव दर्शाउने प्राचीन कोरिया स्थापना सम्बन्धी एउटा किंवदन्ती रहेछ ।

किंवदन्ती अनुसार स्वर्गका राजाका छोरा ह्वानिन पृथ्वीमा एउटा आदर्श राज्य स्थापना गर्न आए । उनी हाल उत्तर कोरियामा पर्ने बेक्तु पहाडमा गए । त्यहाँ कोही पनि मानिस थिएनन् । यसै क्रममा एउटी बघिनी र पोथी भालु हामी मान्छे बन्छौँ भन्दै आए । उनीहरूलाई केही पोटी लसुन र तितेपातीको साग दिए र भने “जो यो खाएर घाम नदेखिने गुफामा लामो समय सम्म बस्छ उही मान्छे बन्छ ।”

दुबै तयार भएर गुफामा बसे तर बघिनीचाहिँ केही दिनमै बस्ने नसकेर बाहिर हिँडी र ह्वानिनले पोथी भालुलाई सुन्दरी स्त्री बनाएर उनैसँग विवाह गरेर दान्गुन नामको छोराको जन्म भयो । तिनै दान्गुनले प्राचीन कोरियाको स्थपना गरेका हुन् र सबै कोरियाली एउटा दम्पतिको सन्तान भएकोले एउटै परिवार भनेर विश्वास गरिन्छ ।

यो किंवन्तीमा वैज्ञानिक सत्यता छैन तर कोरियाले महत्व दिएर अक्टोबर ३ मा बिदा दिएर कोरिया स्थपना दिवस नै मनाउँछ । पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा मनाउन नसक्ने देशमा यो कुरा अनौठो लाग्ला । तर कोरियाले यो कथाको वैज्ञानिक तथ्यभन्दा पनि किंवन्दतीको सामाजिक पृष्ठभूमिको महत्व बुझेको छ ।

इतिहासकारहरूको अनुमान अनुसार इसापूर्व २३३३ मा उत्तरी क्षेत्रबाट दक्षिण झरेका युद्ध सरदार दान्गुनले विजय प्राप्त गर्दै जोसन नामको राज्य बनाए । त्यसबेला उत्तर क्षेत्रका बासिन्दाले भालुलाई कुलदेवता मान्थे र दक्षिणी क्षेत्रका वासिन्दाले बाघलाई कुल देवता मान्थे । त्यसैले दान्गुनका भारदारहरूले दक्षिण क्षेत्रका वासिन्दालाई पनि हामी एक हौँ भन्ने पार्न यस्तो किंवदन्ती बनाए होलान् ।

अहिले भए बाघलाई कुलदेवता मान्नेहरूले पहिचानको मुद्दा उठाएर राष्ट्र बन्न दिँदैनथे होलान् तर त्यसबेला धर्मभिरूहरूले पत्याए । प्राचीन कोप्राचीन कोरियामा दान्गुनलाई भगवान मान्ने सम्प्रदाय पनि रहेछ । आधुनिक कोरियालीले दान्गुनलाई भगवान मान्दैनन् । पछिल्लो शताब्दीमा पिछडिएको कोरियामा पश्चिमा धर्म प्रचारहरू छिरेर एक चौथाइ कोरियाली क्रिस्तानी बनिसकेका छन् ।

उनीहरूले यो विश्वास गर्ने त कुरै भएन तर पनि विरोध गर्दैनन् । किनभने कोरियालीले बुझेका छन् । दान्गुन जोसुकै हुन तर कोरिया राष्ट्रनिर्माणका महत्वपूर्ण पात्र हुन् ।

अन्तमा, कोरियाबाट पृथ्वीनारायण शाहलाई सम्झँदै गर्दा यही कामना गर्दछु कि पृथ्वीनारायण शाहलाई राजनीतिक र साम्प्रदायिक आग्रह पूर्वाग्रहभन्दा माथि राखेर उनलाई एकताको प्रतिक मान्दै सार्वजनिक बिदा दिएर जन्म जयन्ति मनाइयोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर