काठमाडौँ – लेखक कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’को पुस्तक विमर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुटवलको चिया चौतारी बूक क्याफेको सभा हलमा बुधबार सम्पन्न अन्तर्क्रिया कार्यक्रममा साहित्य अभियन्ता तथा समाजसेवी भुवन अर्याल र राष्ट्रिय पुस्तकालय तथा कारागार पुस्तकालय अभियानका अभियन्ता शुभद्र पोखरेलले ‘ब्लु डायरी’को समीक्षा गरेका थिए ।

भुवन अर्यालले उपन्यासमा मान्छेका कथा मात्र नभएर प्राकृतिक विम्बलाई पनि समेटिएको बताए । चराचुरुङ्गीले देखाएको दर्शनलाई सुन्दर चित्रण गरिएको कुरा उल्लेख गरे ।

उपन्यासले प्रेममा धोका खाएका वा विक्षिप्त भएकाहरूका लागि मनोचिकित्साको काम गर्ने बताए । प्रेममा हार खानु भनेको जीवनको अन्त्य होइन बरु नयाँ जीवनको आरम्भ पनि हुन सक्छ भनेर सन्देश दिने र सकारात्मक सन्देश दिएको कुरालाई पनि उनले जोड दिए ।

पोखरेलले उपन्यासमा युवायुवतीबिचको प्रेम मात्र नभएर बाबुछोरा,दिदीभाइ,प्रकृति आदिको सम्बन्ध र प्रेमलाई बढो सुन्दर ढंगले बयान गरिएको बताए ।

‘ब्लु डायरी’भित्र नेपालको भिन्न पर्यटकीय स्थानको मनोरम दृश्यलाई शब्दको गहिराइ पाउन सकिने पनि बताए । यस उपन्यासले सहि अर्थको प्रेमको पाठ सिकाएर प्रेमको वास्तविक अर्थ बुझाउन प्रेरणादायी भएको कुरामा जोड दिए । कसैलाई पनि हानी नपुर्‍याई आफू खुसी हुने मानवताको सन्देश दिएको कुरा प्रष्टाए ।

उपन्यासबारे आफ्नो मन्तव्य व्यक्त गर्दै लेखक कृष्ण आचार्यले भने,“‘ब्लु डायरी’ युवा पुस्ताको कथा हो । उनीहरुको संघर्ष, प्रेम,असफलता अनि सफलताको कथा हो । पुस्तको जीवनदेखी हारेका या हार्दै गरेकालाई उत्साह,हौसला,प्रोत्साहन, प्रदान गर्दै अघि बढ्न प्रेरित गर्छ भन्ने मेरो विश्वास हो । सबैभन्दा पहिलो कुरा त पुस्तक पढेपछि पाउने सन्तुष्टि पाइन्छ । ३५० रुपैयाँ खेर फालेको अनुभूति हुँदैन ।”

पुस्तकमा नयाँ विषय (लेखक र पाठकको कथा) उठान गरेको दावी गर्दै लेखक आचार्यले थपे “लेखकले आफ्नो र पाठकले आफ्नो अनुभव गर्नुहुन्छ । यहाँ सम्बन्धको कुरा चाहे त्यो प्रेममा होस्, चाहे प्राकृतिक र पारिवारिक आफूसँग आफ्नो सम्बन्ध होस् या प्रकृतिसँग मान्य सम्बन्ध चाहे त्यो लेखक र पाठकको सम्बन्ध नै किन नहोस् । यस पुस्तकको नयाँपन भनेकै सम्बन्ध हो । सम्बन्ध बचाउनु छ भने सबैलाई पुस्तक पढ्न आग्रह गर्छु , त्यो आफैँसँगको सम्बन्ध होस् वा अरुसँगको ।”

कार्यक्रममा हिमालय बूक हाउसका सञ्चालक माधव गौतमले लेखकलाई खादा लगाएर सम्मान गरेका थिए । कवि जनक कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा बिएन पुस्तक संसारका प्रबन्ध निर्देशक सुर्य बिसीसमेत कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमको उत्तरार्धमा दर्शकले लेखकलाई प्रश्न सोधेका थिए भने प्रश्नोत्तर सिलसिलामा नेपाली साहित्यमा भएका वेथिति,गुटउपगुट,विकृति लगायत लेखनबाट हुने आत्मसम्मान र नयाँ लेखकले गर्नुपर्ने महत्वपूर्ण विषयमा चर्चा परिचर्चा गरिएको थियो ।

यसअघि आचार्यको ‘अप्रिल फुल’ नामक उपन्यास प्रकाशित छ । बिएन पुस्तकले बजारमा ल्याएको ‘ब्लु डायरी’ उपन्यासको मूल्य ३५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर