– नवराज खरेल

१,
मनभित्र पिडैपिडा भए पछि भासिए झैँ लाग्ने जमिन
अरुकाे सहारामा बाँच्नु पर्दाखेरि परे झैँ लाग्ने अधिन
दुःखले भकारी बाँधेर गरिबीले अङ्गालाे हालेपछि,
अब क्षितिज काटेर भागे झैँ लाग्ने मुस्कुराउने दिन!

२,
ऋणको अंगालो गरिबीको पछ्यौरी ओढेर बाँच्न कति गाह्रो
चुडिएकाे चप्पल मैनबत्तीले जाेडेर हिड्दै हाँस्न कति गाह्राे
शासकले पाँचतारे हाेटलमा देश आत्मनिर्भर भयाे भने पनि,
हाम्रा चुहिने झुपडीमा हेर्नुस् दुईछाक चुलाे बाल्न कति गाह्रो!

३,
दुखकाे पछाडि पनि साथ दिने भेटिन्छन् हार मान्नु हुँदैन
इच्छा चाहाना रहरहरु पनि लखेटिन्छन् हार मान्नु हुँदैन
क्षणिकका समस्या हुन अहिले खडा भएका पर्खालहरु,
धैर्यता र साहसका कदममा मेटिन्छन् हार मान्नु हुँदैन!

४,
छाेराछाेरी बाहिरको कुरा गर्छन् म देशमै बस्नुपर्छ भन्छु
कुरा प्रविधिका गर्छन् पाखाे फाेर्न कम्मर कस्नुपर्छ भन्छु
कमाई हुन्छ सधैं तपाईंहरुले दुःख झेल्नु पर्दैन भन्छन्,
तर म परदेश नलाग पैसाका लागि उतै फस्नुपर्छ भन्छु!

५,
आफ्नै बाेली कुनै बेला सदर नहुने दिन आउँछ
भाेक ,प्यास,निद्रा अनि रहर नहुने दिन आउँछ
भूइँ मान्छेहरुलाई पनि मान्छेकै दर्जा दिन सिकौं,
झुपडी र महलमा पनि अन्तर नहुने दिन आउँछ!

***

प्रतिक्रिया

सम्बन्धित खवर