-ईश्वर पोखरेल
‘लौ, प्रथम पुरस्कार प्राप्त कविताका रूपमा श्यामकृष्णले वाचन गरेको रचना त…!’
रेवती झस्किई ।
यो कविता रेवतीले तीन महिनाजति अघि आफ्नो फेसबुक पेजमा पोस्ट गरेकी थिई ।
रेवतीलाई लाग्यो– ‘निर्णायकसामु यी सबै प्रमाण पेस गरूँ । र, आजै छिनोफानो गरूँ ।’
‘तर यो जुन रमाइलो माहौल छ : आफ्नो एउटा सानो स्वार्थ र आवेगमा अल्झेर यसलाई छिन्नभिन्न पार्नु हुन्छ !’ रेवती हच्किई ।
प्रतियोगितामा रेवतीले आज पाठ गरेको रचना चै पुरस्कृत रचनाको श्रेणीमै परेन ।
श्यामकृष्णको वाचन सकिदाओर्दा रमिला आइपुगिछे । रेवतीसंग जङ्गिई हाली– “के हेरिराखेकी छेस्?”
श्यामकृष्णलाई बधाई दिनेहरूको भीड थियो । र, ऊ गदगद थियो ।
श्यामकृष्ण र रेवतीको प्रत्यक्ष परिचय थिएन । भीड केही छिमलिएपछि रेवतीले हात बढाई र भनी– “तपाईलाई बधाई छ । म रेवती विश्वकर्मा ।”
श्यामकृष्णको ओठतालु सुक्यो ।
कार्यक्रमबाट घर फर्किदा रेवतीको आँखामा जे.कृष्णमूर्तिको शान्तमुद्रा नाँच्यो ।
उसले रमिलालाई सम्बोधन गरेर भनी— “श्यामकृष्णमार्फत् मेरै अघिल्लो कविता पुरस्कृत भएको त हो नि! यसमा मैले खुशी माने हुँदैन!”
लौ, रेवतीको कुरामा सही थाप्नेधरि कोही रहेनछन् ।
भीड र रमिला दुबै उतै छुटेछन् ।
***
प्रतिक्रिया
-
४
