– डा. अस्मिता विष्ट
युगौँदेखिको साक्षी भएर
बेग्लाबेग्लै स्थानमा
बेग्लाबेग्लै कथाहरुको
पल्टिरहेछ लमतन्न आँगन
ओछिएर दरबारको अघिल्तिर
हेरेको छ
– षड्यन्त्रमा रिँगिएका मस्तिष्क
– युद्धको उन्मादमा होस हराएकाहरु
– हिंसामा उद्विग्न मनहरु
– निर्दयी हातहरुले बगाएको
आफ्नाहरूकै रगतको बलिन्द्र धारा
फैलिएर बस्तीका प्रत्येक घर अघिल्तिर
सुनेको छ उसले
– धित मरुन्जेल देउसीका जोसिला भाका
– भैलीका सुरिला स्वर
– साकेलाका सोइसइला÷ढोलकका गुन्ज
– डम्फुका आलाप
हेरेको छ
चुङ्गी र माछाकाँडीको लयमा चलेका गोडाहरु
दिएको छ बनाउन मुहारभरि
डन्डीबियो र गुच्चाका चोटहरु
महसुस गरेको छ
कलिला पाइतालाका स्पर्शहरु
ओछिएर प्रेमिल मनहरुको बास अघिल्तिर
छेकेको छ उसले थापेर डँडाल्नो
बैँसालु हातहरुले हानेका होलीका रङ्गीबिरङ्गी लोलाहरु
रमाउँदै रमाउँदै रङको पर्वमा
थापेको छ उसले फैलाएर अङ्गप्रत्यङ्ग
रङ्गाएका पुलकित मनहरुले
तिहारका रङ्गिन रङ्गोलीहरु
उत्सवका क्षणहरुमा
अड्याएको छ आफूमाथि चुपचाप
उत्साही हातहरुले गाडेका केराका थामहरु
सिँवालीका सेउलाहरु
फूलपाती बढाइँमा/भिमसेन थानमा
दिएको छ सहमति सिँगार्न आफूलाई
बेहुलीझैँ
जिम्मेवार मनहरुले सजाएका मण्डपहरु
रङ्गीचङ्गी तोरणहरु
विवाह उत्सवमा
पूजाको हवनमा
खसाएको छ आँसु
हेरेर बिदाइमा हल्लिएका हातहरु
मुस्कुराएको छ देखेर आगमनका पाइलाहरु
मानव बासको अघिल्तिर ओछिएर आँगनले
आफूभित्र सिङ्गो इतिहास कोरेको छ ।
***
प्रतिक्रिया
-
४
