– प्रकाश सायमी

गजल १,
म आपतमा तिमीसित हिँडेँ
म सापटमा तिमीसित हिँडेँ

हिँड्नेहरू कहाँ कहाँ पुगे
म राहतमा तिमीसित हिँडेँ

नदीको बेगसरि छ यो मन
म चाहतमा तिमीसित हिँडेँ

के नगद के बाँकी पिरतीमा
त्यही वापतमा तिमीसित हिँडेँ

घाउ दुखेसिरको पीडामा छु
म आहतमा तिमीसित हिँडेँ

गजल २,

फूल भए पनि राम्रो, काँडा भए पनि राम्रो
बिना शर्त माया गरें, टाढा भए पनि राम्रो

म बिना को एउटा संसार आज देख्यौ तिम्ले
सधैं समथर कहाँ हुन्छ डाँडा भए पनि राम्रो

तिम्रो नाउँ कहिले रगतले लेखेँ कहिले आँसुले
नमेटिए त के भो? मसी गाढा भए पनि राम्रो

सिरानीमा थियौ तिमी बिहानीमा गयौ
हिजो म अधुरो थिएँ, आज आधा भए पनि राम्रो

***

प्रतिक्रिया

सम्बन्धित खवर