– गणेश लोहनी

१,
चुलो चौकोमा मात्र सीमित छैन
सिंदूर चुरामा मात्र बाँधिएकी हैन
कमजोर छैनन् सृष्टि थाम्ने हातहरू
पितृसत्ताको पूजारी कदापि हुँदैन ।

२,
आफ्नै बाचा कबुलबाट चुक्ने चुक्दै गर्छ
ईर्ष्या डाहले आकाशतिर थुक्ने थुक्दै गर्छ
बाधा पन्छ्याउँदै लक्ष्य हासिल गर्छ कर्मवीर
उखानै छ; काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।

३,
चमत्कार भो मेरो देशमा हेर कुर्सी गुड्न थाले
संसदभित्रको भुमरीमा आफुआफै बुड्न थाले
मान्न लायक व्यक्त्तिलाई माननीय भन्ने होला?
मर्यादाको सीमा नाघ्दै माथिमाथि उड्न थाले ।

४,
हात मिलाउँछन्, क्यामेरा अगाडि दाँत देखाउँछन्
भित्र-भित्र भने नक्सा बदल्ने खाका बनाउँछन्
“अजर अमर मित्रता” भन्छन् भाषणको माइकमा
चिया सकिएपछि फेरि भिसाको शर्त कडाउँछन् ।

५,
युवाको हातमा ज्वालामुखी छ
छातीमा आगो, देशसंगै दुःखी छ
झर्दैनन् पहेँलिएका पातहरू अझै
निरस मरुभूमिमा भन को सुखी छ?

***

प्रतिक्रिया

सम्बन्धित खवर