– असीम सागर

गजल-१

बादलभित्र उदाएको घाम हुँ पर्ख उघ्रिन समय लाग्छ
जसरी फूललाई आफ्नो मौसम  पर्खिन समय लाग्छ

भकारी रित्तियो भन्दैमा धान कहाँ छिटै पाक्छ र हजुर
भर्खर जन्मेको बालकलाई पनि त उभिन समय लाग्छ

रित्ता रित्ता थाल ठटाउँदै नरोउ न, ए मेरा केटाकेटी हो
नुन पैंचो लिन गएकी छिन् आमा फर्किन समय लाग्छ

नौलो ठाउँमा नौलो मान्छेलाई नौलो लाग्नु सामान्य हो
एकछिन त चिनीलाई पनि चियामा घुलिन समय लाग्छ

गोठालो जाँदा हराएको वस्तुको के कुरा गर्छस् “असीम”
कहिलेकाहीँ खल्तीकै सिक्का पनि भेटिन समय लाग्छ ।

गजल-२

जब तिम्रो तस्बिर यो आँखामा छैन
मजाले हाँसेको कुनैदिन ऐनामा छैन

मुटुमा चोट बोकेर हाँस कसरी भनुँ ?
आफ्नो खुशी त आफ्नै चेहरामा छैन

जब हुरीले फूलका हाँगा भाँच्दै गयो
लाग्यो फूललाई पनि म हाँगामा छैन

भोकले खुब रुन्छन् यी साना बचेरा
जहाँ एक सितो भात बटुकामा छैन

कसरी उड्न सिकाऊँ बचेराहरूलाई
मलाई विश्वास त मेरै पखेटामा छैन

मरेपछि आत्मा माथि जान्छ रे भन्छन्
हेर्छु धुँवा बाहेक  अर्थोक धुँवामा छैन

दु:खमा न त सरकार आयो न छिमेकी
लाग्छ मेरो देश नै सायद नक्सामा छैन

***

प्रतिक्रिया

सम्बन्धित खवर