अछामको हरिनगर, ठुलासैन निवासी कमल सङ्घर्ष नेपाली गजल साहित्यका स्वनामधन्य स्रष्टा हुन् । डेढ दशकभन्दा बढी समयदेखि गजल लेखनमा सक्रिय सङ्घर्ष नेपाली तथा खस–नेपाली भाषाका अब्बल गजलकारका रूपमा परिचित छन् । गजलमा विस्मयकारी गतिशीलता, मौलिकता र सूत्रात्मक कथनशैली उनका प्रमुख विशेषता हुन्। सडक गजलसङ्ग्रह (२०७३) र खुडी गजलसङ्ग्रह (२०७९) प्रकाशित गरेका उनको हियाका कुडा गजल सङ्ग्रह भर्खरै प्रकाशित भएको छ । यसै कृतिको सेरोफेरोमा संङ्घर्षसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र गजलकारको जवाफ;

१. “हियाका कुडा” कृतिका बारेमा केही बताइदिनुस् ।
– “हियाका कुडा” मेरो तेस्रो एकल गजलसङ्ग्रह हो । यो विशेषतः खस नेपाली भाषामा लेखिएको कृति हो, जसमा शब्दहरू केवल भाव अभिव्यक्तिका साधन मात्र होइनन्, आफ्नो माटो, भूगोल र संस्कृतिको सुगन्ध बोकेका संवेदनाहरू हुन्। यस सङ्ग्रहले स्थानीयपनलाई सम्मान गर्दै समकालीन यथार्थसँग संवाद गर्ने प्रयास गरेको छ ।

२. आञ्चलिक शब्द “हियाका कुडा” ले बोक्ने अर्थ र संकेत के हो?
– सुदूर कर्नालीतिर “हिया/हियो” भन्नाले हृदय बुझिन्छ । त्यस अर्थमा “हियाका कुडा” भनेको हृदयका कुरा हुन् । मनका गहिराइबाट निस्किएका शब्दहरू। तर यो केवल लेखकका निजी अनुभूति मात्र होइन; यसमा समाजको धड्कन, संस्कृतिको रंग, जनजीवनका भोगाइ र समयको स्वर मिसिएको छ । व्यक्तिगत भावनाबाट सुरु भएको यात्राले सामूहिक संवेदनासम्म पुग्ने कोशिश गरेको छ ।

३. दशकौँदेखि गजलमै सक्रिय हुनुहुन्छ। तपाईंका लागि गजल के हो?
– साहित्यिक यात्रामा मेरो परिचय नै गजलबाट भयो । गजलप्रेमी शुभचिन्तकहरूको माया र विश्वासले मलाई यसै विधामा निरन्तरता दिएको छ । मेरा लागि गजल भनेको हियाका कुडा सुस्पष्ट र सजीव रूपमा प्रस्तुत गर्ने सौन्दर्यमय माध्यम हो । थोरै शब्दमा गहिरो अनुभूति राख्ने, चुपचाप मन छुने र कहिलेकाहीँ मौनताभन्दा पनि धेरै बोल्ने कला ।

४. रेडियोदेखि “सडक” र “हियाका कुडा” सम्मको यात्रामा तपाईंको लेखनमा के परिवर्तन आयो?

– बाल्यकालदेखि नै सञ्चारकर्म र सामाजिक गतिविधिमा सक्रिय रहेँ । अछाम जिल्ला बाल सञ्जालको नेतृत्वसम्मको अनुभवले समाजसँगको सम्बन्ध झन् गहिरो बनायो । समयसँगै परिवेश फेरियो, भूमिकाहरू फेरिए, तर समाज, कला र संस्कृतिप्रतिको समर्पण उस्तै रह्यो । आज म आफ्नै खस भाषा, मौलिकता र सांस्कृतिक जरा खोज्दै लेखिरहेको छु । लेखनमा हराउँदै गएको पहिचानलाई पुनः शब्दमा उतार्ने चाहना अझ प्रखर बनेको छ ।

५. “हियाका कुडा” पाठकले किन पढ्नुपर्छ?
– यद्यपि यो गजलसङ्ग्रह हो, यसमा समेटिएका विषयहरूले गाउँको भाकादेखि आधुनिक प्रविधि (एआई) सम्मको समयचित्र बोकेका छन् । जुतारोदेखि चेतनासम्म, पीडादेखि आशासम्मका आयाम यसमा भेटिन्छन् । आफ्नो जननी भाषाको मिठास, समाजको स्पन्दन र समयको स्वर महसुस गर्न चाहने पाठकका लागि “हियाका कुडा” आत्मीय यात्राको निम्तो हो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर