– हरि अधिकारी
केटाकेटीहरू जब रुन थाल्छन्
फूलहरूले गुमाउँछन् आफ्नो गन्ध
र आकाशले निर्मलता,
हावा विमूढ भएर अन्तरिक्षमा झुन्डिने छ
र उडिरहेको पन्छी समूह खस्ने छ अचानक
नाभिकीय विस्फोटपछि
शहरका सम्पूर्ण भ्रूणहरूझैँ,
केटाकेटीहरू जब चिच्याउन थाल्छन्
भरखरै सेकिएको रोटीको गन्धले गुमाउनेछ
आफ्नो आक्रामक स्वाद
दुहुँदा–दुहुँदैको
दूधको न्यानो सिर्काबाट उठ्ने
अलौकिक ताजापन पनि
कुनै देहजीवाको थकित
शरीरझैँ बासी देखिन थाल्ने छ,
केटाकेटीहरू रुँदारुँदै थाकेर
जब चुप लाग्छन् र रित्ता आँखाले
एक तमाससँग हेर्न थाल्छन्
आफ्नो वरिपरिको निर्मम संसारलाई
सृष्टिको सम्पूर्ण सौन्दर्य तेतिखेर बलात्कृत हुन्छ,
केटाकेटीहरू नै मानव सभ्यताका सर्वश्रेष्ठ प्रतिनिधि हुन् ।
***
प्रतिक्रिया
-
४
