– भगवति बस्नेत
१,
साँझ विहान गुन्गुनाउने बात सम्झियौ कि
आफैं ढली प्रभात ल्याउने रात सम्झियौ कि ?
मीठो बोल्दा आफ्नै भन्ने भान पर्यो होला-
प्रेमको बदला प्रेम खोज्दा घात सम्झियौ कि ??
२,
हरपल साथ रहने छायाँ अनि याद छ मसँग
उत्साह, उमंग,आमाको आशीर्वाद छ मसँग
छायाँ रातसँगै हराउँछ,याद जटिल बनिदिॅन्छ-
आशा भरोसा दिलाउने चम्चमाउँने चाँद छ मसँग
३,
नकारात्मक सोच्छौ र त तनाब मिल्छ
माग्नु पर्दैन यहाँ सितैमा सुझाव मिल्छ
आफ्नै मनको राजा आफैं हुन्छन् सबै हेर-
जस्तो सवाल गर्छौ उस्तै जवाफ मिल्छ
४,
तिमी बाहेक अरु सपना देख्दैनन् यी आँखाहरू
रहरभरि गुन्जिरहन्छ पिरतीका भाकाहरु
बैगुनी जात पिरतीको टाढा हुँदा मन दुख्छ –
तिमी बिना मौन भा’छन यी मनका पाखाहरु
५,
पर्खाइ तिम्रै हुनेछ, जिन्दगी लिएर आउनु तिमी
बगर झैं प्यासी छ मन नदी लिएर आउनु तिमी
बर्षौदेखि टाढा तिमी सामिप्यता खोज्छन् अधर –
भिजेको परेली चुम्न हाँसोख़ुसी लिएर आउनु तिमी
***
प्रतिक्रिया
-
४
