– बिमला दाहाल

गजल १,
बगेर सकियो आँसु, छट्पटीको नदी सकिएन
समयको पाना सकियो, दु:खको मसी सकिएन

सोच त हो आफै बिर्सिन्छु, फेरि बालबच्चा सम्झिन्छु
खोलामा हामफाल्न खोइ ! कसरी सकिएन

सोचिनँ, चोटको ज्वालामुखी पहाड जत्रै होला
थामुँला आफै सोचेथेँ, कसैलाई नभनी सकिएन

हिँड्दा-हिँड्दै ठेगाना हराएको पत्र जस्तो भैसकेछु
मनको सबै युग सकियो, यत्ति हो कलि सकिएन

घरधनी नै नभए पछि घरबारी पनि के गर्नू ?
सबथोक सकिएछ, हेर्दैछु केवल जिन्दगी सकिएन

गजल २,
कलियुग हो, लाजहरू पनि लाज मानेर जान्छन्
मान्छेलाई लात हान्नेहरू ढुङ्गालाई पुजेर जान्छ्न्

मेरा पनि आफन्तहरू छन्, दु:खमा साथ दिने,
आउँछन्, सहानुभूतिको डोरीले घाँटी कसेर जान्छन्

तिमीले छोडेर गयौ भनेर अब के गुनासो गर्नू
आफ्नै लाग्ने आँसुका थोपाहरू त बगेर जान्छन्

मलाई ढुङ्गा नै हुन दिनू, फूल हुने रहर मरिसक्यो,
फक्रिदा शिरमा राख्छन्, ओइलिदा कुल्चेर जान्छन्

***

प्रतिक्रिया

सम्बन्धित खवर