– खगेन्द्र गिरी “कोपिला”
१)
आदर्शका कथा सुनाएर जे पनि गर्छ।
विधिको प्रक्रिया पुर्याएर जे पनि गर्छ।
निकै साँगुरो भैसक्यो ठिक र बेठिकको दुरी।
मान्छेको जात न हो, लुकाएर जे पनि गर्छ।
२)
क्षितिज र सगरभन्दा निकै पर छ।
भावको सरोवरभन्दा निकै पर छ।
मानव हृदयको जटिल समस्या।
प्रश्न र उत्तरभन्दा निकै पर छ।
३)
म मनको अक्षर हुँ आँखाको पाठक हुँ।
भावको स्वर हुँ रहरको आराधक हुँ।
मनको लयमा मनकै उदगीथ गाउने।
म आफ्नै हृदयको मौन उपासक हुँ।
४)
आफ्नै जीजिविषा विदिर्ण छ अरुको के चासो गर्नु?
सम्पूर्ण कुरा अनित्य छन् यहाँ के दु:ख के हाँसो गर्नु?
अस्तित्व र अधिष्ठान दुबै परजीवी भैदिएपछि।
आफ्नै मन बिरानो हुँदा अरुसित के गुनासो गर्नु?
५)
लेखेर नियतिले जुराएको उपहार हो बाँच्नु पनि।
बेचेर आफैले किनेर आफैले व्यापार हो बाँच्नु पनि!
जेजे तोकिएका छन् भूमिकाहरू हामीले गर्नै पर्छ।
दिएर विधाताले पठाएको कार्यभार हो बाँच्नु पनि।
***
प्रतिक्रिया
-
४
