– लक्ष्मी काफ्ले
१,
सटिफिकेटकै लागि खर्चेको धन कमाउँ कसरी
घर जग्गा हुन लाग्यो लिलाम म थमाउँ कसरी
बुबाआमा मेरै लागि घोटिए सकिन भार थाम्न
न रह्यो खेतबारी कुटो कोदालो समाउँ कसरी
२,
प्रकृति पनि हार खान्छिन् ममता र काखसँग
तुलनायोग्य होला र निस्वार्थ प्रेम खै लाखसँग
सन्तान सुखकैनिम्ति तड्पदै संघर्षको गोरेटोमा
सदा मार्दै मनका कोमल भाव रहर र चाखसँग
३,
मानव मानव बिचमा सद्भाव र प्रेम दिलाउन सकौं
वैमनस्यताले छुटेका हात नववर्षसँगै मिलाउन सकौं
कतै धनकै रास कतै सडकको बास भएको समाजमा
राहतको अनुभव दिएर चर्केका घाउ सिलाउन सकौं
४,
कति चाहना चाहदैमा थुन्न सकिन्न
पुरै नहुने आकांक्षाहरू बुन्न सकिन्न
आफू भलो त जगत भलो सोच्नेले
अपच्य वाणी कहिल्यै सुन्न सकिन्न
५,
प्रलोभनमा तुलो पनि उतै ढल्किदिन्छ
जता दुध बिरालो उतैतिर पल्किदिन्छ
घाउ जहाँ छ त्यहीनै धाप मार्छ दुनियाँ
बिर्सन खोज्यो घाउ झनै बल्किदिन्छ
***
प्रतिक्रिया
-
४
