विसं २०७२ मा नयाँ संविधान जारी भएपछि पहिलोपटक २०७४ सालमा भएको स्थानीयतहको निर्वाचनमा बर्दिवास–७ मा चुनाव लडेर महिला सदस्य जितेकी कलीमायाँ विश्वकर्मालाई पहिले नमस्कार गरेर आफ्नो परिचय दिन पनि लाज लाग्थ्यो । अहिले विश्वकर्मा आफ्नो पदीय दायित्व र अधिकारबारे खरर बोल्नसक्ने भएकी छन् ।

“लहैलहैमा गाउँबस्ती वरपरका छिमेकीले चुनाव लडलड भने, मानेर लडेँ, जितेँ पनि”, पहिलो कार्यकालको अनुभव सुनाउँदै कलीमायाँले भनिन्, “प्रमुख, उपप्रमुख र वडाध्यक्षले जहाँजहाँ सही गर्न भन्नुहुन्थ्यो त्यही गरिन्थ्यो ।”

पहिलो कार्यकालको उत्तर्राद्धमा महिला सशक्तीकरण क्षेत्रमा कार्यरत ‘माण्डवी’ संस्थाले महिला सदस्यको कर्तव्य र अधिकारबारे लगातार सिकाउँदै गएपछि आँखा खुलेको उनको भनाइ छ ।

माण्डवीले नगरसभामा कसरी आफ्ना कुरा राख्ने भन्ने सिकाएपछि आफूसहितका धेरै महिला सदस्यले महिला हकहित र सामाजिक आवश्यकताका विषयमा प्रस्ताव नै लग्ने गरेको कलीमायाँले बताइन् ।

पहिलो कार्यकालको उत्तर्राद्धमा माण्डवीले ‘बुटक्याम्प’ (लक्ष्यसहित सैनिक चालमा हिँड्ने भाव) तालिम दिएपछि जनताबीच कसरी जाने, फेरि कसरी निर्वाचित हुने र जनपक्षीय कामका मुद्दा कसरी उठाउने भन्ने सिकाएका कुरा व्यवहारमा लाँदै गएपछि समाजमा सबैले माया गर्न थालेका कलीमायाँको अनुभव छ ।

“पहिलोचोटी (२०७४) त चुनाव लड्नुपरेको थियो”, कलीमायाँले भनिन्, “यसपालि (२०७९) त सबैले निर्विरोध पो छोडीदिए ।” पछिल्लो कालमा जनतासँग एकाकार हुने कलाले आफू निर्विरोध निर्वाचित भएको कलीमायाँको ठम्याइ छ ।

कलीमायाँजस्तै बर्दिवास–१४ की श्यामकुमारी नेपाली, पिपरा–५ की जितनीदेवी महरा, औरही–२ की सोनावतीदेवी यादव, जलेश्वर–१ की सोगरा खातुन र भङ्गाहा–९ की जुमैदा खातुन पनि यसपालि (२०७९) दोस्रो कार्यकालका लागि निर्वाचित महिला सदस्य छन् ।

आफूहरूलाई हकअधिकार, दायित्व र कर्तव्यबारे माण्डवीले सिकाएको कुराले जनतामा स्थापित हुन सहयोग गरेको भङ्गाहा–७ की महिला सदस्य ललिता चौधरी थारुको ठम्याइ छ । जिल्लामा यसपालि पाँच स्थानीय तह (बर्दिवास, पिपरा, औरही, जलेश्वर र भङ्गाहा) मा २० जना महिला सदस्य दोस्रो कार्यकालका लागि चुनिएका छन् ।

माण्डवीले जिल्लाका पाँच स्थानीयतह बर्दिवास, पिपरा, औरही, जलेश्वर र भङ्गाहालाई कार्यक्षेत्र बनाई निर्वाचित महिला सदस्यलाई नेतृत्व विकासको तालिम दिएर निरन्तर सवल र सशक्त बनाउँदैछ ।

माण्डवीको तालिमपछि महिला सदस्य नगर कार्यपालिकाको काम, सामाजिक छलफल र विकास निर्माणका काममा सक्रिय सहभागिता बढाउँदै लगेका भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहको भनाइ छ ।

“म आफैँ पनि यसपालि दोस्रो कार्यकालका लागि निर्वाचित भएको प्रमुख हुँ”, साहले भने, “महिला सदस्य माण्डवीको तालिम पाएर निकै जानकार हुनुभएको छ ।”

मधेसमा शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनका अवसरबाट वञ्चित रहँदै आएको मुसहर जाति समुदायबाट बर्दिवास–१२ मा महिला सदस्य निर्वाचित रुपोदेवी सादा अहिले आफ्नो बस्ती वरपर शैक्षिक विकासका लागि मरिहत्ते गरेर लागि परेकी छन् ।

“हामी त अन्धकारमा रहेछौँ, माण्डवीले आँखा खोलीदियो”, रुपोदेवी भन्छिन्, “जीवनको पहिलो कुरो त शिक्षा पो रहेछ, यो बुझेपछि मैले आफ्नो समुदाय (जाति, मुसहर) भित्रका नानीहरू आफैँले विद्यालय पु¥याउने गरेकी छु ।” रुपोदेवीको परिचय अचेल बर्दिवास–१२ विजलपुरामा जागरुक महिलामा हुने गरेको वडाध्यक्ष रामकिशोर साह बताउछिन्।

जिल्लाको औरही नगरपालिकाकी कार्यपालिका सदस्य हीराकुमारी महरा प्रखर वक्ताजस्तै बोल्छिन्। माण्डवीले सङ्कोच, डर हटाएर जिम्मेवार हुन सिकाएपछि अहिले योजना कसरी बनाउने ? कस्तो विकास गर्ने ? समुदायमा कसरी बोल्ने ? सभामा कसरी आफ्नो कुरा राख्ने ? लगायतका धेरै कुरा सिकेको हीरा बताउछिन् ।

औरही–८ की वडासदस्य इन्दुदेवी सादा पनि अब हकअधिकारका कुरा गर्न पोख्त भएकी छन। “सरकार, विकास, कानुन, योजना, अधिकारजस्ता धेरै विषयबारे जानकारी पाइएको छ”, इन्दु भन्छिन्, “अब मलाई वडाका समस्या नगर कार्यपालिकासम्म पु¥याउन केहीझैँ लाग्दैन ।”

माण्डवीको सहयोगले आफूसहितका महिला सदस्यमा जीवनबारेको महत्व बल्ल थाहा पाएको इन्दु बताउछिन्। माण्डवीले निर्वाचित महिला जनप्रतिनिधिलाई सवल र सशक्त बनाउन ‘सी लिड्स’ कार्यक्रममार्फत प्रशिक्षित गराउँदैछ । जिल्लाका पाँच स्थानीयतहका एक सय छ महिला सदस्यलाई यस कार्यक्रमअन्तर्गत तालिम दिई सकिएको माण्डवीका कार्यक्रम अधिकृत पियङ्का ठाकुरले जानकारी दिए ।

अहिले पाँच स्थानीयतहमध्ये भङ्गाहाबाहेक अन्य चारमा महिला सदस्यलाई तेस्रो चरणको तालिम दिइसकिएको ठाकुरको भनाइ छ । भङ्गाहामा पनि अब तिहारलगत्तै तेस्रो चरणको तालिम सञ्चालन गरिने माण्डवीको तालिका छ ।

तालिमको अहिलेको तेस्रो मोड्युल (चरण)मा समूहकार्य, बैठकको योजना र व्यवस्थापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली, सञ्जालीकरण, सक्रिय सुनुवाइ, सञ्चारमाध्यमसँग सहकार्य, विकास, समुदाय परिचालन, व्यक्तिगत विकासका लक्ष्यहरू र कार्ययोजनासहितका विषय पर्ने गरेका छन् ।

यसअघि दोस्रो मोड्युलको प्रशिक्षणअन्तर्गत महिला नेतृत्वको परिचय, आत्मविश्वासको अभिवृद्धि, लैङ्गिकता र लैङ्गिक समानतालगायत विषयमा तालिम दिइएको थियो भने प्रथम चरणमा परिचयात्मक विषय समेटिएका थिए ।

पहिलो चरणमा पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्षरउपाध्यक्ष, महिला जनप्रतिनिधिका घरमूलीलगायतसँग अन्तक्र्रिया र प्रशिक्षण कार्यक्रम गरिएको थियो । आइएफएसको प्राविधिक सहयोग र अष्ट्रेलियन एडलगायतका संस्थाको आर्थिक सहयोगमा माण्डवीले यी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जिल्लामा माण्डवीको यो कार्यले महिला सशक्तीकरणमा राम्रो वल प्राप्त भएको यहाँका सामाजिक अभियानीको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर