✍️ रामचन्द्र भट्टराई
मुक्तक – एक
चित्र, विचित्रको छ यो संसार आफैमा धन्य छ
हरेक प्राणीमा जिउने कला, आ(आफ्नै चैतन्य छ
मौका छोप्ने र रङ्ग बदल्नेसँगै सधैं होशियार रहनू
जिन्दगीका हरेक पल, हरेक क्षण खतराजन्य छ ।
मुक्तक – दुई
को खराब हुने थियो र यहाँ ? बैगुन नै हुने थिएन भने
आफैं मानिस बन्थ्यो र कोही ? सुसंस्कार दिइएन भने
विद्वताको ठेलीहरू घोकेर फूर्ती लगाउनु बेकार हुन्छ
म को हुँ ? ममा केके छ ? भन्ने कुरा नै बुझिएन भने ।
मुक्तक – तीन
जिन्दगीका तीता मीठापलहरू साथमै रही भोग गर्छ
प्रतिकूल नै होस् परिस्थिति, जिम्मेवारीलाई ढोग गर्छ
सुखमा नजिकिने, दुःखमा टाढिने भेटिन्छन् कैयौं साथी
असल मित्र उही हो, जो हर परिस्थितिमा सहयोग गर्छ ।
(रामचन्द्र भट्टराईको यी मुक्तकहरूले फोटोमा मुक्तक प्रतियोगिताको १०० औं श्रृङ्खलामा तृतीय स्थान प्राप्त गर्न सफल भएको थियो ।)
प्रतिक्रिया
-
४
