✍️ कृष्ण बाउसे
आज
आफ्नै अनुहारका चाउरीहरूसँग पोको पर्दै
आफ्नो उद्धार आफै गर्नुपरेको छ
वृद्धवृद्धाहरूले ।
आज
आफूलाई सिकारीहरूको दृष्टिबाट जोगाउँदै
आफ्नो रक्षा
आफै गर्नुपरेको छ नानीहरूले, नारीहरूले ।
आफ्ना घरहरूमा
आफै डढेलो लगाउँदै
आङ सेकेर बसिरहेछन् विक्षिप्त युवायुवतीहरू
आज
शरणार्थी भएर
जीवन गुजार्नु पर्ने भएको छ
बाँच्न चाहने बाँकी अरू सबैले ।
धर्म, जाती र राजनीतिको खोल ओढेर
विविध स्वार्थका पुत्लाहरूले चलाएको
नरबलीको दुश्परिणाम भोगिसकेको संसारले
बुझेकै छ
लाखौँको प्राण हरिँदा
के पाउँछ योद्धाले ! के पाउँछ जनताले !
पक्ष–विपक्ष त भन्नु मात्रै हो
विद्रोह वा युद्धका नाउँमा
सबैभन्दा बढी यातना पाउँछ
तेस्रो पक्षले निरीहले/निष्पक्षले।
र दुःखजति भोग्छ
सधै नै साझा धर्तीले , मानवताले ।
त्यसैले
सरम हराएको समय
बेसरमहरूको हातको कठपुतली बनेको यसबेला
कसै न कसैले त
सुबाटो पहिल्याउनु नै छ ।
अरूको मुख ताक्नु साटो
हामी नै किन नगर्ने त्यस्तो काम !
जसले गर्दा
प्रसव पीडाको गुञ्जनसँगै
कुनै पनि आमाले
आइन्दा
मीठा सपनाहरू सजाउन पाउन् ।
जसले गर्दा
झुण्ड–झुण्डका सङ्कुचित स्वार्थहरू
समयको प्राङ्गणमा फणा फिजाउँदै
आइन्दा
त्रासद् नृत्यमा सामेल हुन नपाउन् ।
अनि
जसले गर्दा
हतियारका बेपारीहरूले
बाटो ढुकेर
आइन्दा
सहअस्तित्वको चेतमाथि घातक प्रहार गर्न नपाउन् !
प्रतिक्रिया
-
४
