✍️ कृष्ण बाउसे

 

कालो धुवाँ उडाउँदै
सिंहदरबार छिर्दै छन् मन्त्रीजी ।

फूल र अबिरले भरिएको
प्लास्टिकको झोला वाग्मतीमा सेलाएर
सफाइ दिवसको नेतृत्व गरिरहेकी छन् मन्त्राणी ।

स्वस्थ जीवनका लागि
हिड्न अनिवार्य छ भन्दै
मुखमा चुरोट च्यापेर
चौरमा बाँदर नाच देखाइ रहेछ्न् युवाहरू ।

खैनी र गुट्खा निख्रेका
प्लास्टिकका खोस्टाहरू बालेर
न्यानो तापिरहेछ्न्
वृद्ध बाआमा र अबोध नानीहरू ।

आँखामा यस्तो दृश्य नाचिरहेको बेला
कानमा परिरहेछ वातावरण दिवसको गीत ।

देखेकोलाई पत्याउँ कि
सुनिरहेको गीतका शब्दहरू माथि विश्वास गरुँ म ?

कि बाढीको मौका छोपेर
नदीमा ढल मिसाउनेहरू लाई सम्झेर
आँसु काढ्दै वातावरण दिवस मनाउँ म ?

स्वयम् बलात्कारीहरूले नै
बलात्कारको बिरोधमा जुलुस निकालिरहेको देख्दा
मलाई यसबेला चक्कर आइरहेको छ ।
वातावरण दिवस मनाउँदै गर्दा
मेरो दिमागले यसबेला
प्रदूषणको थप मार खाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर