– भेषराज बुढाथोकी

बाग बजारको होटेल हार्दिकमा एउटा कार्यक्रम थियो । एक जना दाइले मलाई हात समातेर लिएर गए । भख्खर बाजुराबाट काठमाडौं आएको थिएँ। हार्दिक होटेललाई ‘राजनीतिको भान्छाघर’ पनि भन्छन् । त्यहाँ कोही न कोही नेता पक्का भेटिन्छन्  । मलाई लिएर जाने दाइले एक जना नेता भेटाउँदै भने- उहाँ आदरणीय दाइ नरेश रोकाया । हाम्रो विद्यार्थी नेता । हाम्रो जिल्लाबासी ।

कमरेड नरेश रोकाया संगको यो नै पहिलो भेट हो । पहिलो भेटमै उनको संवाद र हाउभाउबाट म प्रभावित भएँ । आज उनको परिचय फेरिएको छ । उनी यो बेला विद्यार्थी नेता होइनन् । उनी अब शक्तिशाली पार्टी एमालेको केन्द्रीय नेता हुन् । उनको बदलीएको परिचय यही हो ।

उनी बाजुराले जन्माएको उदीयमान नेता हुन् । राजधानीबाट निकै दूर सुदुर जन्मेर  केन्द्रीय स्तरमा आफ्नो ‘वैचारिक पकड’ कायम राख्न सफल थोरै नेतामा उनी पर्छन् ।  उनी युवा हुन् । नयाँ हुन् । ऊर्जा हुन् । जोश हुन् । जाँगर हुन् । ईच्छाशक्ति हुन् । उनी आशा हुन् । भरोसा हुन् । विश्वास हुन् । अपेक्षा हुन् ।

 नेताका मुख्य दुईटा गुण हुन्छन् । विचार ,सिद्धान्त , दृष्टिकोण,  नीति ,योजना आदी एउटा ‘क्याटगोरी’ भित्र पर्छन् । अर्को नेतृत्व र संगठन । एउटै नेता भित्र यति धेरै चिज भेटिन गाह्रो छ । नरेश रोकाया अपवाद हुन् । उनमा यो सब गुण छ । जसरी फलफूलमा अम्बा भित्र भिटामिन,  मिनरल्स, कार्बोहाइड्रेट,  प्रोटिन ,आदी सब पाइन्छ । नरेश रोकाया राजनीतिको त्यही रसिलो अम्बा हो- जसलाई नचाखी सुख्खै छैन । बाजुरामा फलेको यही अम्बाले नेपाली राजनीतिलाई ‘रोग मुक्त’ गर्न सक्छ भन्ने हाम्रो अपेक्षा हो ।

आफ्नो जीवनको प्रारम्भिक उमेरबाटै रोकाया ‘अखिल’ लिएर स्कुल स्कुल हिँडे।  अखिल लिएर कलेज कलेज हिँडे । अखिल बोकेर गाउँ गाउँ हिँडे । क्याम्पस जानु , विद्यार्थीका समस्या बुझ्नु , विद्यार्थीका मुद्दा उठाउनु र तीनलाई समाधानको दिसामा लैजानु उनको मूल ध्येय हो । विद्यार्थी हकहित र अधिकार संरक्षणका लागि रोकाया देशभर पुगे । अत्यन्त न्यून क्याम्पस होलान्- जहाँ नरेश नपुगेको होस् । यसर्थ उनी विद्यार्थीको  वास्तविक संरक्षक हुन् । असल्ली अभिभावक हुन् । विद्यार्थीका समस्या घाउ हुन् भने उनी त्यसको मलहम पट्टी हुन् । विद्यार्थी हकहितको ‘सञ्जीवनी बुटी’ हुन् । अभावको औषधि हुन् । विचारको पर्यायवाची हुन् । संघर्षको अर्को नाम हुन् ।

उनले राजनीतिको ‘श्री गणेश’ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट गरेका हुन् । अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिमा हात हालेका उनी अनेरास्ववियुका निवर्तमान महासचिव हुन् । अबको उनको बाटो एमालेको केन्द्रीय राजनीति नै हो ।

विद्यार्थी नेतालाई चिनाउने मुख्य गरी कुनै न कुनै एउटा क्याम्पस हुन्छ । जस्तो नेकपाका नेता राजेन्द्र राईलाई ‘आर आर’ले चिनायो । एमालेका महासचिव शंकर पोखरेललाई ‘त्रिभुवन केन्द्रीय क्याम्पस’ले चिनायो । एमाले नेता पदम गिरीलाई चिनाउने पिएन क्याम्पसहो । त्यस्तै नरेश रोकायालाई चिनाउने पनि पिएन क्याम्पस यानकी पृथ्वीनारायण क्याम्पस पोखरा हो । उनी मूलत: पिएन क्याम्पसका उत्पादन हुन् । पिएन क्याम्पस उनको राजनीतिको ‘आधार ईलाका’ हो । पिएन क्याम्पसपोखरामा पढ्दै ताका उनी पोखरेली नेता स्वर्गीय रविन्द्र अधिकारी, सोमनाथ प्यासी , खगराज अधिकारी , जगत विश्वकर्मा आदिबाट प्रभावित र प्रशिक्षित थिए । पिएन क्याम्पसमा उनको जीवनका  राजनीतिका सुनौला दिनहरू बिते । उनका सजिला दिन , अफ्ठेरा दिन , संघर्षरत दिन ,अभावले भरिएका रात , समस्याले गुज्रिएका रात सबै कुरा पिएन क्याम्पसका भित्ताहरूलाई थाहा छ । वास्तवमा उनको राजनीतिक जीवन संघर्षको एकमात्रै साक्षी पिएन क्याम्पस हो । उनका लागि त्यो क्याम्पस कम , विश्वविद्यालय बढी हो ।

यसै क्रममा पिएन क्याम्पसको राजनीति गर्दागर्दै नेता रोकायालाई तत्कालीन वाइसिएल र अखिल क्रान्तिकारीका केही अपराधिक पृष्ठभूमिका गुण्डाहरूले मरणासन्न हुनेगरी कुटे । सेतीको खोचमा  फाले । त्यसपछि उनलाई  केपी ओलिको नेतृत्वमा हेलिकोप्टरबाट रेस्क्यु गरेर थप उपचारका लागि काठमाडौँ ल्याइयो । उनी बाँचे । र यो उनको दोश्रो जीवन हो ।

अनेरास्ववियुको २२ औँ महाधिवेशनबाट उनी उपमहासचिव निर्वाचित भए । अनि २३ औँ महाधिवेशनबाट शक्तिशाली महासचिवमा प्रशंसायोग्य मत ल्याएर निर्वाचित भए । महासचिव हुँदा उनले आफ्ना विचारहरू , नीतिहरू , कार्यक्रमहरू , सिद्धान्तहरू देशका विभिन्न ठाउँमा अखिलका कलिला युवाहरूलाई प्रशिक्षण दिने काम गरे । अरूलाई प्रशिक्षण दिँदै, आफू थप परिष्कृत हुँदै गरे । जब विद्यार्थी आन्दोलनको मूल नेतृत्व लिने बेला आयो , त्यतीखेर अखिलमा ‘उमेरहद’को बार लाग्यो । यही कारण उनको मनले नचाहँदा नचाहँदै पनि वाध्यात्मक रूपमा उनी अखिलको २४ औँ राष्ट्रिय महाधिवेशनबाट बिदा भए । हरेक पूर्णविरामले नयाँ वाक्यको सुरूवात हुन्छ भने जस्तै राजनीतिको उनको यो अल्पविरामले उनको जीवनको अर्को ढोका खोल्ने सुनिश्चित छ ।

बाजुरा लालीगुराँस फूल्ने जिल्ला हो । लालीगुराँसको रङ्ग रातो हुन्छ । रगतको रङ्ग पनि रातो हुन्छ । र रातो भनेको क्रान्ति हो । यसरी क्रान्तिको रातो रङ्ग आज नरेश रोकायाको अनुहारमा देखिन्छ । पहरामा फुल्ने लालीगुराँसको साहस नरेश रोकायाको हृदयमा छ । चट्टान जस्तै अडान उनको रगतमा छ । संघर्षको पसिना उनको निधारमा छ । विचारको कारखाना उनको मष्तिष्कमा छ । योजनाको पाठशाला उनको दिमागमा छ । सहकार्यको फूल उनको दिलमा फूलेको छ । सद्भावको नजर उनको हेराईमा छ । बाजुरा बनाउने सपना उनको आँखामा छ ।

 नरेश रोकाया जन्मिनु हुँदैन थियो  । किनकी बाजुराका महिलाहरु सुत्केरी हुँदा आज सम्म पनि आकाशमा उडीरहेको जहाज हेर्दै , ऐया भन्न नपाई ज्यान गुमाएका समाचार तपाईंहरूले पक्कै सुन्नु भएको छ। बाजुराका धेरै बच्चा बाटोमै जन्मिन्छन्। फरक यति हो , कोही ज्युँदो घर फर्किन्छन् त कोही आमा संगै घाट जान्छन् , लाश बनेर। नरेश रोकाया बाटोमा जन्मेर,  ज्युँदो घर फर्केका योद्धा हुन ।

मैले माथि भनेँ,  नरेश रोकाया जन्मिनु हुँदैन । ठीक छ जन्मिए पछि ५  बर्ष काट्न हुँदैन थियो किनकी बाजुराका बच्चाहरु अहिले पनि खान नपाएर मरेका छन् । औषधि उपचार नपाएर मरेका छन् । बाजुराको मुक्तिकोटका कुनै आमा छैनन्- जसले कोखको बच्चा नगुमाएको होस् । नरेश रोकायाका ती भाग्यमानी आमा साँच्चै फराकिलो  धरति हुन् ।

खैर ठीक छ ।  ५ बर्ष कटे राम्रै भो ।  १० बर्ष त काट्नै हुँदैन थियो किनकी बाढी , पहिरो , भुकम्प  जस्ता प्राकृतिक प्रकोपको निशानामा बाजुरा रहीरह्यो । यी सबैबाट पनि नरेश बाँचे ।  उनले ती सबै समस्याको पुञ्जलाई हातका पञ्जाले पन्छाएर जीते ।

ठीकै छ नरेश रोकायाले १५  बर्ष पनि कटाए । एमालेको  झण्डा मुनि गोलबन्द भए । बाजुरा त्यस्तो ठाउँ थियो , जहाँ ‘फलानो मान्छे कम्युनिष्ट हो’ भन्ने थाहा पायो कि उसको ज्यान खोलामा , टाउको झोलामा हुन्थ्यो । चुनावमा बाजुराका समाचार सुन्दा तपाईँहरूका कान यसमा अभ्यस्त भइसकेका होलान् । चुनावमा बाजुराबाट केही न केही अप्रिय समाचार आइरहन्छ ।

आफू पढ्दै , विद्यार्थीको माझमा अखिल चिनाउँदै,  नरेश रोकायाले आफ्ना जीवनका सुनौला उमेरहरू , अखिलकै लागि , अनेरास्ववियुकै लागि , एमालेकै लागि  , विद्यार्थी हकहितका लागि त्याग गरे । पटक पटक विपक्षी विद्यार्थी संगठनको तारो बनेका नरेश , पटक पटक मरेर पनि बाँचे। मृत्युलाई एकदमै नजिकबाट नियाले । हामी बाँचेकाहरूलाई यो थाहा छैन कि – मरेर बाँच्नुको प्रशव पीडा कस्तो हुन्छ ? त्यो उनको भुक्त भोगाई हो ।

र आज त्यही पटक पटक मरेर बाँचेको नरेश रोकाया , मर्नै लागेको कम्युनिष्ट आन्दोलन र सास मात्रै बाँकी रहेर लाश बनेको हालको एमालेलाई , पुनर्जागरण गर्ने , प्राण भर्ने बाचा र प्रतिवद्धताका साथ तपाईं हाम्रो बीच ‘केन्द्रीय सदस्य’ को दाबेदार छन् ।

म पूर्व मेची र पश्चिम महाकाली सम्मका तमाम प्रतिनिधिलाई, पार्टीका आम सदस्य ज्यूहरूलाई अहिले यति मात्रै भन्छु-

केन्द्रीय सदस्यमा तपाईंको एक भोट , क. नरेश रोकायालाई है । यो भोट खेर जाने छैन। बरू तपाईं हाम्रो पुस्ताको एउटा निडर नेतृत्व स्थापीत हुनेमा कुनै शंका छैन ।

 कुरा यतिमा मात्रै टुङ्गीदैन- नरेश रोकायाको जीतले , बाजुरा जस्तो पिछडीएको भुगोलले शक्तिशाली पार्टी , गौरवशाली पार्टी एमालेको बाघ जस्तो संगठनको नेता पाउने छ । भोलिका दिन नेपाल देशको नेतृत्व गर्ने सुअवसर बाजुराले पाउन सक्छ ।

त्यसैले मेरो व्यक्तिगत तर्फबाट मैले के चिज हार्दा नरेश रोकायाले एमालेको केन्द्रीय सदस्य जीत्छन्  , म त्यो चिज हाँसी हाँसी हार्न तयार छु ।

त्यसैले फेरि एक पटक भन्छु …

विचारले प्रष्ट,  सिद्धान्तले भरिपूर्ण,  योजनाले अब्बल,  नीति र नेतृत्वका पहरेदार, जोश जाँगर र ईच्छाशक्तीको केन्द्र,  नरेश रोकाया एमाले केन्द्रीय सदस्यमा विकल्प होइनन् । अनिवार्य हुन् । अपरिहार्य हुन् । उनलाई आगामी  राजनीतिक जीवनको धेरै धेरै शुभकामना !

( लेखक चिकित्साशास्त्रका विद्यार्थी हुन् । साहित्यमा रूचि राख्ने उनी कविता, गजल, संस्मरण र कथा लेख्छन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर