काठमाडौँ – नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान २०७८ सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित सो अभियानको कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले उद्घाटन गरे ।
उपसभापति सिंहले संविधान जारी र त्यसको कार्यान्वयन, भौतिक पूर्वाधारको विकासलगायत कांग्रेसले गरेका कामलाई जनतामा पु¥याउँदै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए। उनले भने, “यसअघिको दुईतिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेको छैन, त्यस विषयलाई जनतालाई बुझाउँदै अब कांग्रेसको पक्षमा मत सिर्जना गर्नुपर्छ ।”
उनले स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा गठबन्धन हुने प्रस्ट पारे। कांग्रेसका नेता डा प्रकाशशरण महतले शान्ति प्रक्रियामा कांग्रेसले खेलेको भूमिका, भ्रष्टाचार अन्त्य, कोरोना खोपको सुलभ उपलब्धतालगायत कांग्रेसले देश निर्माणमा खेलेको भूमिका जनतालाई बुझाउनुपर्छ भने।
उनले पार्टीभित्र भएका गुटउपगुट र असन्तुष्टिलाई त्यागेर व्यक्तिवादीभन्दा पनि संस्थागतरूपमा निर्वाचनमा लाग्न अपिल गरे ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आर्थिक, सामाजिक, शैक्षिकलगायत सबै क्षेत्रको विकाससँगै विकसित मुलुकको रूपमा देशलाई अगाडि बढाउनका निम्ति पनि आगामी निर्वाचनमा कांग्रेसले जित्नुपर्नेमा जोड दिए।
नेता भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र जुन व्यक्तिले टिकट पाए पनि सहयोग गर्दै सिङ्गो पार्टीलाई जिताउने गरी अगाडि बढ्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
प्रतिक्रिया
-
४
