विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ ।
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्राउ गर्दै आए पनि ठगीको क्रम नरोकिएको विभिन्न घटनाले पुष्टि गरेको छ । पोर्चुगल पठाइदिने नाममा रु २७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीबाट चार व्यक्ति ठगिएका छन् ।
झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले यसरी विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
घिमिरेले उमेश अधिकारीसमेत गरी चार जनालाई वर्किङ भिषामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । आचायले पोर्चुगल जान रु १२ लाख लाग्ने बताएर ठगी गरेकोे खुलेको छ ।
यसरी पोर्चुगल गएपछि मासिक रु एक लाख कमाइ हुने भनी प्रलोभनमा पारी पटकपटक गरेर पीडितबाट रु २७ लाख असुलेको खुलेको छ । आचार्यलाई थप कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा बुझाइएको छ ।
प्रहरीले बैंकिङ कसुर गरेको आरोपमा नुवाकोटको ओखरपौवा घर भइ काठमाडौँको तारकेश्वर बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई पनि बालाजुबाट पक्राउ गरेको छ । उनीमाथि रु चार लाख ५० हजार बिगो बराबरको बैंकिङ कसुर गरेको आरोप छ ।
प्रतिक्रिया
-
४
