सामदायिक विद्युतको लापरवाहीका कारण जोखिम मोल्नु परेको स्थानीयले गुनासो गरेका छन् । काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका १, सानो बाङ्थलीमा अव्यवस्थित बिजुलीको तार र जिर्ण अवस्थाका विद्युतका पोलका कारण दैनिक जीवन जोखिमपूर्ण रहेको स्थानीयले गुनासो गरेका हुन् ।
दैनिक जीवनयापन गर्न सजिलो होला भनेर आशा गरिएको बिजुलीका कारण ज्यान जोखिममा परेपछि बाङ्थलीका स्थानीयले चौरीदेउराली गाउँपालिकका अध्यक्ष रेणुका चौलागाईं बाङ्थली वडा नं। १ का अध्यक्ष शुनिल लामा र सामुदायिक विद्युतका अध्यक्ष कान्छा लामालाई सो विषयमा ध्यानाकर्षणसमेत गराएका छन् ।
अव्यवस्थित बिजुलीको तार र जिर्ण अवस्थाका विद्युतका पोल नफेरेका कारण स्थानीयको बाङथलीका धन बहादुर घिसिङ र उनको बाख्राको मृत्यु भएको स्थानीय माइला लामाले बताए । स्थानीयको ज्यानै जानेसम्मका घटना हुँदा पनि गाउँपालिका अध्यक्ष र सरोकारवालाले चासो नदिएको उनको गुनासो छ । उनी भन्छन्, “सामुदायिक विद्युतको लापरवाहीका कारण कहाँ कतिबेला कसको ज्यान जाने हो थाहा छैन ।”
समस्याबारे सामुदायिक विद्युतका अध्यक्ष लामा शहरमै बस्ने र गाउँका समस्याप्रति उदासिनता देखाएको स्थानीयको आरोप छ ।
२०६७ सालदेखि सामुदायिक विद्युत सञ्चालनमा आए पनि राम्रोसँग बत्ती बाल्न नपाएको बरु ज्यानलाई जोखिम भएको स्थानीय माइला लामाले गुनासो गरे । उनी भन्छन् “विद्यतुका तारहरू पुरै लत्रिएर काठका सबै पोलहरू जिर्ण भइसकेका छन् । सामुदायिक विद्युतको अध्यक्ष सहरमा बस्छ्न् । स्थापनाकालदेखि एउटै अध्यक्ष छन् । तर, न गाउँमा आउँछन् न गाउँको समस्याबारे चासो राख्छन् ।”
जनताले विद्युतको शुल्क तिरे पनि अध्यक्षले ऋण मात्रै देखाउने गरेको उनको आरोप छ । उनी भन्छन्, “ विद्युतलाई ५÷७ लाख ऋण छ भन्छ्न, हामीले विद्युत शुल्क तिरकै छौँ । जनताले बुझाएको पैसा जति समितिको खातामा राखेर चलाउँछन् अनि जनतालाई ऋण मात्र छ भन्छन् । गाउँमा आएर हर हिसाब देखाउ भन्दा आउदैन्न।”
बाङ्थलीका स्थानीय घाँस दाउरा गर्न जाँदा पनि ज्यान जोखिममा राखेर हिड्नु परेको उनको गुनसो छ ।
प्रतिक्रिया
-
४
