
– किरण पन्थी
१,
जिन्दगी उपत्यका झैँ अग्ला पहाडले घेरिएकाे छ
दुनियाँ भन्छन् आहा क्या सुखमा जिएकाे छ
आँधीहुरी खडेरी झरी आइरहन्छन् घरि घरि
र पनि सतिसाल झैँ जिन्दगी उभिएकाे छ
आमा भन्नुहुन्छ धैर्यता राख, समय आउँछ
बिषालु सर्पकाे पनि त काँचुली फेरिएकाे छ
अनुभव न हाे सुख, दु:खमा पेलिनु पनि
हेर्नुहाेस् त चुराेट धुँवा भएर सकिएकाे छ
सांसरिक दुनियाँमा जति भुल या विश्व डुल
आखिर जिन्दगी मनकै भावनामा जेलिएकाे छ
२,
संसार चलेकाे छ नारीकै भरमा यहाँ
मान्छेको श्रृष्टि गर्छिन् हर प्रहरमा यहाँ
बलिया मुटु जन्माउने उनै नारी हुन्
तर बाँच्नुपर्छ सबैकाे डरमा यहाँ
श्रमकी शक्ति हुन् सिँगाे सुर्य हुन् नारी
उनीबिना अन्धकार छाउँछ हर घरमा यहाँ
नारी शाेषणकाे पर्दा हटाउनुपर्छ अब
जग नारी हुन् घर राज्य सत्ता हरमा यहाँ
***
प्रतिक्रिया
-
४