– लिली अधिकारी

उ बेला बारीमा ललहाइरहेको
सागको पोटिलो बैँस कुटेर
बगाउँदै उसको हरियो आँसु
पुरेर कुरुप खाल्डोमा लासजस्तै
मख्ख  पर्नुहुन्थ्यो आमा
र हिउँदको घाममा जब निकाल्नुहुन्थ्यो गुन्द्रुक
नैतिकताले डामेर बिरुपिएको
छोरीको अस्तित्वजस्तै त्यसको खुम्चिएको जिन्दगी

पकाउन थाल्नुहुन्थ्यो आमा
खुसी खुसी आफ्नो परिश्रमको स्वाद
बहिनी भन्थी- वाह!
म चाहिँ खुम्च्याउँथेँ नाक
र रिसाइदिन्थेँ आफू देखेर गुन्द्रुकमा
अचम्म लाग्थ्यो- आमाको ममत्व हो कि
हो मेरो व्यक्तित्वको निर्देशित रचना !

जब
आफ्नै थाप्लामाथि बस्यो जिम्मेवारीको नाम्लो
तब पेटको सारङ्गी,
बैंकको खाली खाता
र सुत्केरी भान्सा
सबै सबै देखेँ अन्तर्मनले
अनि पो बोध भयो बल्ल
पुरिनुपर्दो रहेछ कति खाल्डाहरूमा
र हेर्नुपर्दो रहेछ ऐनामा
आफैँले आफैँलाई नचिन्ने अनुहार
कुरुपताभित्रै त लुकेको हुँदो रहेछ
सङ्घर्षको सुन्दरता
र पो हुने रहेछ अनुभव  दु:खको सारथि

आमा!
मलाई पनि गुन्द्रुक मन पर्छ अचेल
मन पर्छ समयले कुच्रुक्क पारेका मुहार
र दु:खका तुसारोले ढाकिएका आत्मीय मन
अझै मन पर्छ
गुन्द्रुकजस्तै अमिला पसिना बगाउने
र हृदयमा जमेको
अथाह पीडाको धून सुसेलिरहने
तिम्रो जस्तै सुस्केराका समस्त स्वरहरू

***

प्रतिक्रिया

सम्बन्धित खवर