✍️ गिरिजा गैह्रे
गजल – एक
यात्रा गर्नुपर्ने हो खासमा मनतिरको
मान्छे गर्दैछ यात्रा बाधा अड्चन तिरको
भोको पेट देखाएर अन्न लैजाने छिमेकी
आज खोस्रिदैछ माटो मेरै आँगनतिरको
लेख्न छाडेर विवाद गर्छन् लेख्छु भन्नेहरू
भो नसोध खबर मलाई लेखनतिरको
शान्त रहन सके बल्नेछ मुहारमा दिप
ए सुन्दरी ज्यादा चाहा नगर्नु पहिरनतिरको
बुझ्नै सकेको छैन किन बोल्दै नबोली गयो
भेट्न त ! भेटिएथ्यो साथी आज वचपनतिरको
दुखी भएपनि देशमै छन् कम्तिमा मुनाहरु
को सोचोस् के बित्दो छ यता मदनतिरको
गजल – दुई
औँला उठाउनु भयो ठीक छ, उठाउन पाउनु पर्छ
अब मैले पनि मेरो जवाफ फर्काउन पाउनु पर्छ
यि साझा बर पिपल हुन् सदियौँदेखी बसेका
चाहेमा जो सुकैले यहाँ सुस्ताउन पाउनु पर्छ
जानुस् छाडेर जानुस्, मिलेमा भेट होला कुनै दिन
कसैलाई अटाउन कसैलाई हटाउन पाउनु पर्छ
रिसाएर फाइदा के हुन्छ सोच्नुस रिसाउनु अघि
तर अधिकार छ हजुरको, हजुर रिसाउन पाउनु पर्छ
हटाउनुस परदेश जादैमा देश बिर्सिए भन्ने भ्रम
कयौँ भोका पेटहरु छन् जसले अघाउन पाउनु पर्छ
प्रतिक्रिया
-
४
