– नारायण तिवारी
—“डाक्टरलाई देखाउनु पर्दैन त ?” म मामाको पीडामा सारै उद्वेलित बनेँ । मेरो सवालको जबाफमा मामामाइजूका आँखा एकआपसमा जुधे । दुवैतिरका आँखा रसिला हुँदै गरेका समेत मैले अनुभूत गरेँ । मानौँ मेरो ‘डाक्टरलाई देखाउनु पर्दैन त’ सवालले सुइरोको भाँति घोचेर छियाछिया पारेको छ उहाँहरूको मुटु । ‘डाक्टरलाई देखाउनुपर्छ’ भन्ने ज्ञान नभएको होइन, तर त्यहाँ पूरक प्रश्न समुद्रको छालभाँति उठ्न व्यग्र बनिरहेकोलाई मैले त्यस क्षण बुझ्न सकिनँ ।
—“मामा ! तपाईंं यसरी थला पर्नुभएको कति भयो ?” म मामाका आँखामा आफ्ना आँखा गाड्छु ।
—“छ महिनाजति भयो होला बाबू !” मामाका बदला माइजू बोल्नुहुन्छ ।
—“अनि छ महिनादेखि… !” म वाक्य पूरा गर्दिनँ ।
मलाई झ्वाँक पनि उठिरहेको हुन्छ— अनि छ महिनादेखि थला परेको मान्छेलाई डाक्टरलाई नदेखाएर मार्ने विचार छ कि क्या हो तपाईंंको ? तर स्वर बाहिर फुट्दैन ।
माइजूका आँखामा आँखा गाड्छु— अहँ ! कुनै कठोरता छैन, कुनै अहम् छैन, कुनै बेवास्ता झल्किएको छैन । बरु छ त मलिनता अनुहारमा, असमर्थता हाउभाउमा, विवशता आँखामा… ।
म केही पनि बुझ्दिनँ । कतैकतै स्वास्नीमान्छेले लोग्ने मारेको पनि सुनेको छु । म माइजूलाई आफ्ना तिनै आँखाले खोतल्न चाहन्छु ।
माइजू एक्कासि रुन थाल्नुहुन्छ— घुँक्कघुँक्क… । मानौँ मसित याचना गरिरहनुभएको होस्— भानिजबाबू ! मेरो लोग्नेलाई बचाइदिनुहोस्, भानिजबाबू ! म उहाँबेगर एक क्षण पनि बाँच्न सक्दिनँ ।
तर म भने माइजूका आँसुमा कुनै बनावटीपन त छैन, अझै खोतल्न खोज्दै छु ।
राम्ररी नियाल्छु माइजूलाई तलदेखि माथिसम्म ! खुट्टा, फोहोर फुटेका कुर्कुच्चा प्रस्टै देख्छु । मैलो साडी फुटपाथमा पाइने सस्तो, घटिया किसिमको । चोलो उध्रिएको पुरानो चहक एकदमै नभएको । आँखा धसेका, दाँत उछिट्टिएको । कालो एकदमै कालो अनुहार कान्तिहीन । फुङ्ग उडेको कपाल मैलो, घिनलाग्दोÓ । मेरो मुख अमिलो हुन्छ । वाकवाकी आउन खोज्छ मलाई ।
माइजू पहिले यस्ती थिइनन् । मामाको बिहेमा म पनि जन्ती गएको सम्झिन्छु । त्यति बेला म आठ–दस वर्षको हुँदो हुँ ।
सबैले माइजूको खूब प्रशंसा गरेका थिए ।
—कालीकाली भए पनि हिस्सी परेकी ।
—जीउ पनि कत्ति मिलेको ।
—दाँतहरू उस्तै अनारका दानाजस्ता, कति सुहाएको ।
—कति लामो कपाल !
बाले पनि टिप्पणी गर्नुभएको थियो, “अनुहार न दनुवारका यी हाम्रा जेठानलाई चैँ एकदमै सुहाएन है हाम्री बेहुली दिदी !”
सबै हाँसेका थिए । मामाले नक्कली रिस प्रकट गर्दै बालाई खाउँला झैँ गरी हेर्नुभएको थियो र मनैमन खुसी पनि हुनुभएको थियो ।
—“तपाईंंलाई सय खुन माफ ज्वाइँ ।” यस्तो भन्दै उहाँ हाँस्नु पनि भएको थियो ।
सय खुन माफी दिने कारण के पनि थियो भने यति राम्री दुलही खोजिदिने र जोडा मिलाइदिने प्रमुख व्यक्ति मेरा बा नै हुनुहुन्थ्यो ।
मेरा स्मृतिमा अरू पनि कतिपय घटनाहरू चलचित्रभाँति आउँदै–जाँदै गर्न थाल्दछन् ।
मेरो भाइ ४–५ वर्षको हुँदो हो, एउटा सन्ठीको लट्ठी लिएर यिनै मामा–माइजूको घरलाई ‘यो घल् भक्काइदिन्छु— यो घल् भक्काइदिन्छु’ भन्दै सन्ठीको लाठीले बारम्बार हान्दै छ । माइजू भित्रबाट निस्कनुहुन्छ, “हे बाबा ! यो हाम्लो घल् भत्काइदियौ भने हामी काँ बछ्ने ?” यसो भन्दै भाइलाई बोक्नुहुन्छ, म्वाइँ खानुहुन्छ । भाइनजिकै चुपचाप उभिएको मलाई पनि एक हातले तान्दै लिएर भित्र जानुहुन्छ । भित्र लगेर चिनी–चिउरा, केरा खान दिनुहुन्छ । हामी खूब खुसी हुँदै खान्छौँ ।
त्यसपछि त मेरो भाइलाई जहिले भोक लाग्छ, हातमा सन्ठीको लट्ठी लिएर मामा–माइजूको घर भत्काउन पुगिहाल्थ्यो । म पनि मौका हेरेर भाइको पछि लागिहाल्थेँ ।
माइजू कहिल्यै रिसाउनुहुन्थेन ।
“मेरो घरचैँ नभत्काइदेऊ है” भन्दै हात जोडेर चिनी–चिउरा ख्वाइहाल्नुहुन्थ्यो माइजूले हामी दुवैलाई ।
झसङ्ग हुन्छु ।
कसैले कहिल्यै कुनै खोट लगाएनन् यी हाम्री माइजूलाई । सबैले सधैँ प्रशंसा गरे ।
यस बेला म पग्लिन्छु । माइजूको अनुहार पुनः ध्यान दिएर सम्झिन्छु— अहँ ! कुनै छलकपट छैन, प्रपञ्च हैन । निस्कपट, दयनीय र करुण लाग्छ मलाई माइजूको यस बेलाको अनुहार !
यस बेलासम्ममा माइजूले चिया बनाएर ल्याइसक्नुभएको छ ।
कालो चिया म दूध हालेकै सम्झेर पिउँछु ।
चिनी नाम मात्रको भएकोलाई पनि म गुलियो मानेर पिउँछु ।
चियाको रित्तो गिलास माइजूको हातमा राखिदिँदा उहाँका हाततिर ध्यान जान्छ मेरो— बुच्चा हात !
यसो नाक, कानतिर विचार गर्छु— सबै बुच्चा–बुच्चा !
—माइजू, खोइ तपाईंंको त्यति राम्रो नाकको फूली ?
—माइजू, खोइ तपाईंंका कानका झुम्का ?
—माइजू, खोइ तपाईंंको या बडेमानको तिलहरी ?
—माइजू, खोइ तपाईंंका हातमा त्यति राम्ररी सुहाएका काँचका राता–हरिया चुरीहरू ?
धेरै प्रश्नहरू हृदयमा उब्जिन्छन्, तर ओठसम्म आइपुग्दैनन्, विलीन हुन्छन्, हराउँछन् ।
मामामाइजूले त्यो गाउँ छाड्नुभएको छैन । आफ्नो गाउँ, प्यारो गाउँ ! हामीले भने धेरै अघि छाडेर सहर बस्न थालिसकेका थियौँ ।
—‘मामा–मामा ! सहर जाऊँ न उपचार गराउन’, म भन्न सक्दिनँ ।
—‘तपाईंंका निम्ति म त्यति पनि गर्न नसकुँला त ? म भानिज भएको के काम !’ अहँ, म यसो पनि भन्न सक्दिनँ ।
अनायासै मेरो हात आफ्नो गोजीतिर जान्छ । दायाँपट्टि पाइन्टको गोजीमा हिजो मात्र थापेको तलब छ— करिब पच्चीस सय रुपियाँ ।
—‘यतिले त तपाईंंको उपचार हुन सक्ला नि मामा !’ तर अहँ, भित्र उठेका यी भावहरूलाई म पुनः किच्छु र रुपियाँ जोडले अँठ्याउँछु ।
मेरी श्रीमती दूधको पैसा तिर्नुपर्ने भन्दै पर्खिरहेकी छे । मेरा केटाकेटी स्कुलको फिस भन्दै हात थापिरहेका छन् । महिनाभरिको ‘किनमेल’ ले समेत मुख ‘आँ’ गरेर मेरै बाटो ढुकिरहेको छ ।
यो पच्चीस सयलाई पनि केही भइदियो भनेँ? म जुरुक्क उठ्छु ।
—“मामा म अब लाग्छु त !” उहाँ बोल्न सक्नुहुन्न । आँखा उस्तै रसिला छन् ।
माइजू छक्क परेर मुखमा हेर्नुहुन्छ— मानौँ एउटा आशाको त्यान्द्रो थियो त्यो पनि चुँडियो ।
—‘भानिज ! मामालाई पनि साथमा लगेर डाक्टरलाई देखाइदिनुहुन्छ कि ?’ माइजूको मुखबाट यो वाक्य नफुत्कियोस् भन्ने त्रास बोकेर म हुइँकिन्छु । पछाडि नफर्की एकतमासले मानौँ कुद्दै छु, भाग्दै छु… ।
***
प्रतिक्रिया
-
४
