– बिमला दाहाल
भीडले भरिएको संसारको बीचमा
म कतै हराएकी छु,
आवाजहरू चारैतिर गुन्जिरहेछन्,
तर मेरो मनभित्र
मौनताको एउटा अँध्यारो गुफा छ।
कहिलेकाहीँ
आफ्नै छायाले पनि साथ छोडे जस्तो लाग्छ,
आफ्नै सासले पनि धोका दिए जस्तो आभास हुन्छ
मनको पीडा बुझ्न नसके जस्तो।
साँझ जब आकाश थाकेर रात बन्छ,
त्यही बेला मेरो मनले
एक्लोपनको भारी ओढ्छ
जसलाई कसैले देख्दैन,
कसैले बुझ्दैन ।
यो एक्लोपन
केवल एक्लै बस्नु मात्र होइन,
यो त त्यो घाउ हो
जसलाई शब्दले छुन सक्दैन ,
र आँसुले पनि पूरा पोख्न सक्दैन ।
कहिलेकाहीँ लाग्छ
म आफैं भित्र
एक सुनसान सहर बोकिरहेकी छु,
जहाँ यादहरूका घर छ
बिगतले कोतरेर रगताम्मे बनाएको ।
सपनाको भारी बोकेर बसेको छ
एउटा चल्लो
त्यो सपना सम्म पुग्ने पैतालाको
ताल बन्नु छ ।
तर
यो एक्लो र थाकेको बुढो र जीर्ण शरीरले
कसरि पुरा गर्छ त्यो सपना? ? ?
प्रतिक्रिया
-
४
