– बाबु त्रिपाठी

कतै जम्काभेट भइहाल्यो भने सडकमा
बैसाखी टेकेकाहरु
ऊ डराउँछ

रातोसँग खेल्ने मान्छे ऊ
सेता सारी लगाएका
आमा, दिदीबहिनी र भाउजूहरु देख्दा डराउँछ

टुहुराहरुको
छेउछाउ पर्न चाहन्नँ,
डराउँछ

स्कुल गइरहेका नानीसँग डराउँछ
स्कुलमा पढाइरहेको मास्टरसँग डराउँछ
वास्तवमा ऊ अक्षरसँग डराउँछ

बालक मन पर्दैन उसलाई
वास्तवमा ऊ उज्यालोसँग डराउँछ

–पब्जी खेलिरहेका युवा
–मेहन्दी लगाइरहेकी युवती
–हलो जोत्दै गरेको किसान
–भारी बोक्दै गरेको भरिया
–बालुवा चालिरहेको मजदुर
–साग बोकेर हिँडेको ठेला
यी सब–सबसँग डराउँछ

सिंहदरबार र बालुवाटारबाहेक
ऊ अरु सब ठाउँलाई असुरक्षित मान्छ

बलात्कृतहरुको चिच्चाहट नसुन्ने ऊ
आफू चढेको मोटरले
साइरन बजाउन छाड्यो कि डराउँछ

नारा, जुलुस, अनशन, र्‍याली
पसिना, भोक र तीर्खासँग डराउँछ
माइतीघर मण्डलासँग डराउँछ

अचेल ऊ ऐना हेर्दैन
ऊ ऐनासँग डराउँछ

भट्टीमा उठेका
मसिना आवाजसँग डराउँछ

न्यायालयको ढोका
खुल्यो कि डराउँछ

डरैडरले अचेल
दौरा, सुरूवाल लाउन थालेको छ

डर यति भयानक छ उसका लागि
डर यति खतरा छ उसका लागि
ऊ आफ्नै छायाँसँग डराउँछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर