– सरस्वती सरस
फ्रेब्रुअरिको प्रेमिल हावाले
बोकेर ल्याएको छ प्रेमको सुगन्ध
बजारमा सजिएका छन् राता गुलाब र प्रेमिल उपहारहरू
तर मेरा लागि
तिमी कुनै एउटा विशेष दिनको पाहुना होइनौ
तिमी त मेरो जीवनको
हरेक साधारण दिनको असाधारण अर्थ हौ
तिमीसँगको निकटताले
मेटाइदिन्छ दिनभरको थकान
तिमीले हेर्ने भरोसाको नजरले
पटक पटक उठ्न सिकाउँछ हारको मैदानबाट
तिम्रो सहयोगको निरन्तरताले
मलाई सघाइरहेको छ प्रगति पथमा लम्कन
तिमीले थपिरहने विश्वासको तलाले
म सक्ने छु सफलताको शिखर चुम्न
प्रेम केवल भावना मात्र होइन रहेछ
होइन रहेछ मात्र मन आनन्दित बनाउने खेल
यो त जीवन अर्थपूर्ण बनाउने
एउटा सुन्दर दृष्टिकोण रहेछ
रहेछ – लड्दा उठाउने हिम्मतरूपी डोरी
रहेछ – थकान मेटाउने आराम गर्ने घडेरी
प्रिय मान्छे !
म त केवल यति चाहन्छु
भीडभाडयुक्त यो संसारमा
हामी एकअर्काको शान्त कुना बनौँ
एकअर्काको हात समातेर हिँड्दा
महसुस गर्न सकौँ न्यानोपन
मेरो जीवनको सबैभन्दा ठूलो
सत्य – शब्द तिमी बन्नू
तिम्रो जीवनको
सत्य – अर्थ म बन्ने छु
मेरो हृदयको कुनामा
प्रेमको मसीले लेखिएको तिम्रो नाम होओस्
तिम्रो हृदयको कुनामा पनि मेरै नाम होओस् / होओस् मेरै नाम
प्रिय, तिमीलाई प्रेम दिवसको प्रेमिल शुभकामना !
***
प्रतिक्रिया
-
४
