– अमित घिमिरे 

रातो गुलाफले मलाई भन्यो–
‘मेरो अन्त्यको दिन आयो
मायाका नाममा’ ।

00

फेरि उसले रुमानी हुँदै भन्यो–
‘ए ! कवि, ए ! चित्रकार
तँ किन बोल्दैनस् ?
के तलाई मेरो दर्द र प्रेम दुख्दैन’ ?

00

मैले निवेदन गरें–
‘मेरो प्रिय रातो गुलाफ
म कसोरी भनुँ
प्रेम वधशाला हो’’ ।

00

शायद मेरो शब्दचयन कटु थियो,
पत्रपत्रबाट आँसु तुप्क्याउँदै उसले भन्यो–
‘तिम्रो कविता जस्तै मिलेन जीवन
चोट नविक्ने बजार भन्थ्यौ तिमी
तर म यहाँ धूजाधूजा भएको देख्ने को’ ?

00

मैले विनय गरें, रातो गुलावलाई
‘म संवेदना हराएको मान्छे
वध, वली र हिंसामा प्रेम साट्ने मान्छे

तिमी विषाक्त काँढा बीच फुल्ने फूल
कसोरी हुन सक्छ तुलना
विवेकले प्रेम जन्माउँछ
र प्रेमले विवेकलाई चपाउँछ
तिमी त च्यातिन्छौ मात्र
हेर त पलपलहरपल
म मरेर बाँचेको’ ।

00

द्रवित हुँदै गुलाफले भन्यो–
‘म फुल्नुको नियति
म सुकोमल हुनुको भाग्य
तिमी त मान्छे यति कमजोर किन’ ?

00

‘ठीक भन्यौ
मेरो प्रिय गुलाफ
कुनै दिन मैले पनि
प्रेमका नाममा तिम्रो वध गरेको थिएँ
त्यसपछि म प्रेमी भएँ
अनि कवि भएँ, चित्रकार र
अहिले पागल’ ।

00

‘अहँ
ग्लानीले ग्रस्त तिमी हुन पाउन्नौं
जवाफ देऊ
मलाई बली चढाउँदा कतै अहा, उफ् भएन’ ?
रातो गुलाव गुलाफी भयो ।

00

‘भएँ नि
त्यही अहा, उफ् त अहिले बाँचेको छु’
खै कति खेर वगिसकेको हुन्छु म
छातीमाथि आँसु खसिसक्छ ।

00

‘निर्मोही मान्छे
पत्थरको मुटु बोकेर सास नफेर
र स्वाङ्ग नरच’
अनि गुलाफ रंगहीन भयो ।

00

‘भो ! भो ! भो ! प्रिय गुलाफ
अब फूल चुँढेर हैन
फूल रोपेर म प्रेम गर्ने छु
हरेक भ्यालेन्टाइनमा
हरेक आरधनामा
हरेक पूजा र प्रेममा
तिमी निर्धक्क फुल
म राहतको सास लिन्छु’ ।

***

कविता – स्पर्श
– मनोज लोहार

केही यात्रा थिए
जो बाटोमै छुटि गए ।

केही सम्झना थिए
बिर्सनेहरूले बोकेरै बेपत्ता भए ।

केही सम्बोधनहरू थिए
सम्बन्धको डायरीमै च्यापिए ।

र पनि ,
बाटोमा भेटिने मानिसहरूसँग मुस्कुराउन सिकेँ
बाटोमै अलपत्र छाडिएका फूलहरू उठाउन सिकेँ

तिमीले नछोई दिएको भए जीवन यति सुन्दर हुने नै थिएन…

***

प्रतिक्रिया

सम्बन्धित खवर