– दिक्षान्त अग्निभोर
।।एक।।
तेह्र बर्षको उमेरमा पबित्राको विहे भयो । उसको लोग्ने रामशरणको उमेर त्यतिखेर तीसको वरपर थियो । बूढाबूढीको उमेरमा दिन र रात जत्तिकै अन्तर थियो । रामशरणलाई पबित्राले पहिलो चोटी देखेपछि यस्तो बूढो मान्छे सँग त विहे गर्दिन भनेर तर्केकी थिई । तर, बाआमाले कर गरेपछि अन्तमा विहे गर्न राजी भई । त्यसताक आफूले रोजेको भन्दा बाआमाले खोजेको सँग विहे गर्ने चलन थियो । पबित्राले पनि त्यही चलन पछ्याई । ऊ सँग अर्को बिकल्प उपलब्ध थिएन । मनले नमाने पनि उसले रामशरणसँग विहे गरी ।
रामशरणको यो पहिलो विहे होइन । यस अघि पनि उसको विहे भइसकेको थियो । पहिली श्रीमती सेती परलोक भएपछि उसले पबित्रासँग दोस्रो विहे गर्यो । तर यो कुरा पबित्राले विहे पछि मात्र थाहा पाई । कहिलेकाहीँ रामशरण पहिली श्रीमती सेतीलाई सम्झन्थ्यो । पबित्रा पनि सेतीको बारेमा अनेक सवाल गर्थी ।
“दिदी कस्ती हुनुहुन्थ्यो ?”
“असाध्यै राम्री थिइन् नि !” रामशरण सेतीको रुपको बयान गरेर कहिल्यै थाक्दैनथ्यो ।
“म भन्दा राम्री हुनुहुन्थ्यो ?” अनुहारमा इर्स्या मिश्रित भाव ल्याएर पबित्रा अझै सोध्थी । सोध्थी पनि के भन्नु इर्स्या पोख्थी ।
“तिमी भन्दा त कति राम्री राम्री नि !” रामशरण जानी जानी आगोमा घिऊ थप्थ्यो । रामशरण जिस्केको पबित्रा बुझ्दिनथी वा बुझेर पनि नबुझे झैँ गर्थी । ऊ ठुस्किन्थी । र तुरुन्तै रिसाएको स्वरमा घुर्की लगाउँथी, “मसँग किन विहे गरेको त ?”
“जिस्केको क्या लाटी !” रामशरण फकाउँदै भन्थ्यो, “तिम्रो दिदी भन्दा त तिमी नै राम्री छौ ।”
जब रामशरणले सेतीको मृत्युबारे कुरा झिक्थ्यो त्यतिखेर भने पबित्रा भित्रको इर्स्याभाव कता हो कता हराउँथ्यो र सट्टामा करुणा भाव पलाउँथ्यो । छिनमै उसको अनुहारको भावभंगिमा फेरिन्थ्यो ।
सेतीको मृत्यु अचानक सँग भएको थियो । कुनै दुकबिमार बिना । एका बिहानै च्याऊ खोज्न जंगल पसेकी सेतीलाई चट्याङले हानेर ठाउँको ठाउँ ठहरै पारेको थियो । दुई दिन पछि मात्र सेतीको लास भेटिएको थियो । अनकन्टार जंगलमा, धुपीको रुखमुनी ।
सेती बाट दुई छोरी जन्मेका थिए । सौताकै छोरी भए पनि पबित्रा कुनै भेद नराखी उनिहरुमाथि मातृवात्सल्य खन्याउँथी । उनीहरु पनि पबित्रालाई औधी मायाँ गर्थे, घरको कामकाजमा भरपूर सघाउँथे । यसरी साधारण लयमा जीवन बित्न थाल्यो । सुख दुःख जे जस्तो आउँछ भोग्दै अगाडि बढी पबित्रा । एउटै गुनासो रहन्थ्यो पबित्राको, “बूढो पोइ पर्यो ।” हुन पनि उमेरको अन्तर धेरै हुनाले फुटेकै आँखाले पनि रामशरण र पबित्रा बूढाबूढी हुन् भनेर पत्याउन गाह्रो थियो । कहिलेकाहीँ बूढाबूढी माइतीघर जाँदा सबैले तिमीहरु त ठ्याम्मै बाउ छोरी जस्तै देखिन्छौ नि ! भन्दा पबित्राको मन कुँडिन्थ्यो । बाहिर नदेखाए पनि पबित्रा भित्र भित्रै भुटभुटिन्थी । उसका मृगनयनी आँखामा विवशता छटपटाएको कसले देख्ने ! ऊ असहाय हुन्थी र मनमनै के के भुतभुताउँदै आक्रोश फाल्थी । कस्तो बूढो मान्छेसँग विहे गराइदिए भनेर बाआमा सँग गुनासो पोख्थी । पबित्राको अन्तष्करण कत्तिकै क्षोभ र ग्लानीले छोपिएको भए पनि रामशरणलाई प्रेम र आत्मियता जताउन भने कुनै कसर बाँकी राख्दिनथी । रामशरणबाट पनि उसले सदा सहानुभूति, प्रेम र आत्मियता पाईरही ।
रामशरणको कुरा भने बेग्लै थियो । ऊ पबित्रासँगको विहेलाई लिएर खुव गर्व गर्थ्यो । आफूले अगाडि नै एउटी सँग लगनगाँठो कसिसकेको भएर पनि आफू भन्दा अठार बर्ष पछाडि उभिएकी कन्या केटीसँग जीवन बिताउन पाएकोमा आफूलाई भाग्यमानी ठान्थ्यो । पबित्राको रुप र लाबण्यले रामशरण मुग्ध थियो, मानौं उसको घरमा पुर्णिमाको जून ओर्लेको होस् ।
।।दुई।।
कालचक्रले आफ्नै हिसाबले चक्कर काटिरह्यो । अनेक बसन्त पार गर्यो । पबित्रा र रामशरणको उमेर पनि कालचक्रसँगै माथि चढ्दै गयो । अब पबित्राको उमेर तीस बर्ष पुगेको छ । तीस बर्षमा टेके पनि उसको शरिर हेर्दा लाग्थ्यो- भर्खरै शरिरमा जवानीका आँकुरा पलाउँदै छन् । उसको लोग्ने रामशरणको उमेर पचासको नजिक छ । त्यसमाथि ऊ बाथ रोगले ग्रस्त छ । शरिर दिन प्रतिदिन कमजोर हुँदै गएको छ । उमेर भन्दा अझ ऊ बर्ता बूढो देखिन्छ । रामशरणको शरिर कमजोर भएपछि सबै कामको भार पबित्राको थाप्लोमा पर्यो । सौताका छोरीहरुले विहे गरेर गइसकेका थिए । पबित्राबाट जन्मेको एउटा मात्र छोरो थियो । त्यो पनि बर्खामासको खोलामा हेलिएर बेपत्ता भयो । एघार बर्षको उमेरमा । त्यसपछि अर्को बच्चा जन्माउने पबित्राको कत्रो धोको थियो । पबित्राको धोको रामशरणले कहिल्यै पूरा गर्न सकेन । के गरोस् त बिचरो ! मनले पबित्राको इच्छा पूरा गर भन्थ्यो, तर शरिरले साथ दिँदैनथ्यो । पत्नीको इच्छा पूरा गर्न नसकेर लाचार हुनु परेकोमा आफैंलाई हतभागी पुरुष करार गर्थ्यो । उसलाई आफ्नै असमर्थता उपर लाज र संकोच लाग्थ्यो । खिन्नता अनुभव गर्थ्यो ।
छोरो बेपत्ता भएदेखि रामशरणको घरमा उनीहरुका बूढाबूढी मात्र छन् । रामशरण दिउसो बार्दलीमा बसेर घाम ताप्छ, कि त घरकै वरिपरि राजहाँसको चालमा खोच्याउँदै खोच्याउँदै डुलिहिँड्छ । साँझ खाना खाने बित्तिकै आफ्नो सिकुडिएको शरिर ओछ्यानमा बिसाउँछ । उसले चाख लिएर कुरा गर्न छोडेको पनि धेरै भएको थियो । अब त पबित्रा पनि बल गर्दिन । रामशरण पछिल्लो पटक अध्यात्मपट्टि ज्यादा लहसिएको थियो । मौका पाउनासाथ सकीनसकी गीता पाठ गर्थ्यो । कहिले त उपनिषद्का ऋचाहरुमा घोत्लिरहेको भेटिन्थ्यो । धर्मकर्म र पुजापाठमा बिशेष रुची राख्थ्यो ।
लोग्नेको धार्मिक प्रबृत्तिले पबित्रालाई कहिले त अत्यास लाग्छ । उकुसमुकुस हुन्छ । अचेल उनिहरु सुत्ने कोठा नै फरक भएको छ । पबित्राले कुनै पुरुषबाट त्यसरी देहस्पर्श नपाएको पनि बर्षौं भइसकेको छ । आफ्नै भर्भराउँदो आग्नेय यौवनले हायलकायल छे ऊ । उभित्र अटेसमटेस भएर बसेका यौवनका छालहरुले मनमा हलचल मच्चाएर जान्छन् । त्यसको समन गर्ने उसँग उपाय पनि त छैन । त्यसैले आफ्नै जवानी शत्रु बनेर उभिएको छ, पबित्राको अगाडि ।
पबित्राको जीवनमा कुनै नवीनता छैन । बिहान भालेको डाकसँगै सुरु हुने उसको दिनचर्या दाउरा घाँस गर्नु, भकारो सोहोर्नु, भैंसी गोठको सबै काम एक्लैले भ्याउनु, पकाउनु तुल्याउनु र बिरामी लोग्नेको देखबहाल गर्नु बस् त्यति मै टुङ्गिन्छ । र फेरि सुरु हुन्छ त्यही दिनचर्याको अनन्तः सिलसिला । एउटा वर्तुलाकारमा जीवनको चक्का घुमिरहेछ निरन्तर । कुनै उत्सुकता नभएको मनमा वीतराग जगाउने निरस जीवन बितिरहेछ । ऊ एक हदसम्म आफूलाई निरिह, असहाय र अकिञ्चन पाउन थालेकी छ । यस्तो लाग्छ मानौं उन्मुक्ति चाहान्छे ऊ बाँचिरहेको जीवन देखि । घरधन्दाको दिक्कलाग्दो साँघुरो घेराभित्र थुनिएको एक्लो र उराठ जीवनबाट निकास खोजिरहेझैँ लाग्छ । भाग्न चाहान्छे बाँचिहरेको समय देखि पर…पर… धेरै पर ! तर सक्दिन । उसको अन्तरआत्माले त्यसो गर्न दिँदैन । ऊ आफ्नो रोगी लोग्नेलाई छोड्ने बारे त सोच्न पनि सक्दिन । नियतीले कोरिदिएको साँघुरो घेराभित्र थुनिन विवश छे, पबित्रा ।
कहिलेकाहीँ त पबित्रा घरमा लोग्ने पनि छ भन्ने सत्य नै बिर्सिदिन्छे । रामशरणलाई उसले लोग्ने भन्दा ज्यादा सन्यासी जीवनतिर ढल्किएको एउटा वृद्ध रोगीको रुपमा हेर्न थालेकी छ । लोग्ने भन्ने जीव उसको मगजबाट क्रमश लोप हुँदैछ । बरु सपनामा आफ्नै वयको कुनै अपरिचित युवकको अंगालोमा बेरिएकी हुन्छे, उसैसँग सयर गरिरहेकी भेटिन्छे । जब ब्युझिन्छे ओछ्यानमा आफूलाई एक्लो पाउँछे । मनमा कुतकुती लाग्छ । अनौठो भाव उम्रिन्छ उभित्र । निकै समय त्यही सपनाको स्मृतितरङ्गमा हराएर बस्छे, धुमधुमती । पल्लो कोठाबाट लोग्ने खोकेको ख्वाक ख्वाक शब्दले पलकमै उसको कल्पनाको संसार भत्काइदिन्छ । अनि क्षणभरमै बगाल लागेर आउने सपनाका स्मृतिहरुलाई जतिसक्दो पर हुत्याउने प्रयास गर्छे ।
लाहुरी भैंसी ब्याएको एक हप्ता नबित्दै बकेर्नु भैंसीले राँगो खोज्न थाल्यो । पबित्राले बाँधिराखेको राँगोको दाम्लो फुकाइदिई । राँगोले भैंसीमा खासै रुची देखाएन, बरु राँगो घाँस भएतिर गयो । घाँस खाइसकेर एकछिन यताउति अलमलियो । राँगोले भैंसीलाई देखेको नदेखेकै गरेपछि पबित्राले राँगोलाई तानेर भैंसीको नजिक पुर्याई । तर राँगोले भैंसीको वास्तै गरेन । निकै बेरसम्म पनि राँगोले कुनै प्रतिक्रिया नदेखाएपछि राँगोलाई दाम्लोले साबिककै किलोमा बाँधिदिई । कम्मरमा दुई हात अड्याएर अस्फुट सुस्केरा छोडी । राँगोतिर घृणाको नजरले होइन बरु करुणाभरि नजरले हेरी । राँगो किनेको पनि त धेरै बर्ष भइसकेको थियो । किन्दा खेरी नै राँगोले धेरै बर्ष उमेर काटिसकेको थियो । अब त त्यो निकै बूढो भइसकेको थियो । त्यसमा कुनै जवानी बाँकी थिएन ।
पबित्राले भैंसीको लागि अर्को राँगो खोज्ने विचार गरी । राँगो खोज्न ऊ मुख्खेनीको घरतिर हान्निई । मुख्खेनीको घर नजिक पुगेपछि वरैबाट पबित्राले आँगनमा एक जना नयाँ युवक देखी । पबित्रातर्फ पीठ फर्काएर कोट्मरोको रुखतिर हेरेर बसेको थियो त्यो युवक । रुखमा ड्याङ्ग्रेहरु हूल बाँधेर कराइरहेका थिए । पबित्राले त्यो मान्छे को हो छुट्याउन सकिन । नजिकै पुगेर अनुहारपट्टि नजर हालेपछि मात्र चिन्न सकी, मुख्खेनीको छोरो रतन रहेछ ।
“ए ! देवर बाबु पो ! कस्तो फेरिनुभएको शहर पसेर ?”
“के फेरिनु भाउजू ।” उसले पबित्रातिर मुडा सारिदियो ।
“मोटाएर सुँगुरै हुनुभएछ त ” जवाफमा रतन फिस्स मुस्कुरायो ।
“को हो मेरो छोरालाई सँगुर भन्ने हँ ?” मुख्खेनीले भान्सा कोठाको झ्यालबाट टाउको बाहिर धकेलिन् ।
“म हुँ मुख्यनी आमै ।” पबित्राले हाँस्दै जवाफ फर्काई ।
“हुन पनि सुँगुरै भाछ मोटाएर ! कामकाज केही छैन ।” मुख्यनी अब भान्छाबाट बाहिरै निस्किन्, “अनि के कामले आयौ त ?”
“राँगो लिन आएकी नि मुख्खेनी आमै ।”
“तिम्रो राँगो खोइ त ? पहिले त हाम्रो भैंसी पनि तिम्रै राँगो ल्याएर भर्ना गराएको हो । यसको बाउ पनि तिम्रै राँगो त हो नि !” मुख्खेनीले ओठ चुच्चो पार्दै राँगोतर्फ इशारा गरिन् ।
“काम छैन त्यो राँगोको अब, बूढो भइसक्यो ।” पबित्राले नाख खुम्च्याई, “भैंसीको छेउमै पर्दैन के गर्नु त्यस्तो राँगो ।”
“त्यसो भए दमाईंलाई देऊ न त, काटी खान्छ ।”
“दिन्न दमाईंलाई त ! सित्तैमा खान खोज्छ ।”
“काम गर्देला नि खेतमा, किन चाहियो पैसा !”
“गर्दिए त हुने नि ! खेत जति सबै बाँझै छ ।”
“गर्छ गर्छ ! एकचोटी सोधेर त हेर !”
“खै, राँगो फुकाउनु न त । ह्याँ आफूलाई ढिला भइसक्यो, कति काम छ घरमा !”
“तिम्लाई पनि जहिले काम ! तिम्रो कामले कहिल्यै नछोड्ने भयो ! सक्छ्यौ त एक्लै ?” पटुकीको फेर कोच्दै मुख्खेनी भान्साभित्र पसिन्, “जा रतन राँगो घरसम्मै पुर्याइदे ।”
मुख्खेनीले झ्यालबाट पबित्राले राँगो डोर्याएको अनि पछाडिबाट रतनले छ्यु छ्यु गर्दै राँगो धपाउँदै गरेको दृश्यतर्फ अपलक दृष्टी लगाइरहीन् । त्यतिबेला मुख्खेनीको अनुहारमा कुटिल मुस्कान नाचिरहेको थियो ।
।।तीन।।
मंसिरको महिना । साँझको आठजति बजेको थियो । पबित्रा मोही पार्ने तयारी गर्दै थिई । दही राखेको ठेकीमा मनतातो पानी खन्याएर दही र पानी ठीक मात्रामा मिले नमिलेको थाहा पाउन ठेकीभित्र चियाहीरहेकी थिई । त्यही बेला बाहिर कोही आएको चाल पाउँछे । ठेकीबाट उप्काएर नजर दैलोतिर हुत्याउँछे । त्यहाँ रतन आफ्नो प्रशान्त अनुहारमा मुस्कान नचाउँदै उभिएको हुन्छ । पबित्राको ओठमा पनि मुस्कान फक्रिन्छ । पबित्रा उसलाई भित्रै बोलाउँछे । रतन भित्र पस्छ, छेउको खाटमा सुटुक्क बस्छ । एकछिन यताउतिका कुरा हुन्छन् । केही कुरा शब्दमा हुन्छन्, केही कुरा आँखाको इसारामा । केही मौनतामा ।
मुख्खेनीको छोरो रतन केही दिन यता एक दुई दिन बिराएर पबित्राको घरमा धाइरहन्छ । सायद पबित्राकै निम्तोमा । साँझ पर्यो कि आफ्नो घरबाट फुत्केर पबित्राको घरमा लुसुक्क पसिहाल्छ । रतन कतिबेला पवित्राको घरतिर सर्किन्छ मुख्खेनीलाई पत्तो हुँदैन ।
पबित्रा मोही पार्न मदानी खोज्न थाल्छे । यताउति नजर घुमाउँछे ।
“के खोजेको ?”
“मदानी”
“यी यहीँ छ त ।” रतन कुनातिर ठाडो पारेर राखिएको मदानी उठाएर दिन्छ ।
मोही पार्ने सबै सामाग्री ठीक्क पारेर पबित्रा रतनलाई मोही पार्न संकेत दिन्छे, आँखैले । सोध्छे, “सक्छौ त ?” रतन ज्याकेट फुकालेर छेउमा राख्छ । र मोइ पार्नको लागि तम्तयार भएर बस्छ ।
राती रामशरणको निद्रा टुट्यो, पिसापले च्यापेर । ऊ कोठाबाट बाहिर बार्दलीमा निस्क्यो । चारैतिर निस्पट्ट अन्धकार घोप्टीएको औंसीको कालो रातमा पबित्रा सुतेको कोठामा केही चहलपहल छ । ढोकाको चेपबाट टुक्कीको मट्याइलो प्रकास धार परेर बाहिर पोखिरहेको छ । मध्यरातको शान्त घडिमा रामशरण बिस्तारै चाल मारेर त्यतैतिर लाग्छ । कोठाभित्रको अवस्थाबारे भेउ पाउन ढोकाको चेपबाट भित्र चियाउँछ । तबखेर भित्र दुई वटा छाया चलमलाइरहेका हुन्छन् । एकैछिनपछि एउटा छायाले टुक्की फुक्छ, एक टुक्रा गाढा रातले भित्र प्रबेश पाउँछ । अब रामशरण ढोकैमा कान थापेर सुन्ने कोसिस गर्छ । भित्रबाट महिला र पुरुषको आवाज घोलिएर अस्पष्ट गुनगुन सुनिन्छ । अलिबेरपछि सासले बोलेको खासखुस सुनिन्छ । खासखुस सँगै कपडा फुकालेको सर्याकसुरुक आवाज पनि थपिन्छ र थपिन्छ चुरा बजेको संगीत – छङछङ छिन्द्रिङछिन्द्रिङ । लगत्तै खाट चुँइकिएको आवाज पनि खप्टिएर आउँछ । खासखुस आवाज बिस्तारै स्वाँस्वाँ र फ्वाँफ्वाँमा परिणत हुन थाल्छ । खाट साबिकको भन्दा अझै तिब्र गतिमा चुँइकिन थाल्छ । रामशरण करिब एक घण्टा सम्म त्यही आवाजको साक्षी भएर ढोकैमा कान थापेर बस्छ । अलिखेरपछि दलिनबाट दुई वटा बिराला लड्दै भुँइमा झर्छन् । तीँ बिराला अनौठो आवाज निकालेर कराउँदै लड्न थाल्छन् । रामशरण एकछिन त्यतैतिर अलमलियो । फेरि ढोकामा कान तीखो पारेर सुन्न थाल्यो । तबसम्म कोठा भित्रको आवाज सामसुम भइसकेको थियो । रामशरणले कानलाई अरु नजिक बनाएर लगभग ढोकैमा टाँसेर भित्रको आवाज सुन्ने कोसिस गर्यो, तर उसले केवल शन्नाटा पायो । निस्सीम अन्धकारमा फैलिएको महाशन्नाटा ! बस त्यत्ति !
त्यसपछि उसको अगाडि कालो पर्दा खस्यो । उसलाई अन्धकारले छोप्यो । मनभित्र कालो बादल मडारिन थाल्यो । मानौँ उसले सर्वस्व गुमायो । हेर्दाहेर्दै उसको संसार ध्वस्त भएको छ । छातिभित्र मुटु दनदनी दनकिन थाल्यो । कसो आफ्नो जलेको मुटुललाई सम्हालेर ऊ आफ्नो कोठाभित्र पस्यो र ओछ्यानमा डङ्ग्रङग पल्टियो ।एकछिनपछि छेउको अम्खोरालाई उचालेर घटघटी चिसो पानी पियो । बल्ल उसको होस खुल्यो । मनमा अनेक तर्कना आउन थाले । मनभित्र कुन्नी के के विचार खेलाउन थाल्यो । निकैबेर ऊभित्रको अहंकार र चेतनाबिचको द्बन्द्ब चलेपछि अन्ततः अहंकार भुँइमा पछारियो र चेतनाले टाउको माथी उचाल्यो ।“मैले पूरा गर्न नसकेको शरिरको माग उनी अरु नै कसैबाट पूर्ति गर्छिन् भने यसमा समस्या कहाँ छ ?” उभित्रको चेतना बोल्यो, “उनी मेरी पत्नी अवश्य हुन् । तर, उनको शरिरको मालिक म होइन, उनी आफैं हुन् ।” त्यसपछि उसको दिमागमा झुत्ती खेल्न आइपुगेका क्लेशमिश्रित मानसिक अन्तरद्वन्द्वलाई मेट्दै मेट्दै कतिखेर ऊ फुक्क निदायो उसैलाई पत्तो भएन ।
त्यस रातको घटनाले रामशरणलाई जुन घनत्वमा प्रभाव पार्नुपर्थ्यो त्यति पारेन । यस्तो लाग्थ्यो, मानौं उसले आफ्नो असक्षमता वा निरिहता माथि पबित्राले गरेको भरपाई सहजै स्विकार गरेको छ । त्यसै पनि पछिल्ला दिनहरुमा ऊ जिन्दगीको राजमार्गमा आफूलाई अन्तिम छोरमा उभिएको पाउन थालेको थियो । उसले महसुस गर्न थालेको थियो – समय प्रशस्त भैसक्यो । अब यो सांसारिक मोहजालबाट चाडैं उम्कनुपर्छ ।
पछिल्लो समय रामशरण एक प्रकारले सन्यासी जीवन बिताउने निर्णयमा पुगेको थियो । उसलाई सांसारिक सुख सँग त्यति लगाव थिएन । सांसारिकता देखि बिस्तारै पर पर भागिरहेको थियो । उसलाई यीँ मायाँ मोहको के अर्थ ? शरीर-लालसा, तृष्णा, राग, द्वेष देखि पन्छिएर धेरै पर पुग्ने उसको लक्ष्य हो । शरीर भन्दा पर । मन, विचार र बुद्धि भन्दा पनि पर । त्यस रातको घटनालाई उसले आफूभित्रको पुरुष अहमलाई नष्ट गरी आध्यात्मिक मार्गतर्फ पाइलो हाल्ने अवसर सम्झ्यो । उसलाई त्यस अवसरको प्रयोगबाट आफ्नो मार्गमा हिंड्न निकै उकालो पर्यो अवश्यै, तर ऊ धेरै हदसम्म सफल भयो ।
भोलिपल्ट सखारै रामशरणलाई पबित्राले उठाई । रामशरण आँङ तन्काउँदै शरिर मर्याकमुरुक पार्दै विशेष उत्साहका साथ उठ्यो । आज उसको शरिरको स्फुर्ति अरु दिन भन्दा केही फरक छ । उसले आफूलाई केही हलुका महसुस गर्यो । छेउमा पबित्रा दूधको गिलास लिएर उभिएकी थिई । त्यसैबखत गोठमा भैंसी करायो । भैंसी दुहेर केही हालेको छैन भन्दै पबित्रा हुरहुराउँदै गोठतिर दगुरी । डोकोबाट घाँस तानेर भैंसीको अगाडि छरिदिई । माथि कोठाबाट रामशरणले बोलाउन थाल्यो, “ए, कान्छी…..पानी ल्याएर आऊ, औषधी खाने ट्याम भयो ।” पबित्राले एक अम्खोरा पानी लिएर रामशरणको छेउमा राखिदिई । उसलाई अँध्यारो गोठभित्र बाँधेर राखिएको बूढो राँगोको सुर्ता आयो । पबित्रा त्यतैतिर लागी । राँगोलाई बाहिर घाममा ल्याएर बाँधी । निकै बेर त्यसैको स्याहारसम्भारमा एकात्म्य भई ।
पूर्वको क्षितिजमा बिहानको कलिलो घाम उदायो । छर्लङ्ग फाटेको सफा आकास छ । मौसम केही मनमोहक र आह्लादकारी छ । हिमाच्छादित पहाडको मुनितिर हरियाली जंगलले हरियो सारी पहिरेको झल्को दिने दृश्य उपस्थित छ । त्यही हिमाच्छादित पहाडको प्रतिछाया पबित्राको मुहारमा परेको छ । अरु बेला भन्दा आज पबित्राको अनुहार केही उज्यालो छ । अनुहारमा प्रशन्नताका रेखा टट्कारै देखिने गरी कोरिएका छन् । पबित्रा निकै खुसी र सन्तुष्ट देखिन्छे । महत्वपूर्ण कुरा त के भने पबित्राको खुसीमा रामशरण आफू पनि सामेल छ । यस्तो लाग्छ मानौं, उसको मगजबाट एउटा तनाब हट्यो, एउटा बोझ हट्यो, सुल्झाउन मुस्किल एउटा समस्या हट्यो । मनमा गढेर रहेको एउटा हीन भावना चोइटिएर गयो, सदासदाको लागि । र, अब ऊ आफ्नै बाटोमा हिँड्न स्वतन्त्र छ । त्यसै दिन त हो, उसले रागदेखि बैरागतर्फको आध्यात्मिक मार्गमा पहिलो पाइलो उचालेको । त्यसअघि ऊ किनारमा उभिएको थियो, अब तलाउमै हेलिइसकेको छ । उनीहरु बिपरित दिशातिर हिँडिरहेका बटुक हुन् । परन्तु दुबै जनाको अनुहारमा खुसी र उमङ्गको रङ पोतिएको छ । सन्तुष्ट र तृप्तानन्दित देखिन्छन् दुबै, यति प्रयाप्त छ जीवन बिताउन । त्यस दिन देखि उनीहरुको जीवनले बेग्लै लय समाउँछ र जिन्दगी नामका दुई वटा मिनीबस कुनै स्पिड ब्रेकर नभएको पिच सडकमा बिपरित दिशातिर हुइँकिहरन्छन् निरन्तर …! निरन्तर……. !! निरन्तर………!!!
– समाप्त –
प्रतिक्रिया
-
४
