– नारदप्रसाद आचार्य सुदामा
शान्तिको एउटा दीपदानी भित्र
ममताको पखेटामा फिजाएर
सहनशीलताको एक मुट्ठी
स्वास भरेको छ।
खुला आकास मुनि
एक्लो यात्रामा
रजनीसँग
चुपचाप
अडिग संघर्षरत छ
एक शान्ति वाहक दीप ।
पृथ्वीको फराकिलो छातीमा
निला मुटुका खेतहरू छन्
जहाँ
भोलीको सुनौलो प्रभात
मिरमिरे उषाको हातले
प्रेमको बीउ रोप्छ
अदृश्य श्रमबाट
सुख र समृद्धि
अंकुरिन्छ।
धरणी र जननी
शान्तिका आदिम जरा हुन्
मौनताका कल्पवृक्ष
जसका छायाँले
अन्धकारसम्म
आफ्नो उज्यालो पुर्याउछ।
गन्तव्यका ठाडा उकालाहरू
हिँड्न मात्र होइन
खनी–खोस्री गर्न सिकाउँछन्
पहाडलाई आँचलमा भर्छन्
मरुभूमिको रापिलो स्वास
धैर्यले चपाउँछन्।
अनि त
कृपा, दया र माया
सिन्धु बन्छन्
पवित्र, स्वच्छ र
कोमल हेमन्त झैँ
मनभित्र चिसो उज्यालो बोकेका
छन् ।
सायद
मन्दिरका भित्तामा होइन
मानिसको चेतनाको भित्तामा
पोतिएका हुनुपर्छ
आमन चैनका परिभाषाहरू ।
एउटै गुँडका
पृथक बचेरा झैँ
सत्यका निधि
शान्तिका परिपूरक बनेर
उडिरहेका छन्
कतै।
कुरूप स्वार्थको गहिरो बादल भित्र
अधर्मको बैसाखी टेक्छ
अशान्तिको हुन्डरीमा
चुलिएको छ
अहम् र असत्य
एक्लो बृहस्पति बनेर
पथर दिलका
रावणहरू।
तर समय जान्दछ
अन्ततः
दीपको ज्योति नै
अन्धकारको
अन्तिम उत्तर हो।
***
प्रतिक्रिया
-
४
