– हरिगोविन्द भोमी
तिलगंगा आँखा अस्पताल बस स्टपमा एउटी बृद्धालाई देखें।चिनेचिने जस्तो लाग्यो ।ध्यान दिएर हेरें। परिचित नै रहेछिन ,
विगतको घरपेटी।उनीसित भेट नभएको तीनदशक भइसकेको
थियो ।
यत्रो अन्तराल पश्चात् उनको शरीर निकै परिवर्तन भइसकेको
रहेछ।गाजलजस्तो कालो कपाल फुलेर कपास जस्तो सेतो
भइसकेको छ। मुहार पनि चाउरिएर निकै दुब्लो पातलो भएर
ख्वाउटे भइसकेकी रहेछिन।तर उनको लवाइमा भने घरानिया
पन झल्किरहेका छन् ।
आज संयोगले भेटे जस्तो लाग्यो । उनी निर गएर सम्बोधन
गरें । ” युस्ना भाउजू ”
उनलेे मुन्टो उठाएर मलाई हेरिन। कुनै परिचत देखेर ठम्याउन
नसकेजस्तो उनलेे मलाई एकटकले हेरिरहिन्। सायद उनलेे
मलाई चिन्नै सकिनन्। ट्वाल्ल परेर हेरिरहिन्। मैले आफ्नो परिचय दिन्दै भनें। ” म बछली क्या , बछली। बिराटकि श्रीमती। हामी
विगतमा हजुरको घरमा बसेका थियौं नि। भाउजू ले बिर्सनु
भयो कि कसो ? ”
” ए,ए बछलि ? तिमी ? ” उनलेे आँखा बाट चस्मा निधार
तिर सार्दै भनिन् ।” कस्तो विधि मोटाएकी त तिमी ? चिन्नै नसक्ने पो भइछौ ! तिमीलाई देखेर भन्दापनि तिम्रो शोरले पो
चिनायो।तिम्रो लोग्ने खै त ? कहाँ बसेका छौ तिमेरु अहिले?
तिमेरुका छोराछोरी पनि पठ्ठा भइसके होलान् । के गर्दै छन
अहिले उनीहरू ..?”
मलाई चिन्नासाथ उनलेे एक पछि अर्को गर्दै प्रश्नहरुको ताँती
नै लगाइन्।मानौ मेराबारे सबै कुरा थाहा पाउन उनी पहिलेदेखि
नै आतुर भइरहेकी थिई। हामीले गौशालामा घर बनाएको साय
द उनलाई थाहा थिएन होला।थाहा होस पनि कसरी ।हामीले
उनको घरबाट अन्यत्र डेरा सरे पश्चात् भेट हुन पाएको आजै
मात्र हो।हामीले उनको घरबाट डेरा सरेको तीसवर्ष भइसक्यो।
—–====-====
हामी उनको घरमा बस्दा बेलाबखत उनीसित खट्पट् भइ
रहन्थ्यो।कहिलेपानीको बारेमा त कहिले बत्ती।कहिले शौचालय
फोहोर भयो भन्ने ।कहिले यसो भयो उसो भयो भनेर गुनासो
गरिरहने।कहिलेकाहीँ हाम्रा छोराछोरी घरमा उफ्रिउफ्रि खेल्यो
भनेर उनीहरूलाई हपकाउने ,गालिगर्ने गर्थिन्।
एकपटक दशैताक , चेत भएको चङ्गा समाउन छोरा बाहिर
जान बेटोडले भर्याङ्ग बाट ओर्ल्यो भनेर उनलेे छोरालाई बेस्सरी
गालामा चड्काएकी थिइन् ।त्यतिबेला छोरा रिसाएर यो घरमा
बस्दै नबस्ने भनेर धेरै बेरसम्म रोएको थियोे ।उनको हातबाट
छोराले बेफ्वाँकमा कुटाइ खानु पर्दा मेरो मनपनि कम्ता नदुखे
को होइन ।यसबारे मेरो श्रीमानलाई जानकारी गराएपछि उहाँ
पनि चिढिनु भएको थियो ।र त्यसको केहीदिन पछिनै पाटनमा
कोठा पाउना साथ उतै डेरा सरेका थियौं ।
” ए बछलि के सोचिरहेकी ?” उनलेे सोधिटोपले पछि म
झसङ्ग भएँ।र विगतबाट तत्काल बर्तमानमा पुगें । र भनें। “भाउजूलाई देखेर कताकता आज मलाई मेरी आमाको याद
आयो ।भाउजू आमाको प्रतिरुप जस्तो लागिरहेछ। आमा बित्नु
भएको पनि बीस वर्ष भइसक्यो।अनिभाउजू, हजुर के कामले
आज यतातिर पाल्नु भयो ? ”
मेरो प्रश्न वास्ता नगरी उनी बोल्न हतारिन्। ” तिम्री आमा
बितिसक्नु भयो ?! तिमेरु घरमा बस्दा बेलाबखत तिम्री आमा
आइरहने गर्थिन्।उनीसित धेरैपटक भलाकुसारी गरेका थियौं ।
उनको अनुहार अहिलेसम्म आलै छ मेरो मनमा .. ।
यतिभनेर उनलेे लामो सास फेरिन्।र पुन भनिन् । ” अब त
मलाई पनि चांडै जान (मर्न)पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो ।
यो बुढेसकालमा सबैतिर गार्होगार्हो हुन्दोरहेछ।कम्मर दुखेको
छ , घुँडा पनि दुखेर हिंड्न गार्हो , दाँत नभएर खान असजिलो
हेर न अरु समस्या भन्दा पनि आँखा धमिलो हुन्दै गएकोले अन्
धो हुने डरले हस्पिटलमा जचाउन आएकी म..। खै के गर्ने! के
गर्ने ?!! अर्को हप्ता आँखाको अपरेसन गर्ने अरे। कोरोना टेष्ट
गरेको रिपोर्ट लिएर आउनु रे। त्यो नभइ हुन्नरे।कहाँ टेष्ट गर्ने हो
के गर्ने हो , केही थाहा छैन। मेरो छोराको चाला यस्तै छ।त्यसले
मलाई यहाँ हस्पिटलमा छोडेर गएको तीन घन्ता भइसक्यो ।एकछिनमै आउन्छु भन्याथ्यो ।अहिलेसम्म आइपुगेको छैन।
कति मात्र कुर्नु ? दिक्क भइसक्यो ।”
यति भनेर उनलेे लामो सुस्केरा हालिन्।र सडकमा गुडिरहेको बाइकहरु तर्फ हेर्न थालिन् ।उनको छोरा सायद
बाइकमा आउन्दै गरेको होला भनी सोचें। र मेरो मस्तिष्कमा
फेरि विगतका चित्रहरु नाच आउन थाल्यो ।उनको छोरा सानो
बेलामा उपद्रो किसिमको थियोे ।त्यो अन्य बच्चा संग डराउन्दैन
थ्यो।अरुको खेलौना लुट्ने झगडा गर्ने र अरुलालई रुवाउने
उसको बानीनै थियोे ।
आमाबाबुले पनि उसलाई पुल्पुल्याउने गर्दथे। त्यसले मागेका हरेक कुरा उनीहरूले पूरा गरिदिन्थे।उनीहरू आफ्नो
छोरा लाई वंश थाम्ने जग ठान्ने गर्दथे।त्यो छोरा पश्चात् डाक्टरले
उनीहरूलाई अर्को सन्तान नजन्माउन सल्लाह दिएका थिए।
अब उप्रान्त अरु सन्तान जन्मायो भने उनको (आमाको) ज्यान
जान सक्ने खतरा भएको डाक्टरले उनीहरूलाई जानकारी
गराएका थिए। आफ्नो कोखबाट अरु सन्तानको आश नभए
पछि उनीहरूले एक्लो छोरालाई नै वंशधर ठानेर लालनपालन
गरेका थिए।
“त्यो मोरो (छोरा) आउन्दैन जस्तो छ अब।” मेरो सोचाइ भङ्ग
गर्दै उनी फत्फताउन लागिन्।” नआउनेले आउन्दिन भनेकोभए
म अघिनै बस चढेर गइसकेको हुन्थें। कस्ता अलक्षिना छोरा
जन्माएकी रहेछु मैले ?”
उनको अनुहार निराशाले धपक्क बलेको र गहहरु आँसुले
भरिसकेको मैले देखें।मलाई के गरौँ कसो गरौँ र के भनौं के
भनौं लाग्यो ।केही सोचेर उनलाई सान्तवना दिएँ। ” धैर्य गर्नुस
युस्ना भाउजू ।हजुरको छोरा आइहाल्नुहुन्छनि ।कहीं कतै केही
काम परेर अल्मलिरह्यो होला नि त. ।”
“त्यो बदमाश आउलान् भन्ने बिश्वास लाग्दैन ।” भावविह्वल
भएर निराश हुन्दै उनलेे भनिन् ।” त्यो मुर्ख को काम यस्तै हो।
त्यसले गर्छु भनेको कनम कहिल्यै पूरा गर्दैन ।आउन्छु भन्छ
आउन्दैन ,गर्छु भन्छ गर्दैनन्।किन यस्ता असत्ती सन्तान दिएका
होला भगवान्ले मलाई ? ”
आफ्नो छोरा खराब भएको दोष भगवान लाई थोपरेर उनी
रुन्दै सारीको सप्कोले आँसु पुछ्न लागिन। उनलाई के भनेर
सम्झाउने म अल्मलिएँ।र नमज्जा पनि लाग्न थाल्यो मलाई ।
उनी अझै रुन्दै हिक्क हिक्क गर्दै रहिन।मैले ढाडस दिन्दै भने।
” नरुनुस भाउजू किन रुनु हुन्छ?रोएर समस्या समाधानहुन्दैन।
मैले उहाँ(श्रीमान) लाई भनेर तपाईंलाई घरमा पुर्याउने प्रबन्ध
गरि दिउँला ।उहाँ गाडी लिएर यतैतिर आउन्दै हुनुहुन्छ ।”
मेरो आँखामा हेर्दै उनलेे आश्चर्य भाव प्रकट गरिन।” अहो!
तिम्रोलोग्ने अहिले पनि ट्याक्सी चलाउन्छन?असाध्यै मिहिनेती
रहेछन तिम्रो लोग्ने ।त्यसले ट्याक्सी चलाउने गरेको पैतीस चालीस वर्ष भयो होलाकि कसो ..? ”
उत्निखेर मेरो श्रीमान ठ्याक्कै आइपुग्नु भयो ।उहाँले कार
रोकेर मलाई आउनु भनी हातले इशारा गर्नु भयो। तर गाडी भित्र प्रवेश गर्नु भन्दा पहिले मैले उहाँलाई घरपेटी भाउजू सित
भेट्न आग्रह गरें। गाडीबाट निक्लेर उहाँले दसऔला जोडेर उनलाई अभिवादन गर्नु भयो ।” नमस्ते भाउजू , हजुर त चिन्नै
नसक्ने हुनु भएछ। सन्चै हुनु हुन्छ ?”
मेरो श्रीमान्लाई देखेर उनको मुहारमा मुस्कान उब्जियो।
मुस्कान बृहत पार्दै उनलेे भनिन्।” बिराट बाबू ,तिमेरुलाई देखेर खुसी लाग्यो ।बेलाबेलामा तिमेरुको याद आइरहन्थ्यो ।अब त
बुढी पनि भएँ। बुढेसकालमा सन्चो भनेको कहाँ हुन्थ्यो र खै ।
जे होस धेरै वर्षपछि तिमेरुसित भेट्न पाएर सबै रोगबाट उन्मु
क्त भए जस्तो लाग्यो..।अनि कहाँ बस्छौ नि तिमेरु अहिले?”
” हामी यतै गौशालामा हो भाउजू ।” उहाँले भन्नू भयो ।
” हामीले यतै घर बनाइसक्यौं भाउजू ।घरमा जाऔन भाउजू ।
यहाँबाट दुई चार मिनेटमा पुगिहाल्छ।चिया खाएर जानुस है भाउजू।अनि आज के कामले यतातिर झुल्किनु भयो भाउजू?”
” अहो ! तिमेरुले घर बनाइ सक्यौ ? तिमेरुले काठमाडौंमा
घर बनाउन सक्लान् भनेर त कल्पना पनि गरेकी थिइन मैले ।
तिमेरुको प्रगति देखेर छक्क परें।मेरो घरमा बसेकाले काठमाडौ
मा घर बनाउन सकेकोले धेरै खुसी र गर्व लाग्यो ।आज म तिमेरुको घरमा चिया खाएर मात्र जान्छु ल।” प्रफुल्ल भएर
उनलेे संकल्प गरिन् ।
” गाडीमा बस्नुस भाउजू । हजुरको आगमनले हामी हर्ष
विभोर भयौं ” मैले गाडीको ढोका खोल्दै भनें।
उनी गाडी भित्र छिरिन।अर्को साइडको ढोका बाट म भित्र
गएँ।उहाँले ड्राइभ गर्दै सोध्नु भयो ” आज यतातिर भाउजूको
बिशेष काम थियोे कि ? ”
” भाउजूको आँखा धमिलो भएर हस्पिटलमा जचाउन
आउनु भएको रहेछ।अघिदेखि छोरा लाई कुरीरहनु भएको
रहेछ।” मैले उहाँलाई जानकारी गराएँ।
हाम्रो घरसामु गाडी रोकियो र गाडीबाट निक्लेर उहाँले
उनीतर्फको ढोका खोलिदिनु भयो ।उनी गाडीबाट निक्लेपछि
ढोका खोलेर म पनि निक्लें।उनलेे हाम्रो घर माथिदेखि तलसम्म
र तलदेखि माथिसम्म नियालिन्। भाडामा बसेका एकजना युवक घरको मुल गेटबाट निक्लंन्दै गरेको देखेर उनलेे सोधिन् ।
” ऊ तिमेरुको छोरा हो ?”
” हाम्रो छोरा यहाँ छैन भाउजू ।ऊ अमेरीकामा छ।बुहारी र
नातिनातिना पनि उतै छन् ।उहाँले भन्नू भयो ।
” छोरीको बिहे भइसक्यो त ? ” उनी हम्री छोरीको बारेमा
पनि थाहापाउन इच्छुक भइन् ।
” हाम्री छोरीको पनि विवाह भइसक्यो भाउजू । उनी ज्वाइँ
संग क्यानाडामा छिन।उनको एउटा छोरा भइसक्यो।” मेरो कुरा
सुनेर उनलेे लामो सुस्केरा हालिन्। घरभित्र भर्याङ्ग उक्लिन
लाग्दा उनलाई अलि स्वाँस्वाँ आए जस्तो भयो ।उनी एकछिन
भर्याङ्गमा रोकिन।र झ्यालबाट बाहिरको दृस्य हेर्नलागिन्। एक
छिन उभिएर आराम गरिसकेपछि उनी उक्लिन लागिन्। माथि
पुगेर हामी तीनैजना बैथक कोठामा प्रवेश गर्यौं।उहाँले पंखाको
स्विच अन गरेर उनलाई सोफामा बस्न आग्रह गर्नु भयो ।उनलेे
ओधि राखेको पश्मिनाको खास्तो फुकालेर सोफामा बस्दै भनी
न्। ” अहो! गर्मी त अचाक्ली बढेछ। ”
” हो भाउजू , काठमाडौंमा विगतमा भन्दा निकै गर्मी
बढ्न थालेको छ।सबैतिरका मान्छहरु यतै ओइरिएका रहेछन् ।
बस्ती झनै बृद्दि हुन्दैछन् ।सवारीसाधन पनि उतिकै बढेका छन् ।प्रदुषण त्यतिकै बढेको छ।गर्मी त बढ्नेनै भयो नि ” उहाँले
भन्नू भयो ।
मैले तीनवटा गिलासमन जुस राखेर एउटा गिलास उचालेर
उनलाई दिन्दै भनें ।” जुस पिउनुस भाउजू ।” उनलेे चस्मा फुकालेर टेबुलमा राखिन र जुसको चुस्की लिन्दै भनिन्।” तिमे
रु का छोराछोरी बिदेश गइसकेका छन् त ।
” हो भाउजू हाम्रो छोरा र पाटनका घरपेटीको छोरालाई
डिभी परेको थियोे ।” उहाँले हातले गिलास समाउन्दै भन्नुभयो।
” हामी तपाईंको घरबाट डेरा सरेर पाटनमा बस्न गएका थियौं ।
त्यहाँको घरपेटीको छोरा संगै हाम्रो छोरा पनि अमेरिका गएको
१२ वर्ष भइसक्यो ।उतैतिर एउटी केटीशीत उसको मायाप्रिति
बसेछ क्या र ,।आठ वर्ष पहिले उनीहरू यता नेपालमा आएर
विवाह गरेर फेरि उतै लागे।बुहारी पाटनकि हुन। असाध्यै भलाद्मी र जाति छिन् । छ वर्ष अघि बुहारी सुत्केरी हुन्दा हामी
पनि अमेरिका गएका थियौँ ।त्यहाँ एक वर्ष नै बस्यौं ।”
उहाँले प्रसंग बदल्दै सोध्नुभयो।”अनि भाउजू ,दाइलाई संन्चै?”
उहाँको जिज्ञासा ले एकाएक उनको मुहारमा अन्ध्यारो छायो ।
उनी टेबुलमाराखेको गिलास एकटकले हेर्दै टोलाइरहिन्।उनका
आँखापनि रसाउन लागे। उनको भावविह्वल अवस्था देखेर उनको लोग्नेलाई ठिक नभएको अनुभुत गर्दै मैले उहाँ लाईहेरें
उहाँले मलाई हेर्नू भयो ।हामीले एकअर्का लाई हेराहेर गर्यौं ।
एकछिन बैथकमा मौनता छाइरह्यो।
” जुस पिउनुस न भाउजू ” मौनता भङ्ग गर्दै मैले भनें।”दाइ
लाई सन्चो छैन कि कसो भाउजू ?”
उनलेे सारीको सप्कोले आँसु पुछ्दै शिर झुकाउन्दै भनिन्।
” वहाँले छोडेर जानू भएको तीस वर्ष भइसक्यो ।तिमेरुले डेरा
सरेको महिनादिन पश्चात् वहाँ लाई हर्ट एटेक भयो ।त्यतिबेला
तिमेरु भएको भए मलाई सहयोग हुने थियोे ।”
उनको लोग्नेको मृत्युबारे हामीलाई थाहा भएको थिएन।
उनको भनाइ अनुसार लोग्ने बितेको बखत उनलेे हाम्रो अभाव
महसुस गरेको रहेछ।हामी उनको घरमा बस्दा हामीले सकेको
उनलाई सहयोग गर्ने गर्थ्यौं।घर सफा गर्ने, पानी ओसारीदिने ,
किामेलमा सहयोग गर्ने लगायत उनीहरू कतै जानुपर्दा उहाँले
ट्याक्सी बाट ओहरदोहोर गरि दिनु हुन्थ्यो ।
तर हाम्रा छोराछोरी संग नखेल्नु भनेर उनीहरूले आफ्ना
छोरा लाई हाम्रा छोराछोरी बाट अलग्याउने गर्दथे।यस्ता नाथे
चुत्थाको संगत गर्नु हुन्न भनेर उनीहरूले हाम्रा छोराछोरीलाई
हेलाँ र अपमान गरेको हामी सुन्थ्यौ र देखथ्यौं ।उनीहरू को
यस्तो वचनसुनेर हाम्रो चित्त खुब दुख्थ्यो।र छोराछोरीको चिन्ता
लागि रहन्थ्यो।
” तिमेरुले राम्रो घर बनाएका रहेछौ।यहा आउन पाएर
खुसी लाग्यो ।” उनलेे गिलासमा जुस रित्याउन्दै भनिन् ।”मेरो
घर त पुरानो भइसक्यो ।अचेल घरमा भाडामा बस्ने संग मेरा
असत्ती छोराले नै भाडा उठाउने गर्छन्।जाँड रक्सी खान्छन् ,
गाँजा तान्छन ।साथीहरूलाई पनि खुवाउन्छन्।त्यसले मेरो बृद्ध
भत्ता समेत लुट्ने प्रयास गर्छन् ।त्यस मुर्खले मलाई दुखदिनु
सम्म दियो ।मैले केही बोल्नै हुन्न।उसको बिरोध गर्योकि मलाई
मनरौलाझैं गर्छ।उसलाई सुधार्न धेरै प्रयास गरें।थुप्रै पैसा खर्चेर
सुधार गृहमा राखेर उसको लत छुटाउन खोजें।तर केही सीप
लागेन।सबै प्रयास व्यर्थ भए । बरु सुधार गृहमा बसेका उसका
साथीहरू सुध्रिए।ऊ जस्ताकोतस्तै ।उसको दुष्कर्म खप्न नसकि
उसकी स्वास्नी पनि पोइल गई सकिन.. । हरे ! भगवानले मलाई कहिले सम्म यस्तो भोग गराउने होला।किन मेरो काल
पनि नआएको होला!!!”
उनलेे दुखेसो पोखिरहन्दा हामी अधिर भयौं ।हामी दुबैले
केही बोल्न सकेनौं ।उनी सुक्क सुँक्क गरेर रुन थालिन्।
उहाँले सुस्तरी उनलाई सम्झाउन थाल्नुभयो। ” रोएर आफू
लाई कमजोर नबनाउनुस भाउजू ।मन काबुमा राख्नुस। हुनु
भइहाल्यो ।अब रोएर , चित्त दुखाएर के गर्नु र ? हजुरको छोरा
कुलतमा लागेको थाहा पाएर हामीलाई पनि दु:ख लाग्यो ।अचेल
थुप्रै मान्छेहरु कुलतमा फसेर परिवारलाई रुवाइरहेकाछन्।दुर्ब्य
सनमा फसेर नारकिय जीवन यापन गर्दैछन् ।परिवारले समयमै
ध्यान पुर्याएर आफ्ना बच्चालाई ठिक ठाउँमा राख्नु पर्दोरहेछ ।
हामी भाउजूको घरबाट पाटनमा एकजना प्रिन्सिपलको घरमा
बस्न गएका थियौं।वहाँले हाम्रा छोराछोरीलाई माया गरेर वहाकै
स्कुलमा भर्ना गरि दिएको थियो ।वहाँको पत्नी पनि शिक्षिका
रहेछन् । दुबैजना अति मिलनसार हुनुहुन्दो रहेछ।वहाँहरुले हा
म्रा छोराछोरीलाई पनि मुफ्तमा ट्युसन पढाउनु हुन्थ्यो। फल
स्वरुप हाम्रा छोराछोरी दुबैजना एसइईमा एप्लस ल्याउन सफ
ल भयो । वहाँहरुको छोराले त बिशिस्ट अंक ल्याएको रहेछ।
छोराछोरीलाई कलेजमा पढाउन पनि वहाँहरुले नै भर्ना गरि
दिनुभएको थियो ।मैले त केही गर्नै परेको थिएन। हाम्रा छोरा
लाई छात्रवृत्ति पनि परेकोले पढाउन खर्चमा पनि सहज भएको
थियोे ।”
उहाँको कुरा सुन्दै फेरि उनले लामो सुस्केरा हालिन्। मानौ
सुस्केरा हाल्दै उनी आफ्नो बह बिर्सन्दैछिन्। ” तिमेरुका छोरा
छोरी ज्ञानी भएकोले तिमेरु भाग्यमानी भएछौ ।मेरो छोरालाई
पनि असल मान्छे बनाउने उद्देश्य लिएर सानैदेखि बोर्डिङमा
पढाएको थिएँ।राम्रो स्याहारसुसार गरेर पालनपोषण गरेको
थिएँ । पछि गएर मेरो छोरा यसरी कुबुद्दिमा लाग्ला् भनेर।सोचे
कै थिइन।ऊ ज्ञानी होउन भन्ने उद्देश्यले उसको लागि गरेको
सम्पुर्ण प्रयास व्यर्थ हुन गए ।
ठिक यतिबेला मेरो मोबाइलको घन्टी बज्यो ।मैले ब्याग
बाट मोबाइल निकालेर स्क्रिनमा हेरें। अमेरिकाबाट छोराले
फोन गरेको रहेछ।मोबाइलको क्यामेरा अन गरेर मैले भनें।
” हेल्लो छोरा ”
” ढोंग गरें आमा” छोराले हाँस्दै भन्यो । “बा हुनु हुन्न ? ”
” तिम्रो बुबा यहीँ हुनुहुन्छ ” भनेर मैले मोबाइल उहाँ तर्फ सोझ्याएँ ।
” ढोग गरें बा” छोराले टाउको निहुराउन्दैभन्यो।
” आशिर्वाद छ तिमीहरूलाई , बुहारी खोइ त? अनि स्माइल
र मेरीका नि ?” उहाँले भन्नुभयो ।
” उनी नुहाउन गएकी छे। बच्चाहरू ब्युझेकै छैनन्।यहाँ बिहान
को भर्खर चार बज्न पो थालेको छ त बा।” छोराले मोबाइल
नातिनातिना तर्फ सझ्यायो।बच्चाहरू मस्त निदाइरहेका रहेछन
छोराले फेरि भन्यो । ” तपाईंहरु सन्चै हुनुहुन्छ ? तपाईंहरुलाई
सपनामा देखेकोले फोन गरेको मैले।”
“हामीलाई सब ठिकठाक छ छोरा ” मैले भनें।
” मलाई खुसी लाग्यो आमा । अहिले फोन राख्छु। बाई आमा ,
बाई बा ” छोराले फोन राख्यो ।
छोराले फोन राखे बित्तिकै उनलेे भनिन् ।” तिमेरुका छोरा गति
ला रहेछन।आमाबुबाको ख्याल राख्दो रहेछ।तिमेरुको नाति
नातिना पनि भइसक्यो ।वंश थामियो ।कुल जोगियो ।मेरो त
वंश लुप्त हुने भयो ।कुल हराउने भयो .. ।”
उनी भावविह्वल भइन् ।उनको आँखा पुन रसायो।पटक
पटक उनलाई निराश र गम्भीर देख्नु पर्दा नरमाइलो लाग्यो ।
उनको दयनीय अवस्थाले बेचैन तुल्यायो ।उनी फेरि सारीको
सप्कोले आँसु पुछ्न लागिन।
” रोएर कुनैसमस्या समाधान हुन्दैन भाउजू ” उहाँले ढादस
दिन्दै उनलाई सम्झाउनु भयो । ” बरु समस्या समाधान हुने
उपाय खोज्नुसन भाउजू ।खालि रोएर मात्र के टर्थ्यो र ? अँ
भाउजू छोरालाई अर्को बिहे गरि दिनुस न। हुन्न र भाउजू ?”
” त्यसको लागि धेरै केटी हरु खोजिनिति गरि सकें। तर
कोही पनि केटी ऊ शीत विवाह गर्न राजी भएनन् ।त्यसता
खराब ,कुलांङगार मूर्ख संग कसले बिहे गर्न मान्थ्यो र ?” निकै
गम्भीर हुन्दै उनलेे भनिन् ।
उदासीनता र ब्याकुलताले उनको मुहारको स्वरुप विक्षिप्त
हुन थाल्यो ।
” चिया खाजा बन्दोबस्त गर न मैया ” उनको भाबुक अवस्था
देखेर उहाँले मलाई अह्राउनु भयो । ” भाउजूलाई मनपर्ने छोयला बजि ल्याइदिनु ल। ”
” मेरो दाँत छैन । कसरी चपाउनु छोयला बजि ? ” उनलेे
भनिन् । ” बरु चिया पिउन पाए हुन्थ्यो । चिया खाइबरी गइहा
ल्छु म। बस चढेर जानुपर्छ।छोरा आउन्दै आएन । कहाँ मरे
होलान् त्यो असत्ति चन्दाल।” उनी आफ्नो छोरालाई तथानाम
गालि गर्न लागिन।माया गरेर हुर्काएका हितैषि सन्तान भए पनि
कुमार्गमा लागेपछि अपहेलना हुन्दोरहेछ।
मैले उनीतर्फ चिया राखिदिएँ। एक पुरिया कक्नट बिस्कुट
र केही काजु बिस्कुट हरु रिकापीमा राखेर उनलाई दिएँ।उनी
बिस्कुट चियामा चोपेर पकापक खान थालिन् ।सायद उनलाई
निकै भोक लागिसकेको हुनुपर्छ ।बिस्कुट र चिया खाइसकेपछि
उनी जाँगरिलो देखिइन।
” तिमेरुको गाडीबाट मलाई घरमा पुर्याइ देउ न है ” उनलेे
यस्तो आग्रह गर्दा मलाई पुन विगतको सम्झना आयो। हामी
उनको घरमा बसेका बेला उहाँ ट्याक्सी चलाउनु हुन्थ्यो ।त्यस
बखत उनीहरू कहीँ कतै जानू पर्दा , फलानो ठाउँ सम्म लगि
देउ भनेर उहाँ लाईअह्राउने गर्दथे।र उहाँ सधैं आज्ञा पालना गर्नु हुन्थ्यो ।
उनलाई गाडीमा राखेर हामी गौशाला बाट उनको घर ठमेल
तर्फ प्रस्थानगर्यौ।जाने क्रममा उनलेे सडकमा गुडिरहेको बाइक
हरु ध्यानपुर्वक हेर्न छुटाइनन्।सायद उन्को आँखा आफ्ना छोरा लाई देख्न लालायित छन र उसैलाई खोजिरहेका हुन्।
बाटोमा उनलेे केही बोलिनन। उनको मुहारमा निराशा र उदासिपन झल्किरहेको थियोे । सायद छोरा कै बारेमा उनी के के सोचिरहेकी हुन् ।
ठमेलमा पुग्दा मलाई नौलो ठाउँमा पुगे जस्तो लाग्यो ।विगतमा दैनिक जसो ओहरदोहोर गरिरहेकाे त्यो बजार हाल
निकै परिवर्तन भइसकेको रहेछ।मलाई उनको घर रहेको स्थान
पनि याद भएन।तर उहाँले त्यो स्थान बिर्सनु भएको रहेनछ।
उहाँले उनको घर अगाडि गाडी रोक्नु भयो ।र गाडीबाट निक्लेर
उनीतर्फको ढोका खोलिदिनुभयो।उनी गाडी बाट निक्लिन्।
म गाडी बाटबाहिर आउनासाथ उनलेे माथि जान आग्रह गरिन्
यतिखेर एउटा बाइक हुईकिन्दै आएर गाडी नजिकै रोकियो ।
बाइक वाला लाई हेरें।ग्रन्च जिन पाइन्ट , डेन्जर फोटो अंकित
टिसर्ट र आँखामा ठूलो खाले कालो चस्मा , अनि लामो कपाल
पालेको कालो वर्णको दुब्लो अनुहारमा अगाडिको दुईवटा दाँत
नभएको एकजना मान्छे देखें।उसको पछाडि रातो कुर्थासुर्वाल
लगाएकी गहुँगोरो एउटी केटी बसेकी छे। उनीहरू दुबैजना
बाइक बाट झरे।त्यो मान्छेले उनलाई हेर्दै बोलायो । ” ममि ”
त्यो मान्छे उनको छोरा होला भनी मैले अनुमान गरें ।उनलेे
उसलाई हेरिरहिन।छोराको आगमनले उनको मनमा केही खुसी
पलाएजस्तो भयो ।त्यसले संगै ल्याएको केटीको हात समाएर
उनको परिचय गरायो । ” ऊ मेरी ममि।”
” नमस्ते ममी ” हाँस्दै केटीले उनलाई अभिवादन गरिन्।
” को हुन यिनी ?” केटीलाई हेरेर उनलेे रुखो शोरले सोधिन् ।
” यो तिम्रो हुनेवाला बुहारी हुन ममि । म यिनीसित बिहे गर्छु।
उनी म शीत बिहे गर्न राजी भएकि छिन।”
छोराको बिहे हुने कुरा सुनेर उनको मुहारको रंग फेरियो ।
मुहारमा खुसी र सन्तोषको मुस्कान उब्जियो।आँखामा खुसीको चमक देखियो।आफ्नो आत्मीय इच्छा पूरा भए जस्तो
प्रशन्न भएर उनी अगाडि गएर केटीको कपाल सुम्सुम्यनउन
थालिन् ।अब बुहारी अन्माएर वंश थामिने र कुल जोगिने परि
कल्पनाले उनी दङ्ग भइन्।
भोलिपल्ट । एउटा पत्रीकामा केटी हराएको सुचना शिर्षकको
फोटो सहितको विज्ञापन प्रकाशित भएको देखें।फोटो उनै
केटीको रहेछ। रातो कुर्थासुर्वाल लगाएकी , गहुँगोरो मानसिक
सन्तुलन गुमाएकी तीस वर्षिय केटी हराएकोले देख्नुहुने
महानुभावले प्रहरी कार्यालयमा सम्पर्क गर्नु होला।
***
प्रतिक्रिया
-
४
