ठाकुर बेलबासे नेपाली कवितामा चिनाई रहन पर्ने नाम हैन् । सरल भाषा, बिम्ब प्रतिकको सुन्दर प्रयोग, प्रेम, देश र समाजका विषयमा काव्य सृजना गर्ने उनी नेपाल प्रज्ञा प्रतिष्ठानबाट स्वर्ण पदक बिजेता समेत हुन्। पेशाले उनी पत्रकार हुन् । समसामयिक विषयहरूमा गहन प्रश्न गरेर समाज परिवर्तनका लागि योगदान दिने कवि बेलबासेको तेस्रो कविता कृति चोटहरूको उत्सव केही महिना अघिदेखि बजारमा छ । यसै कृतिको सेरोफेरोका सम्पादक जीवन खत्रीले कविलाई गरेका पाँच प्रश्न र कविको जवाफ;
१, चोटहरुको उत्सवका बारेमा छोट्करीमा बताइदिनुहोस् र यो कृति प्रकाशित भएपछिको बजार अवस्था कस्तो रह्यो ?
चोटहरुको उत्सव प्रेमभावका कविताहरुको संग्रह हो । एकजना पुरुष र महिलाको जीवनमा प्रेमले पार्ने प्रभावलाई कविताको फ्रेममा उतार्ने प्रयास गरिएको छ । कविताले प्रेमिका अर्थात महिलाको अनुष्ठान गरेका छन् ।
कारणवस प्रेम सम्बन्ध टुट्यो भने पनि प्रेमी प्रेमिकाको जीवनका लागि यो घटना घृणामा परिणत हुन सक्दैन । विगतको प्रेमिल समयले जीवनभर न्यानो बनाउन सक्छ भन्ने जिकिर कविताले गरेका छन् ।
वियोगान्त भित्र खुसी , आनन्द अनि सद्भाव खोज्ने दर्शन यी कविताले बोकेका छन् ।
चोटहरुको उत्सवको बजार अवस्था कस्तो रह्यो ? भन्ने प्रश्नमा भने मेरो अलि भिन्न धारणा छ । यो कृति २०८१ चैत्रको अन्तिम सातामा प्रकाशित भयो । १४ बैशाख २०८२ मा विमोचन भयो । नेपाली साहित्यमा सक्रिय अनि स्थापित साथीहरुले नेतृत्व गर्नु भएको सुनकोसी वाङ्मय प्रतिष्ठानबाट यो कृति प्रकाशित भएको हो । प्रिय साहित्यकार छविरमण सिलवाल र प्रदीप सापकोटाको मनसुबाले चोटहरुको उत्सव प्रकाशित भयोे । छविजी भन्दै हुनुहुन्छ, कविताकृति सकियो । दोस्रो संस्करण प्रकाशित गरौँ कि । मेरो ध्येय के थियो भने मेरो कविताकृति प्रकाशित गरेर साथीहरुको पैसा नडुबोस् , सायद त्यसो भएन पनि होला । म खुसी छु । अब दोस्रो संस्करण प्रकाशित गर्ने सन्दर्भमा म डराएको छु । कविताका कृति धेरै बिक्दैनन् भन्ने कुरामा म सचेत छु ।
२, यहाँका यस अघि पनि केही कविताकृति प्रकाशित भएका त छन् , तर अर्को संग्रह प्रकाशित हुन वर्षौँ लाग्यो नि किन होला ?
२०५८ सालमा सागरको वरिपरि मनहरुको समारोह , २०६७ सालमा अचानक यो साँझ र २०६९ सालमा त्रासमा ईश्वर मेरा प्रकाशित कविताकृतिहरु हुन ।
चोटहरुको उत्सव वाह्र वर्ष पछि प्रकाशित भएको छ । कविताका कृति प्रकाशन गर्नका लागि हत्तपत्त प्रकाशकहरु तयार हुँदैनन् । भने कृति प्रकाशनका प्रति म आफै पनि उदासिन भएँ । अर्को कुरा साधनाको तीन दशक भित्र चारवटा कृति प्रकाशित हुनुले पनि म आफु भने डराएको पो छु त । धेरै छिटो कृति प्रकाशित भए कि । तर पनि अन्य साथीहरुका तुलनामा म लेखनमा अल्छी छु ।
३, पत्रकारिताको क्षेत्रमा वर्षौँदेखि हुनुहुन्छ र समसायिक विषयमा आवाज उठाउने खरो पत्रकार भनेर पनि चिनुहुन्छ । पत्रकारितामा उठाउने विषय पनि समाजकै हुन् । के चिज भन्न सकिन्न पत्रकारितामा र कविता चाहिने रहेछ? के रहेछ कविता ?
जीवनजी तपाई पनि पत्रकारिता गर्दै हुनुहुन्छ । पत्रकारितालाई हतारको साहित्य भनिन्छ । पत्रकारिताको भाषा निर्मम नहोस् । पत्रकारिताको भाषाले मानव मनलाई छुन सकोस् भनेर पत्रकातिाको भाषालाई हतारको साहित्य भनिएको होला ।
वास्तवमा पत्रकारिताको भाषा निर्मम नै हुन्छ । पत्रकारिताका हरेक विषय पक्ष र विपक्ष हुन्छन् । नागरिकका कुरा गर्दा सरकार विपक्षमा हुन्छ । सरकार अमूर्त त हुँदैन । सरकारको मूर्तरुप भनेकै मानिसहरुको उपस्थिति हो । सरकारका विपक्षका खबरले सरकारका मानिसहरु चिडिन्छन् । यता नागरिकलाई सन्तोष दिन्छ । यस्तै सरकारका पक्षमा समाचार लेख्दा सरकारका सबै विषय आम नागरिकका सरोकारमा हुन सक्दैनन् । अब ती नागरिकाका सन्दर्भमा त्यो खबर निरपेक्ष हुन जान्छ ।
तर साहित्य त्यस्तो हुन सक्दैन् । साहित्यको भाषा निर्मम पनि हुँदैन् । साहित्य सरकारका मानिस हुन अथवा उद्योगी , व्यापारी र सामान्य मानिस किन नहुन सबैको सापेक्षमा हुन्छ । तर मन छुने नछुने या मन पर्ने न पर्ने भिन्न कुरा । साहित्यले पक्षप्रतिपक्ष भाव उत्पन्न गराउँदैन ।
साहित्यले मानिसको भित्री मन लेख्छ । पत्रकारिताले मानिसको आवरणका आवस्यकता लेख्छ । मेरो ख्यालमा साहित्य र पत्रकारिताको अन्तर भनेकै यही हो ।
४, एउटा कविलाई समाज भित्रको एउटा समाजले मजाक बनाउँछ, अर्को समाजले सत्यको ईश्वरसँग साक्षात्कार गराउने एउटा पुजारी ठान्छ । खासमा कवि को हो? उसको भूमिका के हो समाज र स्वयम् उसका लागि पनि?
कवि समाज भित्रको एउटा सामान्य मानिस हो । तर उसको सोच्ने र विचार्ने चेतना फरक हुन्छ । यसकारण पनि कविले आफुलाई सधै अति सामान्य सडकमा भेटिने नागरिक सम्झनु पर्छ । कवि भगवानको दूत हो भन्ने कुरामा म सहमत छैन् । यत्ति हो विषयलाई नितान्त भिन्न ढंगले हेर्न र बुझ्न खोज्छ, कविले । कविको बुझाई र दृष्टिकोणसँग मानिस वा पाठकले विश्वास गजाउनु पर्छ भन्ने पनि छैन् ।
५, चोटहरूमा उत्सव भेट्ने कविले लेखेको सङ्ग्रहका पाठक को हुन्? तिनले किन पढ्नु पर्ला चोटहरूको उत्सव?
जीवनजी कविताका पाठक सिंगो समाज हुनुपर्छ र हो । अझ प्रेम त सबै उमेर समुह र तप्कामा हुन्छ । यत्ति हो प्रेमको अर्थ र सार्थकता बुझ्ने उमेर भने फरकफरक हुनसक्छ ।
चोटहरुको उत्सव जीवनलाई प्रेम गर्ने । सम्बन्धमाथि गहिरो आश्था राख्ने र प्रेमका पुजारीहरु सबैले पढ्न सक्छन् ।
यी कविताले प्रेमले दिने चोटहरु कहिल्यै दुख्दैनन् भन्ने दावी गरेका छन् । र यी कविताको दर्शन पनि यही हो ।
मैले धेरै ठाउँ भन्ने गरेको छु , कविता अत्यन्तै सापेक्ष र निरपेक्ष हुन्छ् । यो कविताको चुनौती र अवसर दुवै हो । भनेको एउटै कविता एकजनालाई निकै राम्रो लाग्छ । कविताले उसलाई भावुक बनाउँछ । अर्कोलाई मध्यम लाग्ला । अझ अर्कोलाई अर्थहीन लाग्न पनि सक्ला । अर्को कुरा कविता भित्र पसेर पढ्ने र बुझ्ने चेतना सबैसंग हुन्न । कविता बुझ्ने पाठक त कविभन्दा धेरै माथिको कवि हो । तर ऊ अभिव्यक्त हुनसक्दैन् । कविहरु पनि कविता पढ्छन् । उनीहरुलाई आम पाठक भन्न मिल्दैन ।
***
प्रतिक्रिया
-
४
