– त्रिपुरा पोखरेल खरेल
तार्कुको जिरोमा बस्ने ट्याम्के भनेपछि उसलाई नचिन्ने मान्छे बिरलै होलान्।हेर्दा लाटो जस्तो देखिएपनि उसलाई बक्कै लाटो चाहिँ भनिहाल्न मिल्दैन ।उसको उमेर बताउने चिना , जन्मदर्ता र स्कुलको प्रमाणपत्र केही छैन। उसको उमेर त्यस्तै चालिस पैँतालिसको हुनुपर्छ भनेर अनुमान गर्नेहरू पनि धेरैछन् तार्कुमा। उसले लगाएको कन्थाबाट उसको गरिबी झल्किन्छ ।
गरिबी रेखामुनि भएकै कारणले हो कि अथवा उमाथि ईश्वरको कृपा परेर हो सरकारबाट उसले एकतले आवास पाएको छ। कागजी रुपमा पक्का ,मजबुत घर भएपनि उसको घर चुहुने र ठाउँठाउँमा चर्किएको छ। पानी परेको बेलामा घरको भित्तामा ढुसी पलाएर उखरमाउलो हुन्छ । भाग्यले मात्र होइन घर बनाइदिने ठेकेदार र इन्जिनियरले पनि उसको गरिबीमाथि मजाक उडाएका छन्।
ट्याम्के बिहान कुखुरा बास्ने बित्तिकै हातमा पुरानो ट्याम्को बाजा लिएर घरबाट निस्किन्छ।यो खटाइ उसको दैनन्दिनी हो। जिरोबाट उकालो र ओरालो कतातिर लाग्ने हो, उसले तत्कालै निर्णय लिन्छ।जिरोबाट निस्केर ऊ उकालो बेन हुँदै राबुङसम्म पुग्छ, अनि राति आफ्नो घरमा फर्किन्छ। निस्किने र फर्किने उसको दिनचर्यामा कुनै फेरबदल र रोकावट छैन। जिरोबाट ओरालो लाग्दाभने उसको गन्तव्य स्थान सिरवानीसम्म हुन्छ।
एक्काइसौं शताब्दीमा मान्छे भएर जन्मिएको ट्याम्केले स्कुलमा गएर पढ्न पाएन। बाल्यकालमै आमा मास छर्न गइन् ,बाबुले अर्को बिहे गरेर सानीआमालाई लिएर कमाउन गएको मान्छेको अहिलेसम्म अत्तोपत्तो छैन्। उसलाई पढ् भनिदिने कोही भएनन् । उसले साथीहरूसँग खेल्दा कनीकुथी सावाँअक्षर पढ्न सिक्यो ।
ऊ कसैसँग मागेर खाँदैन।`पढेकाहरूलाई सरकारले मुखमा चम्चा पुर्याउनुपर्छ ।पाँचवर्षमा आउने चुनाव उनीहरूका लागि दसैं नै हुन्छ।घरको चुह्लो खर्चदेखि सुत्केरी खर्चसम्म चुनाव उठ्ने नेताले बेहोर्नु पर्छ। परिश्रम नगरी फोकटमा खान रुचाउनेको घरमा महिनौंसम्म चुलो बल्दैन। जनता लालची नभएका भए नेताहरू घुसखोर हुँदैन थिए होलान् । ´ बाटोमा हिंड्दै गर्दा उसको मनमा यस्तै कुराहरू खेल्छन् ।
ऊ चुनावमा रुपियाँ पाउँदा रमाउने र चुनावपछि रुपियाँ नपाउँदा बौलाउने मान्छेको लहरमा पर्दैन । आफ्नो गला र ट्याम्को बाजाको कला देखाएर रुपियाँ पैसा कमाउँछ।उसले आफ्नो कला बेचेर कमाएको रुपियाँबाट एकदुई रुपियाँ उबारेर काठको कन्तुरमा हाल्ने गरेको छ। उसले यो सञ्चय आफ्नो बिहेको लागि गरेको हो भनेर आफूलाई माया गर्ने बलरामलाई सुनाउने गर्छ। ट्याम्के इमान्दार र स्वाभिमानी छ।
“आज मई एक तारिख पो हो ” उसले सिक्किमको अल्मानक ( भित्ते पञ्चाङ्ग) हेर्दै भन्यो। ” आ! आफ्नो सिपले आफ्नो हातमुख जोर्ने मजस्ताका लागि यस्ता दिवसहरू कानो गोरुलाई अौँसी न पूर्णे भने जस्तै हो।” उसले मई एक तारिखबाट आफ्नो दृष्टि हटायो। उसलाई यही सरकारी क्यालेन्डरले वर्ष ,तारिख बार ,अौँसी , पुर्णिमा र चाडपर्वको ज्ञान दिन्छ।
बिहानै सिरबानीतिर लाग्दै गर्दा उसका टोड्का परेका आँखा सिनिमाको ठूलो पोस्टरमा गएर टक्क अडिए। ऊ झस्कियो ,उसका रोमकूपबाट निस्किएका रौँहरू जुरमुराउन थाले। उसले पोस्टरमा भएकी नायिकालाई हेर्दै मुख मिठ्यायो। ” आह! यस्ती सुन्दरी केटीसँग बिहे गर्न पाए त।” उसको निष्क्रिय अवस्थामा रहेको इच्छाशक्ति सक्रिय भएर जाग्यो ।
ट्याम्केले गाउँमा थुप्रै आइमाई ,युवतीहरू देखेको थियो। तर तिनीहरूप्रति उसको ध्यानाकर्षित कहिले भएको थिएन। आफूले चिनेकाहरूलाई उसले आमा, काकी,दिदी ,बहिनी, नानी भनेर सम्बोधन गर्थ्यो।
आज अचानक पोस्टरमा भएकी सिनेमाकी नायिकालाई अर्धनग्न अवस्थामा देख्दा उसलाई रमाइलो लाग्यो।उसका आँखा त्यस फोटोमा देखिएकी युवतीको सुडौल शरीर र नाङ्गो पिँडौलाबाट हटनै मानेनन् । प्रकृतिले उसको मनमा पहिलोपल्ट संभोगको इच्छा जगाइदियो।
” ट्याम्के अंकललाई पोस्टरकी हिरोइनी सारै मनपरे जस्तो छ नि?” एउटा कलेज जाँदै गरेको विद्यार्थीले जिस्कायो।
“आ! बाबु पनि के भाको हौ?” ऊ लाजले रातोपिरो भयो।
” अंकललाई बिहे गर्न मन परेको हो?” उसले नजानिदो पाराले सोध्यो।
उसले आफ्नो टाउको हल्लाएर हो भन्ने संकेत दियो।
” आफू त बूढो भइयो , अंकलकै जमाना छ ,ल ल मोज गर्नुहोस् है। ” भन्दै केटो कलेजतिर हानियो। ट्याम्केलाई नचिन्ने बिरलै होलान् ।उसलाई चिनाउने उसको अविरल यात्रा, अनि उसको गला र ट्याम्को बजाउने कला नै हुनुपर्छ ।
कलेजको विद्यार्थी त्यहाँबाट गइसकेपछि पनि ऊ धेरै बेरसम्म पोस्टरकी नायिकालाई हेरिरह्यो। त्यो सुन्दरी युवतीको हात एउटा युवकले समातेको थियो। आज पहिलोपल्ट उसलाई त्यो पोस्टरको युवकसँग धेरै रिस उठ्यो। “थुक्क लाज पचेको मोरो।” भन्दै ऊ जिरोतिर लाग्यो।
निस्पट्ट अँध्यारोमा चार हातपाउ टेक्दै ऊ घर पुग्यो। असाध्यै भोक लागेको थियो। भातसित रायोको झोल मिसाएर गपागप खानथाल्यो। भात खाइसकेपछि ऊ उपरखुट्टी लगाएर खाटमा पल्टियो। आँखा चिम्लेर निदाउन खोज्दा पनि उसको अगाडि त्यही पोस्टरकी केटी आएर नाँच्न थाली। ट्याम्केलाई त्यसको नौनी घ्यू जस्तो सेतो कम्मरलाई स्पर्श गर्न मनपर्यो। गृष्म र हेमन्तले कठोर बनाएका आफ्ना खस्रा र कठोर हातलाई उसको सुडौल शरीरतिर बडायो।
` घत्र्याक्क´ आवाजसँगै उसका आँखा उघ्रिए । कुपीको मधुरो उज्यालोमा उसले आफ्नो नजर दौडायो। भुइँमा काठको कन्तुर उत्तानो परेर लडिरहेको रहेछ। उसले आफूलाई चिमोट्यो ” ऐ..या दुख्यो।” त्यो घत्र्याक्क गरेको आवाज अर्द्धचेतन अवस्थामा उसले गरेको करामत रहेछ।आकाशबाट पनि गड्याङगुडुङको आवाज उसका कानमा ठोक्किदै थियो। उसले भुइँबाट कन्तुर उठायो।
“निक्कै गह्रुङ्गो भएछ।” ऊ खुशीले चिच्यायो। उसको आवाज डरलाग्दो मेघगर्जनसँगै मिसियो।कन्तुरलाई आफूसुत्ने टाँडको तकिया छेउमा राख्यो । ओछ्यानमा अनि लम्पसार परेर आँखा चिम्लियो।जति आँखा चिम्लिदा पनि उसलाई निन्द्रा लागेन।
पानी परेकोले गर्दा जाडो बडेको थियो। यस्तो जाडोमा पनि ट्याम्के पसिनाले निथ्रुक्क भिजेको थियो। जीउमा आगो सल्केको जस्तै भएर होला उसको ओठमुख सुक्यो।
उसको घरको छेउका रुखहरू काट्दा फरेस्ट बाबुको आरावालाले पाँवटा बाकल, पाँच सय रुपियाँमा उसलाई बेचेको थियो। उसले त्यसलाई ठोकठाक गरेर माटोको गाग्रो र सरकारी सहुलियतमा पाएको ग्यासको चुह्लो राखेको थियो। हुनत उसकोमा सरकारी सहुलियतमा पाएको ,रुपियाँ तिर्नु नपर्ने बिजुली बत्ती पनि छ, तर ऊ कुपी बाल्न मनपराउँछ। ऐजेरु पलाइ सकेको कुपीको सलेदोको मधुरो प्रकाशमा उसले अम्खोरामा मुख नलगाई घाँटी ठाडो पारेर कलकल ध्वनि निकाल्दै पानी पियो।
पानीले नत उसको शरीरको पसिना ओभायो नत तिर्खा नै मेटियो। उसले सिन्दुरको बट्टामा जडेको ऐनामा हेर्दै प्रश्न गर्यो , “पानीले पनि नमेटिने कस्तो तिर्खा लाग्यो हौ मलाई ? ” बत्तीको प्रकाशमा पनि उसले ऐनामा लाजले रातो भएको आाफ्नो अनुहार देख्यो। उसलाई अझ धेरै लाज लाग्यो। उसले सुतेको अवस्थामै ऐनालाई थन्क्याउने काम गर्यो। कुपी निभाएर ऊ फेरि ओछ्यानमा पल्टियो।
उसले त्यो पोस्टरकी हिरोईनलाई सिन्दुर हालेर घर भित्र्यायो। हिरोईनसँग पोस्टरमा टाँसिएको केटो पछ्याउँदै उसको कोठासम्म आइपुग्यो।उसले आफ्नी दुलहीलाई अँगालो मा बेर्यो। “यो मेरी प्रेमीका हो म यसलाई लिएर जान्छु।”त्यसले दुलहीको हात समातेर तान्यो। ” मैले सिन्दुर हालेको छु।मेरी स्वास्नीलाई कसरी लान्छस् म पनि हेर्छु ।” उसले दुलहीको अर्को हात समातेर तान्न थाल्यो।
पोस्टरकी सुन्दरीलाई तानातान गर्दा दुबैजना भुइँमा पछारिए। ट्याम्के निद्राबाट चेतन अवस्थामा आयो।ऊ भुइँमा लडेर तकियालाई न्याक्दै थियो।” थुक्क सपना पो रहेछ! हे भगवान् ! मैले देखेको सपना साँचो होस्।” उसले जीवनमा पहिलोचोटि भगवानसँग केही माग्यो। ऊ खाटमा टुक्रुक्क बस्यो।
“कुखुरी काँ….. कुखुरी काँ। ” खोरको भाले पखेटा भ्याट भ्याट गरेर बास्यो। “कस्तो लोदर भाले रहेछ,जहिलेतहिले कुबेलामा बास्छ। ” उसलाई भालेसँग हुनसम्मको रिस उठ्यो। आजको सपनाले निन्द्रा कचल्टिएर सुत्न सकेन।
चराचुरुङ्गीको आवाजसँगै भाले फेरि बास्यो। टाउको असाध्यै दुखे पनि भातभान्सा गरिसकेपछि ऊ घरबाट निस्कियो। आज फेरि हिजोको पोस्टर टाँगेको ठाउँमा पुग्यो। सपनाकी उसकी बेहुलीलाई देखेर फिस्स हाँस्यो। सपनामै
भएपनि त्यसको सिउँदोमा सिन्दुर हालेको थियो। उसले खुट्टाको बुढी अौँलाले भुइँमा टेकेर सपनाकी दुलहीको खुट्टा मुसार्यो।
यसरी आफूले मनपराएकी केटीलाई माया गर्दै जाँदा सपनाको खलनायकसँग उसको आँखा जुध्न पुगे। “बजियाको आँखा फुटाइदिन्छु ,लन्ठै साफ। लु अब हेर मैले मनपराएकी केटीलाई ।” यसो भन्दै उसले बाँसको झिक्रोले त्यसका दुबै आँखा घोचेर खोबिल्टो नै पारिदियो। बल्ल उसलाई आत्मसन्तुष्टि मिल्यो। अब ढुक्क भएर पोस्टरकी केटीको सौन्दर्यलाई तरलीकरण गरेर त्यसको रसपान गर्न थाल्यो।
यत्तिकैमा चैते हुरीको झोक्का आएर पोस्टरमा ठोक्कियो।
अघि आँखा घोच्दा पोस्टरको एक चौथाई भाग च्यात्तिएर कमजोर भएको थियो। हावाको झोक्काले त्यसलाई उडाएर तल टिस्टाको बगरसम्म पुर्यायो। “लौन नि अब म के गरौं !” आफूले अौधी नै मनपराएकी नायिकालाई हावाले उडाएको देख्दा ऊ विचलित भयो। टिस्टा बगरसम्म पुग्नु उसका लागि असम्भवको चिन्ता थियो। ऊ रुँदै उकालो लाग्यो।
“हन , यो अंकललाई फेरि के भयो ?” हिजोकै विद्यार्थीले रुँदै हिंडेको ट्याम्केलाई हेर्दै सोध्यो।कुनै उत्तर नपाएपछि ऊ कलेजतिर लाग्यो। हिजो जुन इच्छा र उमङ्ग थिए ,ती सबै सेलाएको अनुभव गर्यो उसले। जाँगर र उद्वेग हराएपछि ऊ आफ्नो क्लान्त शरीरलाई घिसार्दै उकालो लाग्यो।
मनबहादुरको घर अगाडिको सडकमा ऊ ठिङ्ग उभियो।
“ओइ ! सधैँ हाँस्दै ,गाउँदै, ट्याम्को बजाउँदै उकालो ओरालो गर्थिस्, हन ! आज तँलाई के भयो हँ? कि तँलाई सन्चो भएन?” मनबहादुरले यति सोधिदिंदा उसलाई डाँको छोडेर रुन मनलाग्यो तर फेरि आफूलाई संयम गरायो। अनि टाउको हल्लाएर केही भएको छैन भनी इशारा गर्यो।
मनबहादुरले ट्याम्केको सुन्निएको आँखा र थकित अनुहारलाई हेर्दै भन्यो,” तँ त्यति कमजोर छैनस्।जस्तोसुकै परिस्थितिको सामना गर्ने क्षमता तेरो छ। कुनै अड्चन, विध्नवाधा र दु:ख आइपरेमा मलाई सम्झनु।” उसले टाउको हल्लाएर हुन्छ भन्ने संकेत दियो अनि घरतिर लाग्यो।
ऊ घर पुग्दा रात परिसकेको थियो। उसलाई भोक,तिर्खा केही थिएन। लुगा नफेरी ओछ्यानमा पस्यो। उसको तन र मनमा हिजोको जस्तो गुदगुदी थिएन। कम्बलले मुख छोपेर सुत्यो। सपनामा त्यही पोस्टरकी केटीले उसको हात समाउन खोज्दैथिई। उसले खलनायक ठानेको केटोले बगरबाट उसलाई आफूतिर तान्दैथ्यो ।कसोकसो गर्दा उसको सपना टुट्यो ।
फेरि उसले सपना देख्यो।यो सपना हिजोको सपना र भर्खरै देखेको सपनाभन्दा भिन्न थियो।जिरोदेखि माथि पैह्रो चल्दैथियो।पारीबाट एउटी लगभग चालिसकी महिलाले उसलाई पैह्रो तारिदिने आग्रह गरी। माथिबाट ढुङ्गा लड्दै थिए। उसले त्यो आइमाईलाई पोस्टरकी केटीभन्दा सुन्दरी देख्यो अनि आफूलाई पोस्टरको केटाभन्दा बहादुर ठान्यो।
ढुङ्गा खस्न कम्ती भएपछि ऊ कुदेर सडक पारि गयो र त्यो आइमाईको हात समाएर वारि ल्यायो। उसको स्पर्शले उसको मरिसकेको इच्छा फेरि जाग्यो।उसले हात समातेर त्यसलाई घरमा भित्र्यायो।भोलिपल्ट बिउँझिदा त्यो आइमाई उसको ओछ्यानमा थिइन। ट्यम्के उसलाई खोज्न गाउँ पस्यो। मनबहादुरको घरको खुल्ला झ्याल ढकढक्यायो ।मनबहादुरले झ्याल खोलेपछि उसले सोध्यो , ” दाजु, तपाईले मेरी स्वास्नी देख्नुभयो? मनबहादुरले छैन भनेपछि उसले अरू दुईचार घर चहार्यो तर कतै भेटेन। ऊ लाचार भएर घर फर्कियो।
फेरि पैह्रो चल्यो। ढुङ्गा लडेको ठूलो आवाजले ऊ ब्युँझियो।बाहिर चट्याङ परेको रहेछ। “त्यसका बाबुको ठाँडो सपनाले कति झुक्याएको।” ऊ भित्रभित्रै मुरमुरियो। उसलाई हिजो राति देखेको सपनाभन्दा अहिले देखेको सपनाले अझ धेरै रुवायो।” आ! एउटी गई अर्की आई,अर्की गई अब फेरि अर्की आउँछे।” ऊ अब पूरै आशावादी बन्यो।
बाहिर अल्लारे केटाहरू गाउँ उचाल्ने गरी गीत गाउँदै थिए। ए! मध्यरात पनि भएको रहेनछ ,अब सुत्छु।” ऊ आँखा चिम्म गरेर सुत्यो ।अहिले उसको अँगालोमा त्यो चालिसकी आइमाई होइन ,कल्पनाले जन्माएको अर्की सुन्दरी बेरिएकी थिई।
” ओहो! घाम पनि झुल्किसकेछ।” ट्याम्के हतारहतार उठ्यो। आफ्नो नित्य कर्म सकेपछि हातमा ट्याम्को लिएर बाहिर निस्कन लाग्दा पछाडि फर्केेर भित्तामा झुन्डिएको ऐनामा हेर्यो।उसलाई आफू धेरै राम्रो लाग्यो।” ए ऐना! म पनि पोस्टरको केटाभन्दा केही कम छैन ।” आज उसको रुप र पुरुषत्वको साक्षी ऐना नै भयो। उसले कन्तुरलाई पुलुक्क हेर्यो।
घरबाट बाहिरिएपछि ऊ जिरोमा पुगेर टक्क अडियो । ओराले लागेको नागबेली सडकलाई पिच्च थुकेर ट्याम्को बजाउँदै उकालो लाग्यो। आज उसको शरीरमा स्फूर्ति थियो।
गाउँको मुखिया जीवरामको करेसाबारीको धारामा लाटी कान्छी नाङ्गै नुहाएको दृश्यले उसको पाइला उकालो सर्न मानेनन् । ऊ ठिङ्ग उभिएर लाटी कान्छीलाई हेरिरयो।
उसलाई सपनामा सिन्दुर हालेर दुलही बनाएकी पोस्टरकी ठिटी, पैह्रोमा सहायता गरेको चालिसकी आइमाईभन्दा लाटी कान्छीको रुप र शारीरिक बनावट अौधी मनपर्यो।उसको रुप र नग्नताले उसका मृतप्राय: कोशिकाहरू बौरिएर जुरमुराउन थाले। उभित्रको मनुवालाई यो दृश्यले झन् विचलित तुल्यायो।
नुहाउँदै गर्दा कान्छीले ट्याम्केलाई देखी। ऊ लाजले रातो भई।उसले आफ्नो लाजलाई दुवै हातले छोप्ने प्रयत्न गरी तर विफल भई। पानीले भिजेको उसको अनुहारमा रगत चढ्दा उसको रुपमा झन निखार आयो।उसले हातको इसाराले मलाई नहेर लाज लाग्छ भनी। ऊ त्यहाँबाट टसमस भएन। उसले एउटा सानो ढुङ्गा टिपी , ट्याम्केले उसको हातको नाडी च्याप्प समात्यो । पुरुष स्पर्शले उ विचलित भई।
” तिमी मसँग बिहे गर्छौ ? उसले हातले पिं .. पिं बाजा बजायो।कान्छीले बाजाको ध्वनि नसुने पनि हातले बाजाको आकार बनाएको बुझी।बोल्न नसकेर के भयो र! प्रकृतिले उसलाई बिहेको अर्थ सिकाइसकेको थियो। यसपालि लाटीलृे पनि यो सुनौलो मौका गुमाउन चाहिन।उसले बिहेको लागि स्वीकृति दिई।
त्यो नाङ्गो आकाशमा धारालाई साक्षी राखेर ती दुईले स्वेच्छाले शारीरिक सम्बन्ध राखे ।हग्नेलाईभन्दा देख्नेलाई लाज हुँदोरहेछ । यो घटनालाई प्रत्यक्ष देख्नेहरूले आफ्ना दुबै आँखालाई हातले छेके। आजबाट ट्याम्केको सम्भोगको इच्छा पूरा भयो। यो घटनाको पाँच महिनापछि लाटी कान्छीको बढेको भुँडी देखेर गाउँलेहरू बिचमा चर्चा चल्नथाल्यो।
लाटी कान्छीको गर्भमा रहेको बच्चा ट्याम्केकै हो भन्ने सबैलाई थाहा भइसकेको थियो।जीवराम काजीले पनि गाउँलेसँग सरसल्लाह गरेर ट्याक्के र लाटी कान्छीको बिहे गरिदिने निधो गरे।केटीको बाबुको भूमिका जीवराम काजीले निभाउने भए।केटोको बाबु मनबहादुर बने।
बिहेको कुराले ट्याम्केको भुइँमा खुट्टा थिएन। उसले कन्तुर खोलेर रुपियाँ पैसा गन्यो। पन्ध्र हजार भएछ। ” कान्छीलाई भित्र्याउन यसले जत्ति पुग्छ।” उसको जीवनमा खुशीपछि खुशी थपिदै गए।
बेहुली भित्र्याएको रात कान्छीसँग उसले धेरै कुरा गर्यो। उसले कान्छीको हात मुसार्दै भन्यो, कान्छी मलाई पोस्टरकी हिरोईनले सपनामा धोका दिई, अर्कीले पनि मलाई त्यसरी नै धोका दिई।तिमीले मलाई कहिले धोका नदिनु है।म तिमीलाई धेरै माया गर्छु।धारामा तिमीले मेरो इच्छा पूरा गरिदियौ।यसरी नै मेरो इच्छा पूरा गरिदिनु ल ।” कान्छीले ट्वाल्ल परेर उसलाई हेरेपछि ट्याम्के झसङ्ग भयो ,” ए गाँठे ! म पनि के भाको हँ? मेरी कान्छी लाटी पो हो।”
कान्छीले हातले के के इशारा गरी उसले बुझेन तर उसलाई चाहिने एउटा इशारा चाहिँ उसले बुझ्यो।ट्याम्केले उसको ठूलो भुँडी मुसार्दै उसलाई अँगालो हाल्यो। तिनीहरूको लामो सासले टुकीको बत्ती झ्याप्प निभ्यो।
***
प्रतिक्रिया
-
४
