
नेपाली काव्यिक वृत्तमा नवीन भाव, विम्ब र शैलीका साथ उदाएका चम्किला कवि हुन्, उमेश ‘अकिञ्चन’ । ‘सायद किनाराहरू’ उनको तेस्रो काव्यकृति हो । उनका कवितामा सघन काव्यिक अनुभूति र तीक्ष्ण अन्तर्दृष्टि पाईन्छ । सन् २०१० मा अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगितामा उनले प्रथम पुरस्कार जितेका थिए । रवि साहित्यिक सम्मान, पाँचथर साब्लाबुङ सम्मान, हङकङ र महामण्डल साहित्यिक सम्मान, नुवाकोट द्वारा सम्मेत उनी सम्मानित छन् ।
‘अकिञ्चन’को भर्खरै प्रकाशित कविता कृति ‘सायद किनाराहरू’मा आधारित भएर कविसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र जवाफ;
१, सायद किनाराहरू सङ्ग्रहका बारेमा छोटकरीमा बताईदिनुहोस् न ।
विषयको विविधता, बुनोटको फरकपना,सरलमा सरल र कठिनमा कठिन ४१ वटा कविताहरूको सँग्रह हो यो । १४ वर्षको अवधिमा, एक कवि मनले सोचेका,देखेका र भोगेका समयको समष्टि भन्नु अझ उपयुक्त होला ।
२, यसअघि पनि यहाँको कविता सङ्ग्रह प्रकाशित भएको थियो । तर अर्को सङग्रह आउन वर्षौँ लाग्यो । किन? तपाईँलाई अल्छी कवि भन्यो भने रिसाउनुहुन्छ होला हैन्?
म कवितालाई आविष्कार मान्दछु । आविष्कार रहरले वा लहडले हुने विषय होइन । कम्तिमा म यो विश्वास गर्दछु । म आफूलाई अल्छी भन्दा पनि जिम्मेवार कवि ठान्दछु ।
शब्दहरूको फारोपन, शब्दहरूको ताजापन नै कविता हो । नयाँ क्षितिजको खोजमा निक्लदा, केही ढिला हुनु स्वभाविक हो ।
म आत्मविश्वासी मानिस हुँ, कसैका भनाइले भड्किने, रिसाउने मेरो स्वभाव छैन ।
३, हाल तपाईँ नेपालको प्रशासनिक क्षेत्रमा हुनुहुन्छ ।
फेरि कविता पनि लेखिरहनुभाछ । याहाँको जागिरे जीवन र कवितामा आफैँले लेख्ने जीवनको तालमेल के कसरी भएको छ?
जागिरको समय बिहान १० बजे देखि ५ बजे सम्म हो । त्यसपछि त आफ्नै समय हो । जीवन भाइलाई पनि थाहा छ, म जागिर गर्नु अघि देखि नै शब्द साधनामा थिएँ ।
सो साधनाले लेखनमा अभ्यस्त बन्न मदत गर्यो । जागिरे जीवनले पनि कविताका कच्चा पदार्थ जोरजाम गर्न सहयोग नै गरेको छ । यद्यपि यसका सिमाहरू पनि छन् ।
४, वर्षौँ अघि यहाँको कविताले हजार डलर सहित नेपाली भाषा साहित्यमा काम गर्ने अमेरिकाको संस्थाबाट पुरस्कृत हुनभाथ्यो । त्यो थोरै सम्झिँदै एउटा कविलाई पुरस्कारले कस्तो अर्थ राख्छ? भनिदिनुहोस् न ।
म प्रतियोगिताले जन्माएको कवि हुँ । वि.सं. २०५६-५७ तिर पूर्वमा हुने प्रायः कविता प्रतियोगितामा भाग लिएर, सबैमा प्रथम पुरस्कार जितेको नजिर थियो ।
म काठमाडौं आएपछि, प्रतियोगितामा भाग लिएको थिइँन । सन् २०१० मा, कान्तिपुर दैनिकमा एउटा विज्ञापन पढेँ । जुन विज्ञापन कविता प्रतियोगिताको थियो । जहाँ प्रथम हुने कवितालाई एक हजार यु.एस. डलर दिइने उल्लेख थियो ।
उक्त प्रतियोगितामा, मैले कविता पठाएँ ।संयोगवश, यस प्रतियोगितामा पनि म प्रथम नै भएँ । ततपश्चात मैले कुनै कविता प्रतियोगितामा भाग लिइन ।
जहाँसम्म पुरस्कारको सवाल छ, पुरस्कारले निश्चय नै थप उर्जा दिन्छ । तर, पुरस्कार कस्ले, कसरी पायो मुख्य सवाल त्यो हो जस्तो लाग्छ ।
५, कविता भनेको के रहेछ? यो सङग्रह आफू सायद हुन नसकेको पानी सम्झेर किनार हुँ ठान्नेलाई मात्र हो कि अरू पाठकलाई पनि हो यो कृति? वा पाठकले किन पढुन भन्ने लाग्छ?
कविता मेरा लागि, साधना हो । अझ बढि जीवन सूत्र । ‘सायद किनाराहरू’, कविता बुझ्ने सबैका लागि हो ।
शब्दहरूको सन्निकटता, प्रयोगहरूको प्राथमिकता र उज्यालोको उकालो थाहा पाउन यो सङ्ग्रह पढ्नु पर्छ भन्ने लाग्छ ।
***
प्रतिक्रिया
-
४