– बिसुकुमार केसी
कवयित्री
कलमको काँइयोले कपाल होइन अक्षरहरू कोर्छिन
कवयित्री
भाषाको नाङ्लोमा चामल होइन अक्षरहरू केलाउँछिन ।
कवयित्री
भावको पोखरीमा नुहाउँछिन र
विचारको साबुनले अभिव्यक्तिहरू
धुन्छिन
सम्वेदनाले निथ्रुक्क भिजेका पङ्तिहरू
कागजमा फिँजाएर
साहित्यको घाममा सुकाउँछिन
कवयित्री
परेलामा मस्कारा लाएझैँ अक्षरहरू चम्काउँछिन
तिहारको टीकाझैँ शब्दहरू सजाउँछिन
सयपत्रीको मालाझैँ वाक्यहरु मिलाउँछिन
कवयित्री आफुलाई भन्दा
हृदयको ऐना अघि उभ्याएर कवितालाई सिंगार्छिन।
कवयित्री
बिम्वहरूको विपश्याना गर्छिन
प्रतिकहरूको पूजा गर्छिन
उपमाहरूको आराधना गर्छिन
कल्पनासंग प्रेमालाप गर्छिन
अनुभूतिहरू गर्भाधान गर्छिन
अनि कवयित्री
गर्भाधानको गर्व
प्रसवको पीडा मिलाएर
कविता जन्माउछिन ।
***
प्रतिक्रिया
-
४
