– जीवनपानी
गजल १,
बाटो हुँ ! टेकाउँथें , टेकेनन् ; मैले के गरूँ ?
चिनिन्थें , अनुहारै हेरेनन् ; मैले के गरूँ ?
किनकि यो आत्माले नबोली ; सबै बोल्दछ !
सुनेर कृष्णलाई , लेखेनन् ; मैले के गरूँ ?
“ध्वनि हुँ , प्रतिध्वनि म दिन्छु ; आऊ खेलाऊ!”
भनेथें , किन्तु कोही खेलेनन् ; मैले के गरूँ ?
“लामो छ , पर्खाइको गोरेटो ; ढिलो नगर !”
ऐनाले भुलाएछ , भेटेनन् ; मैले के गरूँ ?
‘पानी’को कहानी हुँ , म बिक्छु;नाफैनाफामा !
बेचे पो म बिक्दथें , बेचेनन् ; मैले के गरूँ ?
गजल २,
कण-कणमा आकर्षण, चुम्बक जिन्दगी ;
क्षण तत्क्षण विलक्षण, रोचक जिन्दगी !
शेष विशेष विशेषण, जोश जागरण ;.
गुण सद्गुण परिपूर्ण, सार्थक जिन्दगी !
वर्ण सुवर्ण आभूषण, रूप अलौकिक;
आचारण उदाहरण, फरक जिन्दगी !
राग पराग परागण, बीज अङ्करण ;
हराभरा वातावरण, कृषक जिन्दगी !
समीकरण साधारण, जाँच परीक्षण ;
व्याकरण हस्तान्तरण, पुस्तक जिन्दगी !
***
प्रतिक्रिया
-
४