-कल्पना तामाङ 

मुक्तक १

भगवान कसले बनायो भुत कसले बनायो
पुजारीलाई भगवानको दुत कसले बनायो
अरू केही नजानेनी यत्ति कुरा जान्न मन छ
समाजमा जातभात छुवाछुत कसले बनायो

मुक्तक २

लाखौँ झुप्रा मासेर एउटा दरबार बन्यो
सानो माछा ठूलो माछाको शिकार बन्यो
हाम्रो तिर त सिटामोल पनि पाईन्न यार
बन्न त मुटु फेर्न सक्ने पनि उपचार बन्यो

मुक्तक ३

जोड्न सजिलो छ, बचाउन गार्हो छ
रुवाउन सजिलो, हसाउँन गार्हो छ
शंकाले लङ्का जल्ने समय छ अझै
विश्ववासको पर्खाल लगाउन गार्हो छ

मुक्तक ४

कति भन्नु घरिघरि कहिले होला समानता
प्रश्नै प्रश्न थरिथरि कहिले होला समानता
लाग्छ यही प्रश्न अझै पुस्तौँ पुस्ता रहन्छ
नर नारी बराबरि कहिले होला समानता

मुक्तक ५

तिमीलाई नजरबाटै खस्न मन छ भने
यो दिलको ढोका बाहिर बस्न मन छ भने
आउ देखाउ पुरुषार्थ, के भन्न सक्छु म

यो मुटुमा अर्को छुरा धस्न मन छ भने

प्रतिक्रिया

सम्बन्धित खवर