नवशीला

१,
कहिले सम्म चली रहन्छ राजनिती खेला हजुर,
ठुला माछा काम बिगार्ने सानो पर्छ फेला हजुर,
भ्रष्ट हरुकै मनोमानी उनि हरुकै बोलवाला छ,
लुटिन्छ यहाँ नाङ्लो पसल गरिवको ठेला हजुर

२,
एउटा लड्छ चिप्लिएर अर्को ताली पिट्छ यहाँ,
लड्ने भिड्ने काट्ने मार्ने बिकृती छ अहिले जहाँ,
घाउ माथी नुन चुक छर्नै हतार हुन्छ हामीलाई,
सकियो मानवता हजुर दया माया गयो कहाँ

३,
दलाल हरु देश चलाउछन् जनतालाई रुवाएर,
चुनाव जित्छन् गरिवलाई रक्सी मासु खुवाएर,
सत्ताशक्ती पद जोगाउन झोले हुक्के अघी सार्छन्,
भ्रष्टचारको कमाइलाई राख्छन तीनले कुवाएर।

४,
बेथिति र भ्रष्टचार छ मार खेप्ने चाहीँ गरिव हुन्छन्,
बिरोध गरे सत्य बोले पापी मिल्छन् मुख नै थुन्छन्,
खुरापाती दलाल हरुकै नियम अनि कानून चल्छ,
देशद्रोही सब मिली यो देश सक्ने तानाबाना बुन्छन्।

५,
आगो ताप्छन् पापीहरुले पहिचानलाई जलाएर,
खुन पसिना चुसी रा’छन् श्रमजीवीलाई गलाएर,
बाहिर बिरोध गरे जस्तो भित्र यिनको मिली भगत,
देश लुट्याछन् दलालहरुले सत्ता शासन चलाएर।
***

प्रतिक्रिया

सम्बन्धित खवर