✍️ लिली अधिकारी
मुक्तक – एक
गरी खाने भन्दा यहाँ मागी खाने धेरै भए
माग्दा नदिऊँ भने पनि सबै जना मेरै भए
जमात रहेछ हात दिँदा डुँडुँलो निल्नेहरूको
माग्दा मुसो बन्नेहरू फिर्ता दिनेबेला शेरै भए ।
मुक्तक – दुई
बादल ओडेर हिँड्नेलाई थाहा हुन्छ चिसोले छल्नुको पीडा
आगो बोकेर हिँड्नेलाई थाहा हुन्छ तातोले जल्नुको पीडा
जिन्दगी कति निरस हुन्छ भन्ने कुरा महाशय
रहर रोकेर बाँच्नेलाई थाहा हुन्छ सपना उड्नुको पीडा
मुक्तक – तीन
रातबाट झरेको शीत हुँ, कर्कलाको पातमा छु,
कतिबेला सकिन्छु खै, भेन्टिलेटरको सासमा छु
मेरो वास्तविकता देख्ने, बुझ्ने धेरै हुँदाहुँदै पनि
जसले कत्ति पनि बुझ्दैन, म उसकै हातमा छु।
मुक्तक – चार
ब्रह्माण्डमा दिन , रात अनि घाम र जून छन्
सम्झन्छु कसैका गुन छन् कसैका बैगुन छन्
होलान् कतै एकैछिन थकाई मार्ने चौतारीहरू
हेर्दैछु, जुनीभरी साथ दिने कहाँनिर कुन छन् ?
मुक्तक – पाँच
उसले साथ माग्यो उसैको लागि काँडाहरू तर्काइदिएँ
मनले चाहेको अर्कै भए पनि उसैतिर मन मर्काइदिएँ
बडो आशाले मत दिएँ ,गर्छु भनेको पनि केही गरेन
फेरि आयो ऊ, यसपालि चाहिँ रित्तो हात फर्काइदिएँ ।
प्रतिक्रिया
-
४
