उषा शेरचन नेपाली साहित्यमा परिचित नाम हो । यामकुमारी र झपटबहादुर भट्टचनकी सुपुत्री उषा शेरचन २०१२ भदौ ६ गते पोखरामा जन्मिनुभएको हो । स्नातकसम्मको औपचारिक शिक्षा प्राप्त शेरचन हाल पुलचोक, ललितपुर बस्नुहुन्छ । २०३५ सालमा गोरखापत्रमा ‘जिन्दगी’ शीर्षकको कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा झुल्किनुभएकी शेरचनको पहिलो कृति ‘नजन्मेका आस्थाहरू’ (२०४८) कवितासङ्ग्रह हाे । तेस्रो रङ, बेग्लै म कथा सङ्ग्रह, आधि उपन्यास उहाँका चर्चित कृतिहरू हुन् । उहाँका केही मुक्तकसङ्ग्रह तथा गीति एल्बमहरू पनि प्रकाशित छन् । शेरचन पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), भूपी स्मृति सम्मान (२०५७) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित स्रष्टा हुनुहुन्छ ।

उषा शेरचनको भर्खरै त्रासदीका हिमनदी मुक्तक सङ्ग्रह प्रकाशित भएको छ । यसै कृतिमा आधारित रहेर सम्पादक जीवन खत्रीले शेरचनसँग गरेको पाँच प्रश्न र उत्तरहरू :

 

१, त्रासदीका हिमनदी मुक्तक सङ्ग्रहका बारेमा छोटकरीमा परिचय गराईदिनुहोस् ।

नमस्कार सहित प्रश्नका लागि हार्दिक धन्यवाद मलाई मनपर्ने मध्येका युवा कवि मध्येका एक चर्चित कवि एवम् सम्पादक अनि साहित्यिक अभियन्ता र भर्खरैजसो कोरयामा रेड कार्पेटका लागि निम्तो पाउन सफल कवि जीवन खत्री भाइ !

– पोखरेली युवा साँस्कृतिक परिवारद्वारा नेपाल अधिराज्यमैँ पहिलोपटक ‘टिकटमा मुक्तक’ कार्यक्रमको थालनी गरेको पनि झन्डै झन्डै आधा शताब्दी हुनै लागेको र, मेरो पहिलो मुक्तक सङ्ग्रह ‘अक्षरहरूका शिविरबाट’ लोकार्पण भएको पनि पच्चीस बर्ष पुरा भएको सन्दर्भ पारेर मेरो पहिलो मुक्तकसङ्ग्रह ‘अक्षरहरूका शिविरबाट’  (२०५६) प्रकाशन भएपछि लेखिएका सबै मुक्तकहरू सङ्ग्रहित गरेर प्रकाशित गरौँ भन्ने सोचको उपज हो यो मेरो दोस्रो मुक्तकसङ्ग्रह ‘त्रासदीका हिमनदी’ !

यसरी झन्डै आधा शताब्दी अघि देखि भन्नाले जहाँबाट मेरो मुक्तक लेखनको यात्रा सुरु अर्थात् थालनी भयो त्यही नै विटमार्रौँ भन्ने हेतुले पहिलोपटक उपत्यका बाहिर लोकार्पणका लागि आफ्नै माइती सुन्दर पोखरा, आफ्नै संस्था पोखरेली युवा साँस्कृतिक परिवार र उही स्थान पोखरा उद्योग वाणिज्य संघ रोजेकी हुँ मैले । पोखराबाटै सुरु गरेको मेरो मुक्तकको यात्रा पोखरामानै अन्त गर्ने सोच अर्थात् व्रत सुरु गरेपछि व्रतको साँगे गरेझैँ गर्ने सोचको उपज पनि हो भाइ यो मेरो दोस्रो मुक्तकसङ्ग्रह ‘त्रासदीका हिमनदी’ ।

२, पोखरा मुक्तकको लागि बिशेष भूमि हो । टिकटमा मुक्तक सुनाउने परम्परा पोखरालेनै गरेको थियो । यहाँ पोखराकी छोरी र मुक्तकमा यहाँलाई मुक्तक साम्राज्ञी भनेर सम्बोधन समेत गरिन्छ । यसकारण पनि  यहाँको परिभाषा बिशेष हुन सक्ला । खासमा मुक्तक भनेको के हो?

हजुर हजुर अवश्य हो । त्यसैले त पोखरालाई ‘मुक्तकको राजधानी’अनि ‘मु्क्तक सुन्न पोखरा जानु’ पनि भन्ने गर्छन् । तर हाम्रो पालामा त मुक्तक के हो ? कस्तो हुनुपर्छ भन्ने ज्ञान त के ? कविता बाहेक काव्यको मुक्तक हुन्छ भन्ने नाम पनि सुनेकी थिइनँ मैले त झन् !

मैले सधैँभरि भन्दै आएकी छु कि काव्य भनेकै पाठकको मनमस्तिष्कलाई छुने शाब्दिक कला हो भनेर। आजको व्यस्त समयमा मान्छेलाई पढ्ने फुर्सद पनि कहाँ हुन्छ र ? त्यसैले एउटा सिङ्गै जीवन र जगतलाई चारलाइनको मुक्तकमा समय थोरै खर्चगरेर पढ्न सकिने बिधा भएको हुनाले पाठकहरुले निकै रुचाउने बिधा नै मुक्तक भएकोछ । यो साहित्यको लधुतम बिधा भएको हुँदा छोटो मिठो र चोटिलो अनि मनछुने खालको त हुनै पर्‍यो। मुक्तक ज्यादै सम्प्रेषणीय माध्यम पनि हो । र, मुक्तकको शक्तिले एउटा सिङ्गो समाज र देशलाई समेत परिवर्तन गर्न सक्दोरहेछ भन्ने ज्वलन्त प्रमाण स्वरुप २०३५/३६ सालको साहित्यिक आन्दोलन ‘सडककविता क्रान्ति’लाई पनि लिन सकिन्छ । जहाँ हामी साहित्यकारहरु सबै सडकमा उत्रेर सर्वसाधरण जनताहरुका माझ बसेर मुक्तक सुनाउने गरेका थियौँ ।
हुनत ऋग्वेदकाल देखि नै मुक्तको अस्तित्व रहँदै आएको भन्ने भए तापनि पछिल्लो चरणमा मुक्तक विधालाई प्रसिद्धि दिने साहित्यकारहरुमा भिमदर्शन रोका, हरिभक्त कटुवाल, भूपि शेरचन, चेतन कार्की, मोहन हिमांसु थापा, रत्न शमशेर थापा आदिपछि फेरि मुक्तक लेखन केहीहदसम्म सेलाएझैँ भएको बेलामा २०३५ सालमा “पोखरेली युवा सांस्कृतिक परिवार”को आयोजकत्वमा हामीले पोखरामा “टिकटमा मुक्तक” सुन्ने परम्पराको थालनी गर्‍यौँ । र, नेपालमै पहिलो पटक हामीले सशुल्क मुक्तक सुनाउने कार्य सफलतापूर्वक सम्पन्न गरेका थियौं ।

उक्त कार्यक्रमा हामीले अग्रज स्रष्टा हरिभक्त कटुवाल दाइलाई प्रमुख अतिथि बनाएका थियौँ । र, उहाँ काठमाडौँ देखि पोखरामा आउनुभएका थियो । उहाँकै प्रमुख आतिथ्यमा सम्पन्न पहिलो कार्यक्रममा कटुवाल दाइले हामीलाई मुक्तक अरबी—फारसी काब्यधाराको रुवाइयात छन्द जसमा चार समवृत्त हरफहरु हुन्छन् र एक मात्र तेस्रो हरफ अन्त्यानुप्राशविहिन हुन्छ भनेर परिभाषित गर्नुभएको थियो । उहाँले भन्नुभएजस्तै अहिले मुक्तकको मानकरुप चतुष्पदीयजस्तै नै भएको छ । र, यही चार हरफमैँ बढी लेखिएको पाइन्छ पनि ।
कवितालाई निचोरेपछि मात्र मुक्तकको जन्म हुन्छ ।

३, प्रश्न पुरानै तर उत्तर नयाँ पाउने अपेक्षा सहित… । यहाँलाई मुक्तक साम्राज्ञी किन भनिएको हो ? आजसम्म आईपुग्दा यो सम्मानसूचक शब्दले यहाँमा पारेको प्रभाव, धारणा के कस्ता छन् ?

– खासमा मलाई मुर्धन्य अग्रज कवि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति एवम् केदार मान व्यथित दाइले काठमाडौं ज्याठा स्थित आफ्नो निजी निवासमा अक्सर कविगोष्ठीको आयोजना गरिरहने गर्नुहुन्थ्यो । र, उक्त गोष्ठीमा मलाई पनि नछुटाइकन बोलाउनुहुने थियो । अनि नइ उतिबेला नइ भइ नसके पनि गहिरो प्रेममा हुनुहुन्थ्यो कि त दुवैसँगसँगै आउने गर्नुहुन्थ्यो श्रद्धेय कवि केदारमान व्यथित दाइको निम्तोमा । कवि केदारमान व्यथित दाइले पनि मुक्तक लेख्ने गर्नुहुन्थ्यो अनि त्यसबेला खोइ किन हो मुक्तक लेख्ने नारी हस्ताक्षरमा एक्लो वृहस्पति भनेझैँ म मात्रै भएको र मुक्तक सुनाउने क्रममा उहाँले स्नेहवश “मुक्तक सम्राज्ञी” भन्नुहुने कारणले सोही कुरालाई थप उजागर गर्नुहुँदै नइ अर्थात् नरेन्द्रराज प्रसाईँ भाइ र इन्दिरा प्रसाईँ बहिनी त्यसमध्ये पनि बिशेषत नरेन्द्रराज प्रसाईं भाइले जहिल्यैसुकै र जहाँ पनि “मुक्तक सम्राज्ञी उषा शेरचन ददी”भनेर सम्बोधन गर्नुहुँदा मलाई अत्यन्तै लज्जाबोध हुने कारणले कति पटक विनय गरेँ “कृपया मलाई यो सम्बोधन नगरीदिनु भाइ” भनेर किनभने मलाई बरिस्ठ समेत भनेर सम्बोधन गरेको समेत खासै मनपर्दैन भने ” मुक्तक सम्राज्ञी” पदवी त झन् परको कुरा भयो ! तर भाइले मान्ने भए पो । भाइले सम्बोधन गर्ने गर्नुभएपछि अरूले पनि भन्न सुरु गर्नुभएका छन् । यसबारे अन्य थप कुरा म स्वयंले के भनौँ?

४, नेपाली मुक्तक मञ्चमा सुन्न मज्जा तर पढ्न पाठकले खासै जाँगर नगरेजस्तो लाग्छ । समस्या पाठकमा कि लेखकमा?

– आफूले भन्न खोजेको कुरालाई चार हरफमै लेख्नु पर्ने हुँदा साहित्यका अन्य विधाभन्दा यो विधा चुनौतिपूर्ण त हुन्छ नै । मुक्तक साहित्यको लघुतम काव्य विधा भएतापनि यो वाचन गर्दा श्रुतिमधुर काव्य भएको कारणले गर्दा नै पाठक र श्रोताहरु माझ निकै लोकप्रिय बिधा भएको पनि हुनसक्छ । त्यसकाण साहित्य सभा समारोहहरुमा श्रोताहरुले अत्यधिक सुन्न मन पराउने विधा भनेकै मुक्तक हो भने पनि फरक नपर्ला सायद ।
मुक्तकभित्र युगले भोग्न अभिशप्त समयका त्रासदीहरु, विकृति र विसङ्गगतिहरुलाई यथार्थ रुपले उतार्न आशा, निराशा, आक्रोश, कुण्ठा, माया प्रेम सबै युगबोध समाहित हुन्छन् । मुक्तक साहित्यको लधुतम काव्यात्मक संरचना भए तापनि आफैँमा एउटा पूर्ण काव्यबिधा हो । त्यसैले त एउटा सानो मुक्तक भित्र सिङ्गो ब्रमाहण्ड पनि अटाउन सक्छ ।
पाठकगणले त माया गरेकैझैँ लाग्छ ।
हुनत कसै कसैले पूर्ण विधा होइन पनि भन्ने गर्छन् । मुक्तकको इतिहास धेरै पुरानो भए तापनि अन्य विधाको दाँजोमा यो विधा अलि पछाडि परेको वा पारेको सत्यतथ्य मुक्तकमा विशेष रुचि राख्ने हरेकले महसुस गर्दै आइरहनुभएकै कुरा हो भाइ ।

५, नेपाली मुक्तकलाई प्राज्ञिक, बौद्धिक तथा सोध कार्यहरूमा खासै चर्चा वा वास्ता गरिएजस्तो पाईँदैन् किन होला? के हुनुपर्छ? साथै यो कृतिले नेपाली मुक्तकको त्यो रिक्तता पुर्न कतिको सहयोगी हुने अपेक्षा छ?
– गर्दै नगरेको त भन्न नमिल्ला तर जति गर्नु पर्ने हो त्यति नगरेको भने अवश्य हो तापनि साहित्यका सबै विधामा असल समालोचनाको अचेल खडेरी परेको अवस्था भने अवश्य छ ।
बाँकी रह्यो त्रासदीका हिमनदीको कुरा । यसको भूमिका त म स्वयंम् स्रष्टा भएकाले कसरी भन्न सक्छु र भाइ ? यो त समालोचकज्यूहरूले भन्नु होला पछि ।

***

प्रतिक्रिया

सम्बन्धित खवर