अमृत भिमानेली
मुक्तक – एक
तेल, ग्याँस र पेट्रोलको भाउ बढेकै राम्रो हो ।
बढाउ, बढाउ अझै बढाऊ बढेकै राम्रो हो ।।
सक्दो लुट, त्रास देखाउ, युवा भगाउ विदेश
जनता घटाउने सरकारी दाउ बढेकै राम्रो हो ।।
मुक्तक – दुई
मिल्दै नमिल्ने काम र कुरो हामी मिलाउँछौं ।
हुँदैन तपाईको काम अधुरो हामी मिलाउँछौ ।।
तपाईंको गुह्य गल्ली तपाइँलाई मन परेन भने,
किन्नोस् सगरमाथाको चुचुरो हामी मिलाउँछौं ।।
मुक्तक – तीन
भोका नांगा बेहाल भएर सडकमा छन्
चोर, फटाहा, अपराधी चाहिँ पदमा छन्
भो आस नगर आमा, व्यवस्था फेरिन्छ भन्ने
हाम्रो भविश्य लुट्नेहरु नै संसदमा छन्
मुक्तक – चार
हिजो तन्नेरी हुँदा एक समय थियो
के होला कसो होला भन्ने भय थियो
दुख बेच्ने पसल नभेटेपछि बल्ल बुझें
त्यो त रहरहरूको पराजय थियो
मुक्तक – पाँच
भत्केको देखियो घरबार, म सही छु ठिक छु भन्नेको पनि
बिग्रेको देखियो सम्बन्ध, आफ्नै हो नजिक छु भन्नेको पनि
देखियो – विश्वासले अविश्वास गरेको अनि इमान्दारिता रोएको
वचनको पक्का हुँ, आफ्नो बोलीमा अडिक छु भन्नेको पनि
प्रतिक्रिया
-
४
