१३ वर्षको उमेरमा कविता विधाबाट साहित्यमा प्रवेश गरेका कृष्ण प्रसाईं नेपाली साहित्यमा वर्तमान अवस्थासम्म पनि सक्रिय छन् । कविता ,आख्यान र समालोचनामा कलम चलाउने उनको ‘घाम नभएको बेला’ (२०६२), ‘छरिएका केही पृष्ठ’ (सम्पादन २०४३) समसामयिक नेपाली कविताहरू (सम्पादन), ‘प्रक्षेपण’ कथा सङ्ग्रह (२०४४) ‘घामको वर्षा’ २४ भाषामा आइसकेको जेन कविता सङ्ग्रह (२०६६), घामको विरासत कविता सङ्ग्रह (२०७)२, नेभर से गुडबाइ (२०७३), नेपाली कविताको अङ्ग्रेजी अनुवाद, ‘घामको आयु’ जेन कविता सॅग्रह २०७९, ‘सम्झनामा तारानाथ शर्मा’ संस्मरण सम्पादन, २०७९,अनुभूतिका छालहरू २०६२ र अनामनगर स्मारिका सम्पादन २०६५ प्रकाशित छन् । कथा र नियात्रा भने प्रकाशनको तयारीमा छ । आजको आँगनमा सेतोमाटोका लागि मनु विद्रोहीले गरेको भलाकुसारीको सारसंक्षेप यस्तो छः
साहित्यमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?
प्रकृति र देवकोटा मेरा प्रेरणाका स्रोत हुन्।
तपाईंको विचारमा साहित्य के हो ?
साहित्यको परिभाषा ठ्याक्क यही हुन्छ भन्ने छैन । सबैका आ–आफ्नै परिभाषा छन्। साहित्यलाई परिभाषामा बाँध्नु मलाई त्यति ठिक लाग्दैन।
नेपालमा कविहरू धेरै किताब चाहिँ कथा उपन्यासको धेरै बिक्री हुने भन्छन् नि किन होला ? कविता लेखेर चाहिँ के हुन्छ ?
पहिलो कुरा कविता बुझ्न असजिलो पनि हुन्छ र आख्यानमा धेरै मान्छेको ध्यान केन्द्रित भएको देखिन्छ । आख्यान पढ्न धेरै दिमाग लगाइ राख्नु पर्दैन ।
कतिपय समालोचकले समालोचना राम्रोसँग गरेको पाइदैन । न पढ्ने पाठकले नै पढ्छन् । समालोचना पढेर पुस्तक पढेँ भन्ने पाठक पनि भेटिन्नन । यसको कारण के हो ?
समालोचना एउटा व्यक्तिले लेखेको कृतिमाथिको दस्तावेज हो । कृतिकारका लागि बाहेक अरु पढ्ने व्यक्तिको लागि त्यो निरस हुन सक्छ। समालोचना अलि बौद्धिक पनि हुने हुनाले पाठकहरूको मन समालोचनातिर त्यति ध्यान जाँदैन । अहिलेको पाठक पुस्ता साहित्यलाई बौद्धिकतामा दाँजेर हेर्न त्यति रुचि राख्दैनन् । सामाजिक सन्जालले गर्दा त्यति पढ्न फुर्सद पनि हुँदैन ।
पछिल्लो समय उपन्यास लेख्ने उपन्यासकारहरू असाध्यै धेरै छन्, कता कताबाट प्रकाशन पनि भएका छन् तर पाठकले मन पराउने उपन्यास औँलामै गन्न सकिने मात्रै छन् । उपन्यास भन्ने विधा लहडमै लेख्ने विधा हो र ?
उपन्यास लहडमा लेखिने विधा पक्कै होइन । तर, अहिलेको बजार आख्यानमा रमाउने गरेको छ । प्रकाशकहरू नाफामुखी भएको हुनाले बिक्ने विधाको मात्र व्यापार गर्छन् । धेरै प्रकाशकहरू साहित्यलाई समुन्नत व्यापारीकरण गर्ने कुरामा उन्मुख छन् ।
किताब लेखेपछि प्रकाशकबाट ठगिने गरेको गुनासो छ । किताब बेचेर लेखकलाई पारिश्रमिक पनि नदिने प्रकाशकहरू छन् भन्ने सुनिन्छ । के भन्नु हुन्छ ?
सुन्नमा धेरै त्यस्तो आएको छ । धेरै प्रकाशकहरू नाफामुखी भएको हुनाले पनि यस्तो हुन सक्छ।
विदेशमा नेपाली साहित्यको स्थिति कस्तो छ ‘घामको वर्षा’ जेन कविता सङ्ग्रह २४ देशामा अनुवाद कसरी सम्भव भयो ?
विदेशमा नेपाली साहित्यको स्थिति नै छैन । अनुवाद भएर पढिने नेपाली साहित्यको विधा धेरै कम छ। नेपाली कृतिहरू कम अनुदित हुनु र स्तरीय अनुवाद हुनु पनि विदेश सम्मको यात्रामा नपुग्ने अर्को कारण हो।
‘घामको वर्षा’ २४ भाषामा अनुवाद भएको छ यसको कारण मेरो सम्पर्क, अन्तराष्ट्रिय सम्बन्ध, कविताको गुणस्तर, अनि कविताहरू छोटा र सुत्त्रात्मक हुनाले धेरै भाषामा आउन सम्भव भयो । यस्ता कविताहरू अनुवादका लागि पनि सरल हुन्छन्।
सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?
सामाजिक सञ्जालमा चर्चा हुनु एउटा कुरा हो र कृति उत्कृष्ट हुनु अर्को कुरा हो । कहिलेकाहीँ सामाजिक सञ्जालमा पहुँचको आधारमा गलत प्रचार पनि गरिएको हुन्छ । यसो भन्दैमा सामाजिक सञ्जालमा आउने सबै खराब भन्न पनि मिल्दैन।
साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?
साहित्य समाजको ऐना भन्नुभन्दा पनि समाज चै साहित्यको ऐना भन्दा ठिक होला।
साहित्यमा दीगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?
स्तरीय पुस्तकहरूको प्रकाशन, दुरदराजमा बसेका सिमान्तकृत स्रष्टाहरूको स्तरीय कृतिलाई राज्यले ठाउँ दिए राम्रो हुने थियो ।
प्रतिक्रिया
-
४
