✍️ ईश्वर थापा
गजल – एक
अब त जीवनभर हाँसिन्न हो ?
हाँसो भनेको त केही दिन न हो
बाँच्नै पर्ने जरुरी भयो भने,
बाँचेर पनि बाँच्न सकिन्न हो ?
के हो रे ? मलाई रुन दिँदैनौ !
तिमीलाई हँसाउन पाइन्न हो ?
मलाई पनि अजनबी बनायौ ?
भनिदेउन क-कस्लाई चिन्न हो ?
जसलाई हेर्न मैले आँखा बेचेँ
अब त उसलाई नि देखिन्न हो ?
गजल – दुई
म पनि पुग्छु भनेर पुगेको छैन
बाटोले बाटो खोजेर पुगेको छैन
तिमी पनि मर्न चाहन्छ्यौ अब ?
तिमीलाई पनि बाँचेर पुगेको छैन ?
म पुग्दा फर्केर हेर्नेहरु छन् जहाँ
त्यहाँ कहिल्यै फर्केर पुगेको छैन
मलाई माथि पुर्याउन खोज्दैछौ
अझै, तल झारेर पुगेको छैन ?
जान्न भनेर मात्रै तिमीसम्म पुग्छ
यो मन जान्छु भनेर पुगेको छैन
त्यहाँसम्म घिस्रेर पुगिसक्यो दुनिँया
जहाँसम्म म दौडेर पुगेको छैन
प्रतिक्रिया
-
४
