~ कमला न्यौपाने
यात्रासबै केवल गन्तव्यमा पुग्नका लागि हुँदैन, त्यसले आफ्नै उद्देश्य, अनुभूति र खोज बोकेको हुन्छ। हाम्रो यो यात्राको पनि स्पष्ट चाहना थियो। नयाँ ठाउँ देख्ने, त्यहाँको कला, संस्कृति र इतिहासलाई नजिकबाट बुझ्ने। यही सोच लिएर म, मेरा श्रीमान्, मेरी दिदी र बैनी यात्रामा निस्कियौँ। यो यात्राले दिएको अनुभूति यति रोचक लाग्यो कि ती क्षणहरूलाई शब्दमा बाँध्दै यो सानो यात्रा–स्मरण, “बिंदास विनोद”, लेख्दैछु।
कार्तिक महिनाको समशीतोष्ण मौसममा थियो । मौसमलाई हामीले झानेका थिएनौ तर मौसमले हामीलाई छान्यो। हामी बनारस- अयोध्याको यात्रा भनेर निस्केको हो तर बाटोमा हाम्रो आग्रा पनि परेकोले हाम्रोलागि आग्रा बोनस ठाउँ रहयो ।
यात्रा गर्दा अनेकौँ मानिस भेटिन्छन्, तर विरलै त्यस्ता व्यक्ति भेटिन्छन् जसले जीवनका कठोर घडीहरूमा पनि सरलतासँग बाँच्ने कला सिकाउँछन्। ती मानिसहरू शब्द भन्दा गहिरो प्रभाव छोडेर जान्छन् । र मनको कुनै कुनामा अजर अमर सम्झना भएर बस्दछन्। त्यसैको उपज यो लेख हो ।
हामीले यो यात्रालाई ‘तीर्थ यात्रा’ नै भनेर शुरू गरेका थिएनौँ। तर भारतका धेरै ठाउँ पर्यटकहरूले तीर्थस्थलका रूपमा लिइएको पाइन्छ। । My Republica नामक पत्रिकामा प्रकाशित एउटा लेख अनुसार, भारतमा तीर्थयात्रा गर्ने विदेशीहरू मध्ये नेपाली सातौँ स्थानमा पर्ने रहेछन्। भारतको Ministry of Tourism ले सार्वजनिक गरेको २०२२ को तथ्यांक अनुसार, भारत पुगेका कुल विदेशी पर्यटकमध्ये २.९% अर्थात् १,३५,३४७ जना नेपालीले तीर्थयात्राको उद्देश्यले भारत भ्रमण गरेका रहेछन्।
त्यसैले यो हाम्रो यात्रा तिर्थ यात्रा भन्नु नै पर्यो। किनकि हामीले भारत घुम्न भनेर रोजेका ठाउँहरू बनारस, अयोध्या, मथुरा र बाँके बिहारी सबै धार्मिक ठाउँहरू नै थियो। झन् बनारसको होटलमा साँझको खाना साकाहारी खाएपछि थाहा भयो कि हाम्रो ट्राभल एजेन्टले त यो पूरा यात्रा बिल्कुलै शुद्ध तिर्थ यात्रा को रूपमा मिलाएको रहेछ।
अब आएर केही परिवर्तन गर्ने मौका थिएन, त्यसैले ‘go with the flow’ सिद्धांत अनुसार यात्रा जसरी थियो, त्यसरी नै अघि बढायौँ।
अब सुरू गरौँ बनारस :
करिब १० बजे बिहान हामी बुद्ध एयरबाट बनारस पुग्यौँ। पहिलो नजरमै बनारसको एयरपोर्ट सफा र आकर्षक लाग्यो। त्यहाँका कस्टमका कर्मचारीहरू पनि निकै नै नरम र सत्कारपूर्ण रहेको पाएँ ।कस्टममा परिचय जाँच गर्न भने अलिक समय लाग्यो, तर अन्त्यमा कर्मचारीले पासपोर्ट हातमा दिँदै भने,
“फेरि पनि आउनुहोस् है, तपाईंहरू हाम्रो भगवान हुनुहुन्छ।”
त्यो क्षणमै मैले “अतिथि देवो भव” भन्ने सम्मानको वास्तविक अनुभूति पाएँ।
मैले धेरै देश घुमिसकेकी छु, तर कुनै पनि देशको आगन्तुक द्वारमा कस्टम क्लियरेन्सका बेला यति आदर र मिठाससहित स्वागत भएको मैले अरू कतै अनुभव गरेकी थिइनँ। कति सभ्य र कति हृदयस्पर्शी व्यवहार! त्यो कर्मचारीको मुस्कान आज पनि आँखासामु झल्किरहेको छ।
यही व्यवहार देखेर मनैभित्र लाग्यो,भारतको यो छोटो बसाइ निश्चित रूपमा रोचक र स्मरणीय हुनेछ।
हाम्रो बनारस बसाइ दुई दिनको थियो। पहिलो दिन टुर गाइडले हामीलाई बिश्वनाथ मन्दिर, संकट मोचन, बेनारस हिन्दू विश्वविद्यालय, अन्नपूर्णा मन्दिरसहित वरपरका धेरै मन्दिरहरू घुमाए।
बनारस मैले सुनेको त्यसै जस्तै रहेछ। “४० वर्ष अगाडिको बनारस पनि यस्तै थियो,” बनारस हिन्दू विश्वविद्यालयमा स्नातक पढ्नुभएको मेरा श्रीमानज्यूले पुरानो सम्झना सुनाउनुभयो।
सहर आफ्नै लयमा व्यस्त,अस्तव्यस्त र भिडभाडले भरिएको। सडक छेउछाउमा थुप्रिएको फोहर, कहिल्यै रंग नलगाएका घरहरू, र बनाउँदा बनाउँदै बीचमै छोडेझैँ देखिने पुराना संरचनाहरू,यी सब देखेर म एकछिन अचम्ममै परेँ।
लाग्यो शायद मानिसको बानी व्यवहार, रहनसहन र शहरको लवाइ खवाइ यस्तै नै होला।
काठमाडौँमा केही वर्षयता देखिएको सरसफाई चमक दमक, रंगरोगन र सजावटको असर मनमा बसेको रहेछ; बनारसमा त्यस्तो अपेक्षा गरे रहेछु ।
बनारस हिन्दू विश्वविद्यालयदेखि काशी हिन्दू विद्यालयसम्म सबैले रिक्सा बाट यात्रा गर्यौं। भारतका अधिकांश रिक्सा अगाडि ३ जना र पछाडि ३ जना गरी कुल ६ जना बस्नेगरी बनाइएका हुदोरहेछ।एउटा रिक्सा चालकले ६ जनासम्म यात्रु लिएर रिक्सा चलाउँदारहे छन। चार जना सम्म त सजिलै चलाएको देखे तर छ जना हुँदा रिक्सा चालकलाई निकै मेहनत गरेको देखे। रिक्सा चालक आफैँ हिँडेरै भए पनि रिक्सा तान्दा रहेछन्।
त्यसो त मानिसहरू टेम्पो सवार गरेको पनि देखियो। टेम्पो भन्दा रिक्सा सहज पाइयो । त्यसैले हामीले पनि रिक्सा नै रोज्यौं।
बनारस हिन्दू विश्वविद्यालय लगायत अरु बनारस वरपरका मुख्य पर्यटक स्थानको भ्रमण गरियो र बिश्वनाथ मंदिर तिर लागियो।
भगवान श्री विश्वनाथ मन्दिरको दर्शन व्यवस्था भने अलिकति सहज लाग्यो। त्यहाँका पण्डालाई एक जनाको ३०१ भारु तिरेपछि श्री विश्वनाथको दर्शन फास्ट ट्रयाकबाट गर्न सकिदो रहेछ, जसले गर्दा घन्टौं लामो लाइनमा बस्नुपर्ने झन्झट हटाउँने रहेछ।
साँझमा हामीलाई सानो डुङ्गामा राखेर गङ्गाको किनारमा रहेको ८४ घाटहरूको दर्शन गराइयो। ८४ विभिन्न नाम भएका यी घाटहरूको आफ्नै विशेष महिमा रहेछ। म सानै हुँदा बुवाले घाटहरूको कुरा र आश्रमका कुरा गर्नु हुन्थ्यो, अहिले ती घाटहरू बिशेष गरी पशुपति घाटमा रहेको पशुपति मंदिर आफ्नै आँखाले देख्दा पुण्य कमाएको जस्तो अनुभव भयो।
गङ्गाघाटमा गेरिन साँझको आरती भने त्यति विशेष लागेन। हामी डुङ्गाबाटै गङ्गा आरती हेरेका थियौं। त्यहाँ एउटा घरको छतमा आरती गर्ने चलन रहेछ। मैले सोचे जस्तो सुन्दर अनुभव भएन। कतिपय कुरा उस्तै हुँदा तुलना गर्न मन लग्दो रहेछ । त्यसैले बागमती नदीबाट हुने पशुपति आरती नै भव्य र अपार लाग्यो।
तर डुँगामा बसेर हजारौँ तीर्थयात्रीबीच आरती हेर्ने अनुभव भने साँच्चिकै अलगै थियो। गङ्गाघाट पुगेपछि आरती हेर्न आउने मानिसहरूको भीड त छुट्टै महाकाव्य जस्तै लाग्थ्यो।
तर त्यो भीडसँगै त्यहाँको व्यवस्थापन भने निकै खस्किएको थियो भन्न दुई मत पक्कै छैन। वास्तवमा हाम्रो पशुपति तीर्थले जस्तै उदाहरणीय व्यवस्थापन हुनु पर्ने ठाउँ हो बनारस।
दोस्रो दिन हाम्रो योजना अनुसार हामी सारनाथ घुम्न निस्कियौँ। बनारसको बाहिर करिब १० किलोमिटर टाढा, विशाल क्षेत्र घेरेको सारनाथ छ। यहाँ रहेको ऐतिहासिक धमेक स्तूप (लुम्बिनीको स्तूपभन्दा भिन्न), असोकका स्तम्भ, विहार र पुरानो स्तूपहरूले ठाउँलाई अझ ऐतिहासिक बनाइदिन्छन्।
भनिन्छ, यहीँ गौतम बुद्धले पाँच शिष्यलाई पहिलो धर्मचक्र प्रवर्तन,पहिलो उपदेश दिए र त्यहीँबाट बौद्ध धर्मको औपचारिक यात्रा सुरु भयो।
सारनाथका बाँकी पुरातात्त्विक संरचनाहरू पनि लुम्बिनीका अवशेषसँग धेरै मिल्दाजुल्दा लाग्थे।शान्त वातावरण, सेतो पहिरनमा आउने पर्यटक, कम चहलपह थियो । सबै मिलेर सारनाथलाई ध्यान र इतिहास दुबैले छोपेको गम्भीर तर मनमोहक स्थल बनाएको मैले पाएँ।
नयाँ ठाउँ, नयाँ अनुभव। बनारसी सिल्क सारीको त झन् आफ्नै चमक-दमक! उहिल्यै हाम्रो पालामा त बनारसी नलगाई बेहुली नै मानिँदैनथ्यो। ‘हाम्रो पाला’ भन्नुको खास अर्थ आजकलका बेहुलीका पहिरनमा ‘इन्डियन सिरियल प्रभाव’ हावी देखिन्छ। बनारसी सिल्क सारीको साटो नानाथरीका लहङ्गा लगाएर बेहुली सिङ्गारिने चलन बढेको छ।
हाम्रा आमा, हजुरआमाहरूका समयमा बनारसी सारी र सिल्कमा चाँदी-जडित कामले सजिएको सारी दशकौँसम्म पेवाका रूपमा राखिन्थ्यो र सन्तानलाई चिनोको रूपमा दिने संस्कार थियो।
सारनाथ घुम्दा हामीले तानमा राखेर बनाइरहेको बनारसी सारी पनि देख्यौँ। एउटा सारी बनाउन १८ देखि ३० दिन लाग्छ भन्ने कुरा स्थानीय कलिगडले बताए। बनारसी सारीको सुन्दर प्याटन र बुनाइमा त्यहाँ बस्ने मुसलमान समुदायको विशेष पहिचान रहेछ। उनीहरूको धैर्य, कला र कारीगरी संसारमै अनुपम मानिन्छ। त्यसैले नै बनारस बनारसी सिल्कको लागि प्रसिद्ध मानिन्छ।
त्यसैले बनारस पुगेर एउटा सिल्क सारी नकिनी फर्कने मन त कसरी हुन्थ्यो र! केहि ओटा लिएरै फर्कियौँ।
हाम्रो तेस्रो दिनको यात्रा प्रयागराज र अयोध्या तर्फ थियो। प्रयागराज पहिले इलाहाबाद नामले पनि चिनिन्थ्यो, जुन सन् २०१८ मा आधिकारिक रूपमा प्रयागराज नामाकरण गरिएको रहेछ। यो स्थान गङ्गा, यमुना र सरस्वती नदीहरूको संगमस्थल हो।
गङ्गा नदी नेपालका केही नदीहरू समेट्दै गङ्गोत्रीबाट बगेर बनारस हुँदै प्रयागराज आइपुग्दोरहेछ। यमुना नदी भने उत्तराखण्डको यमुना हिमनदी (यमुनोत्री) बाट उत्पन्न भएर यहीँ गङ्गासँग मिसिन्छ। सरस्वती नदी गङ्गा र यमुनाको तल भूमिगत रूपमा बग्ने अदृश्य नदी हो भन्ने धार्मिक मान्यता छ। यही कारण यस स्थललाई पवित्र त्रिवेणी संगम भनिन्छ।
यस पवित्र नदीमा मानिसहरूले आफ्ना दिवङ्गत माता–पिताको आत्माको चिरशान्तिको कामनासहित कर्मकाण्ड गर्ने चलन रहेछ। त्रिवेणी संगममा डुबुल्की मारे रोग, शोक र पाप सबै पखालिन्छ भन्ने विश्वास छ। यति विशाल रूपमा बगिरहेको पानीको रङ भने धमिलो नै थियो। लाग्थ्यो, गङ्गाले सारा संसारका पीडा र मैलो बोकेर बगिरहेकी छिन्।
मैले पनि सोचें—जानी नजानी कतै केही पाप गरेको भए पखालियोस् भनेर। त्यसैले करिब प्रतिव्यक्ति १००० भारतीय रुपैयाँ तिरेर त्रिवेणी संगमसम्म पुग्यौँ। डुंगाहरूको बीचमा डुबुल्की मार्न मिल्ने सानो संरचना बनाइएको रहेछ। त्यहीँ तीन पटक डुबुल्की मारें।
डुबुल्की मार्दा त क्षणभर त्यहीँ डुबिन्छु कि जस्तो लाग्यो, तर तल खुट्टाले टेक्न मिल्ने फल्याक रहेको महसुस भएपछि ढुक्क भयो। “जय गङ्गे, हर हर महादेव” भन्दै तीन पटक डुबुल्की लगाएपछि मनमा एक किसिमको सन्तोष र शान्ति महसुस भयो। त्यहाँबाट निस्किएपछि हामीले गङ्गाजल पनि त्यहीँबाट लिएर आयौँ। जल अर्पण गर्दै आफ्ना दिवङ्गत बुवा–आमालाई सम्झियौँ।
केही महिना अघि सम्पन्न भएको विशाल कुम्भ मेलाका धेरै अवशेषहरू अझै पनि नदीको तटमा देखिन्थे। स्थानीय बासिन्दाहरूका अनुसार यस वर्षको महाकुम्भ मेला १४४ वर्षमा एक पटक पर्ने विशेष महाकुम्भ थियो। महाकुम्भ मेला प्रयागराजमा मात्र आयोजना हुने रहेछ। यस वर्ष जनवरी र फेब्रुअरीमा सम्पन्न महाकुम्भ मेलामा करिब साठी करोड मानिसले स्नान गरेको भनिन्छ।
त्यसै दिन करिब ४ बजेतिर हामी अयोध्या पुग्यौँ। भगवान रामको जन्मस्थल अयोध्या निकै झकिझकाउ र भव्य देखिन्थ्यो। गएको वर्ष जनवरी २२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो तामझामका साथ राम मन्दिरको प्राण–प्रतिष्ठा गरेका थिए। मन्दिर पूर्ण रूपमा निर्माण भइसकेको नभए पनि सर्वसाधारणका लागि मन्दिरको एक भाग खुला गरिएको रहेछ।
अयोध्याका बाटोको दुवै तर्फ ठूलाठूला फलामका खम्बामा बत्ती जडान गरिएका थिए, जसका कारण सडक झलमल्ल उज्यालो थियो। बाटोकै छेउमा रहेका विशाल पर्खालहरूमा रामायणका प्रसंगहरू कलात्मक रूपमा उतारिएका थिए। त्यसैले होला, अयोध्या नगरी साँच्चिकै रामायणको रामनगरी पुगेको अनुभूति भयो।
हामीलाई साँझमै राम मन्दिर दर्शन गर्ने व्यवस्था मिलाइएको रहेछ। सोही योजना अनुसार तीन तले विशाल राम मन्दिरमा पुग्यौँ। मन्दिरको माथिल्लो तल्लामा सेतो संगमरमरबाट बनेका रामसीताको मूर्ति थिए भने तल्लो तलाको गर्भगृहमा बालरामको दर्शन गरियो।
पाँच वर्षका बालरामको मूर्ति करिब पाँच फिट अग्लो कृष्णशिलाबाट निर्माण गरिएको रहेछ। मुसुक्क हाँसेका र टुलुटुलु हेरेका बालरामको दर्शन गर्दा साँच्चिकै आफैँसँग बोल्लान् कि जस्तो अनुभूति हुन्थ्यो।
राम मन्दिर अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन। कालिगढहरू रातदिन मन्दिर निर्माणमा जुटिरहेका देखिन्थे। करिब दुई वर्षभित्र मन्दिर पूर्ण हुने अपेक्षा गरिएको रहेछ। रमाइलो कुरा के भने, राम मन्दिरमा प्रवेशका लागि विदेशी नागरिकलाई विशेष सुविधा दिइएको रहेछ। हामीजस्ता विदेशीलाई फास्ट लेनमार्फत सहज रूपमा दर्शनको व्यवस्था गरिएको थियो। यसले अयोध्यामा विदेशी धार्मिक पर्यटन अझ बढ्न सहयोग पुर्याउने निश्चित छ। सायद हालसम्मकै धार्मिक स्थलहरूमध्ये राम मन्दिर सबैभन्दा व्यवस्थित, सुरक्षित र सरल रूपमा दर्शन गर्न मिल्ने स्थानमध्ये एक होला।
राम मन्दिरको दर्शनपछि मन्दिर परिसर बाहिर रहेका अनेकौँ अन्य मन्दिरहरूको पनि दर्शन गरियो, जसमा हनुमान मन्दिर प्रमुख थियो। “हनुमानको दर्शन नगरी रामको दर्शन पूर्ण हुँदैन” भन्ने मान्यताअनुसार हनुमान मन्दिरमा पनि दर्शन गर्यौँ। त्यसैको नजिक रहेको कनक भवन पनि अवलोकन गरियो। यो भवन जानकी मन्दिरको शैलीमा बनेको जस्तो देखिन्थ्यो। स्थानीय मान्यताअनुसार, सीता मातालाई उनकी सासुले मुख हेर्ने उपहारस्वरूप दिएको भवन यही हो। यही भवनमा राम–सीता बसोबास गर्ने गरेको भनाइ पनि रहेछ।
बालक राम खेल्ने आँगनदेखि लिएर रामसीतासँग जोडिएका अनेक कथात्मक स्थलहरूको अवलोकन गर्दै अन्ततः सरयू नदीको पनि दर्शन गरियो। लता मंगेशकर चोकको सुन्दर दृश्य अवलोकन र तस्बिर खिचेपछि हाम्रो अयोध्या यात्रा सम्पन्न भयो। भोलिपल्ट बिहान हामी आग्रातर्फ लाग्यौँ।
आग्रा–दिल्ली हाइवे निकै सुन्दर र व्यवस्थित थियो। लाग्थ्यो, मानौँ कुनै अमेरिकाको हाइवेमा गाडी कुदाइरहेका छौँ। सिधा, फराकिलो र अनुशासित सडकले यात्राको थकान नै बिर्साइदियो।
करिब साँझ ४ बजेतिर हामी आग्रा पुग्यौँ। त्यस दिन साँझका लागि कुनै विशेष कार्यक्रम नतोकिएको हुँदा होटलमा फ्रेश भएर सहर घुम्ने निर्णय गरियो।
होटलअगाडि एउटा अटो–रिक्सासँग ४०० भारुमा दुई घण्टा आग्रा सहर घुमाइदिने व्यवस्था मिलायौँ। करिब ५ बजेतिर हामी चार जना अटोमा चढ्यौँ।
कुराको सुरुवात गर्न मैले उनको नाम सोधेँ। सानो काठीका विनोद,उनले आफ्नो नाम मात्र होइन, आफ्नै वंशको बेलिबिस्तार सुनाउन थाले। कुराकानीको बीचबीचमा कुनै सन्दर्भ बिना नै खित्का छोडेर हाँस्ने उनको बानी रहेछ। उनको त्यो हाँसो सुन्दा लाग्थ्यो जीवनले धेरै थिचे पनि उनी बिन्दास रहन सिकेका छन्।
उनले हामीलाई दुर्गादास राठौडको सालिकअगाडि लगेर मुगल सम्राट औरङ्गजेबसँगको संघर्षको कथा सुनाए। आफू पनि त्यही वंशका हुन सक्ने गर्विलो दाबी गर्थे। अटो चढेदेखि ओर्लिँदासम्म उनी बोलिरहे हामीलाई कसरी रमाइलो गराउने भन्ने उनको प्रयास स्पष्ट देखिन्थ्यो।
अचानक अंग्रेजी चलचित्र फरेस्ट गम्प सम्झना आयो। सरल, निश्छल र जीवनकथा सुनाइरहने पात्र। बिनोदमा पनि त्यही सरलता झल्किन्थ्यो।
सरल व्यक्तित्व भएका ती चालकले आफू अशिक्षित र अंग्रेजी बोल्न नजान्ने भएकै कारण अटो चलाउनुपरेकोमा दुःख व्यक्त गरे। त्यसैले उनले आफ्ना छोराछोरीलाई अंग्रेजी स्कुलमा पढाइरहेको बताए। आधा सरकारी र आधा गैरसरकारी अंग्रेजी स्कुल रहेछ, जहाँ न्यून आय भएका परिवारलाई केही सहुलियत दिइँदो रहेछ।
बिनोद भन्छन्, “आफूले कम खर्च गरेर भए पनि छोराछोरीको शिक्षामा भने कहिल्यै कमी आउन दिन्न।” उनका अनुसार महिनाको करिब २००० भारु शुल्क तिर्नुपर्छ। अझै ३५ वर्ष पनि नपुगेका बिनोदका कुरा सुन्दा भने संसारै भोगिसकेजस्तो लाग्थ्यो।
घर कता हो भन्ने प्रश्न गरेकी मात्र थिएँ। उनले सिधै अटो आफ्नो घरतर्फ मोडे र हाँस्दै भने, “म्याम, आपको हमारा सोसाइटी दिखाऊँगा।” लाग्यो, सायद पहिलो पटक कसैले उनको बारेमा चासो राखेको थियो। त्यहाँ गाउँ टोललाई “सोसाइटी” भन्ने चलन रहेछ। छोटा सोसाइटी र बडा सोसाइटी भन्दै वरपरका बस्तीहरू देखाउँदै लगे।
केही ठूला भवनहरू र तिनको वरिपरि बनेका कंक्रिटका घरहरू देखिन्थे, जुन प्रायः हाम्रो मधेसतिरका घरजस्तै लाग्थे। कहिले बाटोछेउका खानाका ठाउँ देखाउन लगे, त कहिले त्यहाँका ठूलाठूला होटलहरू। साना–साना ठेलामा खाना बेच्ने ठाउँहरू सहरमा छुट्टै किसिमले फस्टाएका रहेछन्। मुख्य बजार भने निकै ब्यस्त र चहल पहल देखिन्थ्यो।
उनले ठेलामा ताजा बनाइने खानाजस्तो मिठो खाना पाँचतारे होटलमा पनि नपाइने भन्दै हामीलाई खान आग्रह गरे। हाम्रो खाना होटलमै व्यवस्था भएको छ भनेपछि मात्र उनले आग्रह छोडे, नत्र ठेलाको खानाको बयान रोक्ने नामै थिएन। त्यहाँको खानाको वासनाले भने भोक निकै जगायो। हामी सबैलाई खान मन नलागेको होइन, तर यति लामो यात्रामा जथाभावी खाना खान ठीक लागेन।
आफ्नो “सोसाइटी” को गर्विलो वर्णन गर्दै उनले आग्राको अत्यन्तै प्रसिद्ध मिठाई पसलमा लिएर गए। लौकाबाट बनाइने विभिन्न किसिमका मिठाइ पाइने रहेछन्, जसलाई आग्राको पेठा भनिँदो रहेछ। मलाई भने पेठा निकै गुलियो लाग्यो। तर गुलियो मन पराउनेहरूका लागि यो मिठाइ अवश्य नै फरक र विशेष स्वादको अनुभव हो। मिठाइको यति धेरै बयान गरे कि केही नकिनी त्यहाँबाट निस्कन मन लागेन।
लाज नमानी आफ्ना जीवनका उतार चढाव सुनाउने बिनोदले ।गरिबीले मान्छेलाई कठोर होइन, कहिलेकाहीँ झन् सरल बनाउँदो रहेछ जस्तो लाग्यो ।
आग्राको सहर एक फन्को लगाए । त्यहाँको प्रसिद्ध पार्क पलिवल पार्क हेरे पछि हामी होटलतर्फ लाग्यौँ। साँझ परिसकेको भएर होला, सहर निकै फोहर देखिन्थ्यो। बाटोछेउमा थुप्रिएको फोहरले सहरको आकर्षण खस्काएको अनुभूति भयो।
भोलिपल्ट बिहान ९ बजे ताजमहलसम्म उनी नै लिएर जाने सर्तमा हामी होटल फर्कियौँ। छोराछोरीप्रतिको उनको गहिरो लगाव र हरेक वाक्यपछि खित्का छोडेर हाँस्ने त्यो मिठासले मेरो मनमा आत्मीयता जाग्यो। त्यसैले मैले तय भएको ४०० भारुमा थप ५० भारु दिएँ। उनी खुसी हुँदै “भोलि बिहान भेटौँला” भन्ने सर्तसहित बिनोद विदा भए।
बिहान ९ बजे हामी तयार भएर ताजमहल जान होटलअगाडि बिनोदको अटो पर्खिन थाल्यौँ। बिनोद भैयाले फोन उठाएनन्। क्षणभर त यति मिजासिला मानिस पनि धोकेबाज रहेछन् कि जस्तो लाग्यो। तर पछि थाहा भयो। उनी अलि ढिला भएकाले आफ्नो जेठानलाई हामीलाई पुर्याउन पठाएका रहेछन्।
उनैका साथ हामी ताजमहल पुग्यौँ। ताजमहलको महिमा किताबमा पढेको र तस्वीरमा देखेकोभन्दा बिल्कुलै भिन्न अनुभूति भयो। यति विशाल र भव्य महलको बयान जति गरे पनि कमै हुन्छ।मूल ढोकाबाट पस्नेबित्तिकै देखिने सेतो इमारतले समय थामिदिएझैँ लाग्यो। त्यहीँ बसेर हेरेरै बसूँ जस्तो लाग्यो।
त्याहाँ फोटो खिच्ने व्यवसायीहरूको घुइँचो लागेको थियो। उनीहरूले भनेअनुसार हामीले पनि प्रशस्त तस्बिर खिच्यौँ। त्यसपछि ताजमहलको अवलोकनका लागि महल तिर गर्यौँ।त्याहाँ जुत्ता लगाएर जान नपाइने भएकाले जुत्ता छोप्ने कभर (शु–कभर) लगाउनुपर्दो रहेछ।
राजस्थानको मकराना क्षेत्रमा पाइने उत्कृष्ट कोटीको सेतो मार्बलले बनेको यो महल मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय रानी मुमताज महलको सम्झनामा सन् १६३२ मा निर्माण सुरु गराई करिब २२ वर्ष लगाएर बनाएको हो। ताजमहल संसारभर शाश्वत प्रेमको प्रतीकका रूपमा चिनिन्छ। सन् १९८३ मा यसलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो।
ताजमहलभित्र दुईवटा समाधि संगसँगै रहेका छन्, जसलाई मुमताज महलको मकबरा भनिन्छ। त्यहाँ ठूलो शाहजहाँको र सानो मुमताज महलको टुम (tomb) छ। सेतो मार्बलमा गरिएको सूक्ष्म कलाकारी अत्यन्तै मनमोहक देखिन्छ, जसलाई पिएत्रा डुरा (Pietra Dura) भनिन्छ। यसमा जड, जस्पर, लापिस लाजुली, क्रिस्टलजस्ता बहुमूल्य र अर्धबहुमूल्य रत्न प्रयोग गरी फूलका आकृति र कुरानका आयतहरू कलात्मक रूपमा कुँदिएका छन्।
ताजमहलको ऐतिहासिक कथा जति सुन्दै गयो, उति नै अचम्म लाग्दो रहेछ। करिब तीन घण्टा ताजमहल अवलोकन गरेपछि हामी हाम्रो अर्को गन्तव्य—मथुरामा भगवान् कृष्णको बाँकेबिहारी दर्शनका लागि निस्कियौँ। त्यही दिन साँझ ९ बजे काठमाडौँको उडान भएकाले हामीलाई दिल्ली पुग्नैपर्ने थियो, त्यसैले ढिला नगरी मथुरातर्फ लाग्यौँ।
बाँकेबिहारी दर्शन गर्ने तीर्थयात्रीहरूको भीडको त कुरै नगरौँ। लाइनबिनै घचाघच गर्दै भित्र पसियो। तर दर्शन गरेर निस्कने कसरी भन्ने चिन्ता भने त्यहीँ उब्जियो। भीडभित्र पसेपछि सास नै त्यहीँ अड्किएला जस्तो अनुभूति हुन्थ्यो। तर भगवान् कृष्णकै लीला होला।दर्शन भने भयो।
मनमा भने अनेक प्रश्न उब्जिए:
यति प्रसिद्ध मन्दिर किन अझ व्यवस्थित हुन सकेको छैन? भारतमा भगवान्को दर्शन यति च्यापिएरै गर्नुपर्ने हो? अनि बाँकेबिहारीको अनुहार किन पटक–पटक पर्दाले छोपिन्छ? तीर्थयात्रीहरूलाई यस्तो भीडमा राख्नुपर्ने बाध्यता किन?
यिनै प्रश्नहरू मनमा बोकेर हामीले पाँच दिने बनारस–आग्रा यात्रा सम्पन्न गर्यौँ र यमुना एक्सप्रेसवे हुँदै दिल्ली विमानस्थल आइपुग्यौँ।
भारत यात्रा एउटा सुनौलो अवसर रह्यो। तीर्थ, इतिहास र संस्कृतिभन्दा पनि बिनोदजस्ता मानिसहरूले यात्रालाई स्मरणीय बनाए।आशा छ, जीवनका यात्रामा यस्तै सरल, हँसिला र उज्यालो मान्छेहरू फेरि भेटिनेछन् ।कुनै अटोमा, कुनै मोडमा।
यही अनुभवहरूको सानो झलक यहाँ प्रस्तुत गरेँ । आशा छ कुनै बेला त्यस ठाउँमा पुग्ने मौका कसैलाई मिल्यो भने अवश्य मेरो यो लेखले थोरै भए पनि ति ठाउँका बारे थाहपाउन सहयोग मिल्ला।
***
प्रतिक्रिया
-
४
