हाल अमेरिका बसोबास गर्दै आउनुभएका साहित्यकार गोविन्द गिरी “प्रेरणा” विसं २०३४ सालमा पहिलो कथा प्रकाशित गरेर साहित्यमा प्रवेश गर्नुभएको हो । साहित्यका विविध विधाहरूमा २८ कृतिहरू प्रकाशित गर्नुभएका उहाँका कथा बिधामा सुतेको समुद्र, अन्तराल, घोराही शून्य किलोमिटर, यात्राः अनन्त, छड्के तिलहरी, गन्तब्य गणबहाल लगायत प्रकाशित छन् । हालै अ-विधवा कथा सङ्ग्रह प्रकाशन भएको छ । यसैको सेरोफेरोमा सम्पादक जीवन खत्रीले कथाकार प्रेरणासँग गरेका पाँच प्रश्न र कविको जवाफ ;
१) अविधा संग्रहको बारेमा केही बताइदिनुस् न।
“अ-विधवा” मेरो ताजा कथा सङ्ग्रह हो । यसमा सात लामा कथाहरू छन् । कथा विधामा यो मेरो सातौं सङ्ग्रह हो र लामा कथाहरूको दोश्रो सङ्ग्रह हो ।
२) लामा र छोटा कथाहरूबीच आकारमा मात्र फरक हो कि यसले बोक्ने विषयवस्तु र भारमा पनि फरक पर्दछ ?
लामा कथा आकारले, शब्द सङ्ख्याले त बृहत् हुनै प-यो, त्यसको साथै लामो कथाको संरचनामा हुनुप-यो, विषयबस्तु र भार पनि हुनुप-यो साथै कथ्य सुगठित पनि हुनुप-यो । कथा आन्तरिक रुपमा विकसित हुनुप-यो । कथाका ज्ञाता प्रा. डा. दयाराम श्रेष्ठले “गन्तब्य गणवहाल” को तथा प्रा.डा. लक्ष्मण प्रसाद गौतमले “अ-विधवा” को भूमिकामा यही वा यस्तै आशय ब्यक्त गर्नु भएको छ ।
३) लामो समयदेखि नेपाल बाहिर हुनुहुन्छ र पनि नेपाली साहित्य विशेषगरी कथा उपन्यासमा पनि उत्तिकै योगदान दिइरहनुभएको छ, के का लागि ? र यस्तो ऊर्जा कसरी प्राप्त हुन्छ ?
हो, म नेपाल बाहिर स्थायी रुपले बस्न थालेको दुई दशक बढी भयो । तर तीसको दशकदेखि लेख्न थालेको मैले लेख्ने लत छाड्न सकिंन । शायद म लेख्नकै लागि जन्मेको थिएँ । हुँ । त्यसैले होला जस्तो सुकै समयमा पनि मैले निरन्तर लेखिरहेको छु । खासमा अन्तर्मनमा लेख्ने हुटहुटी भएपछि निरन्तर लेखिंदोरहेछ । म कि त पढिरहेको हुन्छु, कि त म लेखिरहेको हुन्छु । यो नै मेरो नित्य कर्म हो । यसलाई लेखनप्रतिको मेरो निष्ठा, प्रतिवध्दता पनि भन्न सकिन्छ ।
४) यस कथा संग्रह भित्रको कुनै एक कथा, जुन कथाको रचना गर्व बताइदिनुस् न् ।
म तीसको दशकमा धनकुटाबाट हिंडेर तेह्रथुम पुगेको थिएँ । म त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखा परिक्षणको लागि चुहानडाँडास्थित तेह्रथुम क्याम्पस गएको थिएँ । त्यतिबेला कवि कृष्णभूषण बल पनि नेपाल राष्ट्र बैंङकको टोलीमा सङ्क्रान्ती बजार गएका थिए । दुबै टोली साथमा पैदल गएका थियौं ठाउँ ठाउँमा वास बस्दै । त्यो म साहित्यमा बामे सर्दाकै बेला थियो । यात्रा संस्मरण वा नियात्रा लेख्न जान्दिनथें । मेरो मनमा त्यो यात्राको अनुभूति सदा जीवित थियो । त्यो अनुभवको संस्मरण मनमा जमेर बसेको थियो । त्यसैलाई मैले आख्यानको स्वरुपमा कथ्यमा आरोपित गरेर लेखें, “सङ्क्रान्ति बजार होटल एण्ड लज” । यो कथा लेखिसकेपछि मेरो मनमा जमेर बसेको त्यो यात्राको अनुभूतिको संस्मरणले जिवन्तता प्राप्त ग-यो ।
५) यस “अ-विधा” कथा सङ्ग्रह पाठकले किन पढ्नुपर्छ भन्ने लाग्छ?
कुनै पनि किताव पाठकले आफ्नो रुचि अनुसार पढ्ने हो । मेरा कथामा यस्ता यस्ता बिशेषता छन, त्यसैले पढ्नु पर्छ । मेरा कथाले यस्तो बिषय उठान गरेको छ, त्यसैले पाठकले पढ्नु पर्छ । मेरो कथाले यस्तो मुद्दा बोकेको छ, पाठकले पढ्नुपर्छ । म यस्तो आग्रह गर्न चाहन्न । यस्ता भन्ने कुराहरूमा मलाई विश्वास लाग्दैन । कथामा रुचि हुनेहरुले मेरा कथा पढ्लान् । मेरा यस अघिका कथाहरू निरन्तर पढ्दै आएका पाठकहरूले निरन्तरताको रुपमा पढ्लान् । लामो कथाको स्वाद कस्तो होला भनेर पनि पढ्लान् । तर मेरा कथा पाठकले यसकारण पढ्नु पर्छ भन्ने मेरो आग्रह छैन । मैले लेखें, प्रकाशित भै नै सक्यो । अव त्यो सार्वजनिक भएपछि, त्यसलाई पाठक अध्येताले कसरी लिन्छन् वा वेवास्ता नै गर्छन् भने पनि लेखको नाताले मैले भन्ने वा गर्ने कुरा केही छैन । मेरो काम लेख्ने थियो, मैले मेरो काम सकें । अब पाठकले के गर्छन्, त्यो उनीहरूमा निर्भर छ ।
***
प्रतिक्रिया
-
४
